छठका लागि बाँसका सामग्री बनाउन व्यस्त
काठमाडौं । सुनसरी हरिनगर गाउँपालिका–२ का भट्टाई मरिक एकाबिहानै हातमा बाँस र दाउ (खुर्पाजस्तो हतियार) लिएर घरबाट निस्किन्छन् । त्यसलाई आवश्यकताअनुसार काट्छन् । अनि काममा लाग्छन् । स्थानीय गीता मरिकलाई पनि कतिबेला बिहान हुन्छ र काम गरौँला भन्ने छटपटी हुन्छ । भट्टाई र गीता मात्रै होइन अचेल यहाँका मरिक समुदायका व्यक्तिको दिनचर्या यसैगरी बित्ने गरेको छ । आस्था र लोकपर्वका रूपमा रहेको छठ पर्व आउन पाँचदिन मात्र बाँकी छ । तर त्यसका लागि चाहिने सामग्री बनाउन यहाँका मरिकहरूलाई धेरै दिन पहिलेदेखि नै छठ लागिसकेको छ । सुनसरी सदरमुकाम इनरुवासहित हरिनगर, देवानगन्ज, इटहरी, दुहबी, रामधुनी, कोसी, बराह क्षेत्रलगायत क्षेत्रमा बसोबास गर्ने मरिक समुदायलाई छठ नजिकिँदै जाँदा सामान बनाउन थप चटारो छ । छठमा प्रयोग हुने कोनियाँ, ढकी, नाङ्गलोलगायत बाँसका सामग्री बनाउनका लागि व्यस्त हुनुपरेको हरिनगर– २ का वीरेन्द्र मरिकले बताउँछन् । छठमा बाँसका सामग्रीको माग अधिक हुने गरेकाले आफूहरूले यस्ता सामान बनाएर बिक्री वितरणबाट आएको केही रकमले चाडपर्वको गर्जो टार्ने गरेको सुनाए । स्थानीय अनिता मरिकले यहाँ हरेक वर्ष छट नआउनुभन्दा एक महिना अगाडिदेखि नै बाँसको सामग्री बनाउने गरिएको बताए । ‘यही बेला त हो आम्दानी गर्ने । अरु बेला यस्तो अवसर आउँदैन । थोरै भए पनि रकम जम्मा गर्ने र आफ्ना र परिवारका आवश्यकता पूर्ति गर्ने गरेका छौँ,’ उनले भने । भट्टाई मरिकले पनि गाउँ गाउँबाट बाँस किनेर ल्याएर छठमा प्रयोग हुने सामग्री बनाउन लागेको र यसबाट थोरै भए पनि आम्दानी हुने गरेको बताए । छठ पर्वमा बाँसकै सामग्री आवश्यक पर्ने भएकाले वर्षभरि आम्दानी गर्न नपाएका मरिक समुदायका व्यक्तिले पनि यस बेला आम्दानी गर्ने अवसर पाउँछन् । ‘अरु बेला कमाइ हुँदैन, त्यसैले हामीहरू आम्दानीका लागि एक महिना अघिदेखि जुटिरहेका छौँ । पर्व अवसरका रूपमा पनि आउने गर्छ हाम्रा लागि,’ स्थानीय विन्देश्वर मरिकले भने । स्थानीय चन्दन मरिकले पनि आफूहरूको आम्दानीको अन्य स्रोत नभएकाले छट पर्खेर बस्नुपर्ने अवस्था रहेको सुनाए । यसरी बाँसको सामग्री बिक्री गरेर वर्षभरिका लागि आर्थिक जोहो गर्नु आफूहरूको बाध्यता रहको र यसैबाट खाने कुराका साथै छोराछोरीको शिक्षादिक्षाको खर्च धान्ने गरेको उनको भनाइ छ । दुई जनाको सहारामा एउटा बाँसको ढकी बनाउनका लागि २ दिनसम्म लाग्ने गरेको मरिक समुदायका अगुवाले बताएका छन् । श्रीमान् र छोराछोरीसँगै छठसम्ममा दुई सय कुनियाँ र ढकी बनाउने गीता मरिकको योजना छ तर पछिल्लो समय आधुनिकतासँगै भित्रिएका प्लाष्टिकलगायत सामग्रीले घरमा बनाएका सामानको माग घट्दै गएकामा उहाँ चिन्तित छन् । यसैले मरिक समुदायको जीवनस्तर उकास्नका लागि बाँसका सामग्रीको व्यवसायीकरण वा वैकल्पिक सामान बनाउनका लागि आवश्यक तालिम र प्रविधि सहयोग गर्नुपर्ने स्थानीयको माग छ ।
