गौ हत्या गर्न पाइँदैन, नेपाली हिन्दू धर्म संस्कारमा अडिग छन्: पूर्वप्रधानमन्त्री देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली समाज हिन्दू धर्म संस्कारमा अडिग रहेको बताएका छन् । डडेल्धुरा र डोटीको सङ्गमस्थल गहनानधाममा आज श्रीमद्भागवत महायज्ञको उद्घाटन गर्दै उनले हिन्दू परम्परालाई मान्ने नेपालीको संस्कृति रहेको बताए । सभापति देउवाले पछिल्लो समयमा केही सांस्कृतिक विचलन आइरहेका उल्लेख गर्दै आफ्नो धर्म, संस्कारबारे सचेत रहन यस किसमका धार्मिक कार्यक्रम उपयोगी हुने धारणा राखे । ‘हामी हिन्दू संस्कृति र परम्परामा अडिग छौँ । हिन्दू धर्म मान्ने हाम्रो परम्परा हो । गाईलाई पूजा गर्ने, शुद्धताका लागि गाईको गोबर र गहुँत मन्दिर तथा घरमा प्रयोग गर्ने देश हो,’ उनले भने, ‘गौ हत्या गर्न पाइँदैन । त्यसमा कडा कानुन छ । यसलाई अझै कडाइका साथ लागू गर्न हामी प्रतिबद्ध छौँ ।’ सभापति देउवाले सेती र साकल्य नदी मिसिएर हुने त्रिवेणीधाम यस क्षेत्रको ठूलो र महत्वपूर्ण मसान भएको स्मरण गरे । ‘यो हाम्रो पुर्खाहरूको चिहान हो, उहाँहरूलाई यही जलाएको हो । यसका साथै हिमालबाट बगेको सेती नदीमा स्नान गरी पुण्य लाभ हुन्छ भन्ने मान्यता रहिआएको छ,’ उनले भने, ‘यो क्षेत्र विभिन्न ऋषिमुनिहरूले तपस्या गरेको पवित्र स्थान पनि हो । यहाँ हुने मेला र पूजाहरूमा धेरै पटक म पनि पुगेको छु ।’ सभापति देउवाले गहानान क्षेत्रमाथि डाँडामा रहेको उच्चकोट विद्यालयमै आफूले अध्ययन गरेको सम्झँदै उनले महाभारत पर्वतमा रहेको घण्टेश्वर मन्दिर पूर्व उत्तरका स्थानीयको पवित्रस्थलका रूपमा गहनान रहेको बताए । ‘घण्टेश्वर उताका स्थानीय महाकाली नदी किनारमा रहेको परशुरामधाम जाने गर्दथे । त्यसलाई फर्सनान भनिन्थ्यो । घण्टेश्वर यताका मान्छेहरू अन्तिम संस्कार, अस्तु सेलाउन र स्नान गर्न यस ठाउँमा आउने चलन पूर्खौंदेखि रहिआएको छ । यो महत्वपूर्ण क्षेत्रको संरक्षण र प्रचार आवश्यक छ,’ उनले भने । धार्मिक पर्यटन प्रवर्द्धन र गहनान क्षेत्रको विकास गर्ने उद्देश्यसहित गहनान क्षेत्र विकास समितिले महायज्ञको आयोजना गरेको हो । महायज्ञ २५ गतेसम्म सञ्चालन हुनेछ । गहनानधाम डडेल्धुराको नवदुर्गा गाउँपालिका–४, गन्यापधुरा गाउँपालिका–५ र डोटीको शिखर नगरपालिका–१० को सङ्गमस्थल बानेडुग्रिसैनमा अवस्थित छ । गन्यापधुरा गाउँपालिका अध्यक्ष इन्द्रबहादुर कार्कीले तीनवटै पालिकाको समन्वय र सहकार्यमा महायज्ञको आयोजना गरेको बताए । शिखर नगरपालिका प्रमुख दीर्घबहादुर बलायरले गहनानसँगै यस