सर्बिया पठाइदिने भन्दै ३२ लाख ठगी गर्ने पक्राउ

काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिने भन्दै ३२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा पक्राउ गरी एक जनालाई सार्वजनिक गरेको छ । कागेश्वरी मनोहरा नगरपालिका–४ बस्ने भक्तपुरको भक्तपुर नगरपालिका–५ घर भएका २८ वर्षीय सुरेश माकलाई सर्बिया पठाइदिने भन्दै ठगी गरेको अभियोगमा पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए । उनले भने, 'सुरेशले सर्बिया पठाइदिने भन्छु भन्दै पाँचजना पीडितहरूबाट रु ३२ लाख लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा काठमाडौँको बौद्धबाट पक्राउ गरिएको हो ।' पक्राउ परेका सुरेशलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको जिसीले बताए ।  

एनसेलले ल्यायो विभिन्न अफरहरू, १० हजारसम्मको अस्पताल भर्ना बीमा सुविधा

काठमाडौं  । नेपाल सुपर लिग (एनएसएल) सिजन ३ को अवसरमा एनसेलले आफ्ना ग्राहकहरूका लागि दुई आकर्षक अफरहरू सञ्चालनमा ल्याएको छ । यी अफरअन्तर्गत ग्राहकहरूले सधैं अन रिन्यूअल प्याकहरूमा दोब्बर डेटा र साना डेटा प्याकहरूमा बोनस सेवाहरू प्राप्त गर्नेछन् । एनसेलका अनुसार यी अफरहरू आज (चैत्र २१) बाट लागू भई वैशाख १६ गतेसम्म कायम रहनेछन् । एनएसएल डबल डेटा अफरअन्तर्गत, करसहित ३९९ रुपैयाँबाट सुरु हुने सधैं अन रिन्यूअल प्याक खरिद गर्ने ग्राहकहरूले दोब्बर डेटा बोनस प्राप्त गर्नेछन् । उदाहरणका लागि, ७९९ रुपैयाँको मासिक सधैं अन रिन्यूअल प्याक लिने ग्राहकहरूले प्याकमा पाइने मुख्य सेवाहरु ३० जीबी डेटा, सबै नेटवर्कमा अनलिमिटेड कल गर्न सकिने सुविधा, र ७९ वटा सबै नेटवर्कमा पठाउन सकिने एसएमएस सेवा बाहेक थप ३० जीबी बोनस डेटा प्राप्त गर्ने कम्पनीले जनाएको छ । यो डबल डेटा बोनस अफर हाल संचालनमा रहेका सबै सधैं अन रिन्यूअल प्याकका प्रयोगकर्ताहरूका साथै यो अफर अवधिभित्र यी प्याकहरू लिने नयाँ ग्राहकहरूलाई लागू हुनेछ । यो अफर ग्राहकहरुका लागि निकै फाइदाजनक रहेको छ, किनभने बोनस डेटा पहिले प्रयोग हुने भएकोले प्याकमा पाइने डेटा लगायतका बाँकी सेवाहरु क्यारीओभर अर्थात थपिएर अर्को महिनामा पाइन्छ । कम्पनीका अनुसार एनसेलले सधैं अन रिन्यूअल योजनाअन्तर्गत डेटा, भ्वाइस, र एसएमएस सेवाहरू बन्डल भएको ६ वटा मासिक रिन्यूअल प्याकहरू प्रदान गरिरहेको छ । प्रत्येक प्याकमा निःशुल्क अनलिमिटेड यूट्यूब डेटा र राति ११ बजे देखि बिहान ७ बजेसम्म अनलिमिटेड इन्टरनेट चलाउन मिल्ने नाइट डेटा पनि समावेश रहेका छन् । कर सहित ७९९ रुपैयाँ, ९९९ रुपैयाँ, र १,४९९ रुपैयाँको रिन्यूअल प्याकहरूमा ग्राहकहरूले ३० दिनसम्म मान्य रहने प्रतिदिन १,००० रुपैयाँका दरले अधिकतम  १० हजार रुपैयाँसम्मको अस्पताल भर्ना बीमा सुविधा पनि प्राप्त गर्दछन् । अर्को एनएसएल विशेष अफर एनसेल एपमा मात्र उपलब्ध रहने एनएसएल फ्ल्यास सेल रहेको छ ।  यस अफरअन्तर्गत, ५० रुपैयाँमा २४ घण्टा लागि मान्य ५० अनलिमिटेड डेटा लिने ग्राहकले बोनस स्वरुप २० मिनेट एनसेलबाट अन्य एनसेल नम्बरमा कल गर्न सकिने टक टाइम प्राप्त गर्दछन् । त्यस्तै, १५० रुपैयाँमा ७ दिनसम्म मान्य हुने ७ जीबी डबल मजा प्याक किन्दा ग्राहकहरूले बोनसका रुपमा थप २ जीबी डेटा बोनस प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