४० हजार राष्ट्रिय परिचयपत्र प्रशासनमै थन्किए
काठमाडौं । लिन नआएपछि जिल्ला प्रशासन कार्यालय तनहुँमा ४० हजारभन्दा बढी राष्ट्रिय परिचयपत्र थन्किएका छन् । राष्ट्रिय परिचयपत्रको फाराम भरेर अधिकांश व्यक्ति विदेशिएका कारण परिचयपत्र लिन नआएको हुनसक्ने जनाइएको छ । कार्यालयका कम्प्युटर प्राविधिक प्रताप पण्डितले नयाँ परिचयपत्रका लागि दैनिक १२० देखि १५० जनासम्म आउने गरे पनि तयारी अवस्थामा रहेका परिचयपत्र लिन भने २५ देखि ३० जना मात्र आउने गरेको बताए । चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म २ हजार ७०१ जनाले नयाँ फाराम दर्ता गरेका छन् भने २ हजार ५ जनाले परिचयपत्र लगेका छन् । चालु आवको प्रथम त्रैमासिकमा राहदानीतर्फ पुरुष २ हजार १७, महिला १ हजार ३३६, नाबालक ४९ गरी ३ हजार ४०१ जनाले सिफारिस लिएको सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार नागरिकतातर्फ वंशजको आधारमा महिला ७८५, पुरुष ७५१ गरी १ हजार ५३६ जनाले नागरिकता लिएका छन् । यस्तै १ हजार १२३ महिला र १ हजार १८३ पुरुषले नागरिकताको प्रतिलिपी लिएका छन् । वैवाहिक अङ्गीकृततर्फ भने २ जनाले मात्र नागरिकता लिएका छन् । यसैगरी नाबालक परिचयपत्र ९२, आदिवासी जनजाति प्रमाणित २०७, दलित प्रमाणित १५१, विपन्न खसआर्य १५ र मुस्लिम ९ जनाले सेवा लिएका छन् । पेन्सन सिफारिसतर्फ २१३, तिब्बतीयन शरणार्थी परिचयपत्र नवीकरण ५ र शरणार्थीका लागि यात्रा अनुमतिपत्र सिफारिस २ जनाले लिएका कार्यालयको तथ्याङ्क छ ।
देउसी भैलोप्रतिको आकर्षण बढ्दै
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारको अवसरमा पर्वतमा देउसीभैलो खेल्नेहरूको आकर्षण बढेको पाइएको छ । विभिन्न उद्देश्य र योजनाअघि सारेर देउसीभैलो खेल्ने संघ संस्थाहरूको सङ्ख्या ह्वात्तै बढेको हो । विगतका वर्षहरूमा बढिजसो बालबालिकाहरू मात्र देउसीभैलो खेलेको देखिने गरे पनि यसपटक भने पाका पुस्तासमेत दैनिक देउसीभैलोमा रमाइरहेका देखिन्छन् । पर्वत सदरमुकाम कुश्माबजारमा यसपटकको तिहारमा झण्डै ५० देखि ७० वटा समूहले देउसीभैलो कार्यक्रम गरिरहेका छन् । क्षेत्री समाज पर्वतले राहत कोष स्थापना गर्ने उद्देश्यले कात्तिक १४ गतेदेखि नै देउसीभैलो कार्यक्रम गरिरहेको छ । कुश्माबजारमा विभिन्न चोकमा मात्र नभएर वारीबेनी, डिमुवा, चुवालगायत स्थानमा समेत पुगेर देउसीभैली गरिएको समाजका सचिब गणेशबहादुर क्षेत्रीले जानकारी दिए । उनका अनुसार विपद्लगायत समस्यामा परेकाहरूको सहयोगका लागि कोष स्थापना गर्न कार्यक्रम सञ्चालन गरिएको हो । क्षेत्री समाजले राष्ट्रिय तथा स्थानीय कलाकारहरूलाई समेत सहभागी गराएको छ । यस्तै, विभिन्न पार्टीका जनवर्गीय सङ्गठनहरूले पनि विभिन्न उद्देश्य राखेर देउसीभैलो खेलिरहेका छन् । नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीले विपन्न तथा जेहन्दार विद्यार्थीको सहयोगार्थ देउसीभैलो कार्यक्रम गरिरहेको छ । देउसीभैलोबाट सङ्कलित रकमले आर्थिक अभावमा पढ्नवाट बञ्चित भएका विद्यार्थीलाई सहयोग गरिने सङ्गठनका सचिव सन्दिप नेपालीले जानकारी दिए । यसैगरी नेकपा (एमाले) निकट नेपाल उत्पीडित जातीय मुक्ति समाजले पनि देउसीभैलो कार्यक्रम गरेको छ । कोष स्थापना गर्नका लागि समाजले कुश्माबजारका विभिन्न चोकमा पुगेर देउसीभैलो कार्यक्रम गरेको संस्थाका सदस्य जीतबहादुर विकले जानकारी दिए । यसबाहेक विभिन्न आमा समूह, पर्यटन महिला समूह, बुहारी समूह, विद्यार्थीलगायतका संस्थाहरूले पनि देउसीभैलो कार्यक्रम गरिरहेका छन् । हाल कुश्माबजार र आसपासका ग्रामीण क्षेत्र देउसीभैलोका गीतले गुन्जयमान छन् । देउसीभैलोमा मौलिकता भने हराउँदै गएको छ । परम्परागत रूपमा भट्टाउने र देउसीरे भन्ने तथा गाउँ समाजका कथावस्तु देउसीरे मार्फत सुनाउने प्रचलन हटेको छ । आधुनिक साउण्ड सिष्टममा विभिन्न नेपाली लोक, पप तथा हिन्दी गीत समेतमा नाच्नाले मौलीकता हराउँदै गएको स्थानीय भोलानाथ शर्माले बताए । जिल्ला प्रशासन कार्यालय पर्वतले सूचना जारी गर्दै समग्र शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै आपराधिक घटना न्यूनीकरण गर्न राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने जनाएको छ । प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले सूचना जारी गर्दै राति ९ बजेपछि देउसीभैलोका कार्यक्रम गर्दा विभिन्न आपराधिक क्रियाकलाप बढ्न सक्ने भएकाले रोक लगाइएको उल्लेख गरेका छन् । यस्तै, पर्वत उद्योग वाणिज्य संघले तिहारको अवसरमा घर वा टोलमा आइपुग्ने देउसीभैलो खेल्ने टोलीलाई अधिकतम रु एक सय ५१ रुपैयाँभन्दा बढी नदिन अनुरोध गरेको छ । संघका अध्यक्ष ठाकुरबहादुर पौडेलले देउसीभैलो समूहले दाताको चाहनामा भन्दा पनि आफ्नो चाहनामा मोटो रकम मागेर हैरान पार्ने गुनासाहरू विगतदेखि नै सुनिँदै आएकाले बजारका उद्योगी व्यवसायीलाई त्यस्तो अनुरोध गरिएको बताए ।