कलाकारको उमेर होइन, अभिनय हेरिन्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले कलाकारलाई उमेरले असर नगर्ने भएकाले उसले निर्वाह गर्ने पात्र र भूमिकाको विषयमा चर्चा हुनुपर्ने बताएका छन् । ‘नरसिंहा अवतार’ चलचित्रको पोस्टर सार्वजनिक तथा प्रदर्शन मिति घोषणा कार्यक्रममा अभिनेता हमालले कलाकार पात्रमा उपयुक्त भएसम्म उमेरले असर नगर्ने बताए । उनले भने, ‘मेरो उमेर कति पुग्यो वा मसँग अभिनय गर्ने, जोडी बन्ने कलाकारसँग कति उमेर अन्तर छ भन्ने विषयमा चर्चा गर्नुभन्दा हामी त्यो पात्रमा कस्तो देखिएका छौँ, भन्ने विषयको चर्चा हुनु पर्छ । किनकि पर्दामा कलाकारको उमेर नभई अभिनय हेरिन्छ र हामी कहाँ एउटा कलाकारले यति उमेरसम्म मात्र अभिनय गर्न पाउने भन्ने पनि छैन । यहाँ केही कलाकारले लामो समयसम्म आफूलाई अभिनयमा सक्रिय बनाएका छन्, म त्यही मध्येको एक हुँ ।’ उनले चलचित्रको विषय र आफ्नो पात्र सुहाउँदो भूमिका रहेकाले आठ वर्षपछि चलचित्रमा अभिनय गरेको स्पष्ट गरे । नयाँ कलाकारले आफ्नो पात्रप्रति देखाएको गम्भीरताको पनि अभिनेता हमालले तारिफ गरे । अभिनेता हमालको जोडी बनेर चलचित्रमा प्रस्तुत भएकी अभिनेत्री नीति शाहले आफ्नो अभिनय यात्राले नयाँ उचाइ पाउने विश्वास व्यक्त गरे । ‘यो चलचित्रमा मैले अनुभवी कलाकारसँग काम गर्न पाएको छु, उहाँको अनुभवले मलाई धेरै कुरा सिकाएको छ । अभिनेता हमालसँग काम गर्न पाउँदा म निकै खुसी छु, हामी आफ्नो पात्रअनुसार चलचित्रमा फिट देखिएका छौँ,’ अभिनेत्री शाहले भने । दिवाकर भट्टराईले निर्देशन गरेकाे ‘नरसिंहा अवतार’ चलचित्र आउँदो वर्ष २०८२ जेठ ९ मा प्रदर्शन हुनेछ । यस चलचित्रमा अभिनेता हमाल र अभिनेत्री शाहसँगै सरोज खनाल, नीर शाह, राज कटुवाल, सनिषा भट्टराई, उषा खड्गी, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार लगायतका कलाकारले अभिनय गरेका छन् ।