क्षेत्रमा भौतिक पूर्वाधार विकासका काम अघि बढाउन पूर्वप्रधानमन्त्री देउवालाई ज्ञापनपत्रसमेत बुझाइएको बताए । गहनान क्षेत्रमा आवश्यक पूर्वाधार, संस्कृत विद्यालय स्थापना, सेती र सकायल नदीको कटान रोक्न तटबन्ध, सेती नदीमा पुल, महाभारत पर्वत क्षेत्र भएर गन्यापधुराको रेल–शिखर–केआईसिंह गाउँपालिका जोड्ने सडक निर्माणलगायत माग राख्दै ज्ञापनपत्र बुझाइएको उनले जानकारी दिए ।
उत्कृष्ट अभिनेताको अवार्ड जितेका आर के मेहताको संघर्ष र सफलताको यात्रा
काठमाडौं । नेपालका चर्चित अभिनेता आर के मेहता, जसले चलचित्र ‘आँखा’ मार्फत उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् । उनले आफ्नो संघर्ष र समर्पणको यात्रा जारी राख्दै नेपाली फिल्म उद्योगमा नयाँ उचाइ थपेका छन् । हालै काठमाडौंमा आयोजित एक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदिप खड्का, आर्यन सिग्देल र पल शाह जस्ता चर्चित कलाकारलाई पछि पार्दै मेहताले यो अवार्ड जितेका थिए । ‘आँखा’ चलचित्रले यस महोत्सवमा उत्कृष्ट राष्ट्रिय फिचर चलचित्रको अवार्ड पनि प्राप्त गरेको थियो । यस चलचित्रबाट निर्देशक जौन यौंजनले उत्कृष्ट स्क्रिनराइटरको अवार्ड जितेपछि महोत्सव ‘आँखा’ मय बनेको थियो । आर के मेहता, विराटनगरको भट्टाचोकमा जन्मिएका, थिएटरको माध्यमबाट अभिनय क्षेत्रमा आएका थिए । उनले रंगमञ्चको अभ्यास गर्दै इटालीको ‘एकाडेमिया डेल आर्टे’मा भौतिक थिएटर अध्ययन गरेका थिए । नेपाली फिल्म ‘रंगेलीु’बाट अभिनय यात्रा सुरु गरेपछि, उनले विभिन्न नाटक र फिल्ममा काम गर्दै आफ्नो अभिनयको गहिराइ बढाएका थिए । उनको प्रमुख फिल्म ‘आँखा’ मा उनले १५ किलो तौल घटाएर, ६ महिना काठमाडौंको सुकुम्बासी बस्तीमा बिताएर, पात्रको वास्तविकता बुझ्न निकै कठोर मेहनत गरेका थिए । उनले आफ्नो अभिनयका लागि कडा डाइट र जीवनशैली अपनाएका थिए । आर के मेहता अब नेपाली सिनेमा उद्योगका लागि एक प्रेरणा बनिसकेका छन् । उनको संघर्ष, समर्पण र कडा परिश्रमले उनलाई अन्तर्राष्ट्रिय स्तरमा सफलता दिलाएको छ, र नेपाली चलचित्र क्षेत्रलाई नयाँ दिशा र ऊर्जा दिएको छ । को हुन् आर के मेहता ? विराटनगरको भट्टाचोकमा जन्मिएका आर के मेहता ती कलाकार हुन्, जसले अभिनयलाई केवल पेशा होइन, आफ्नो जीवनको अटुट अंश बनाए । बाल्यकालदेखि नै कराँते, नृत्य, र अभिनयमा रुचि राख्ने उनले कराँतेमा ब्ल्याक बेल्ट हासिल गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई पदक दिलाए । अभिनयप्रतिको गहिरो मोहले उनी रंगमञ्चतर्फ आकर्षित भए, जहाँ उनले विराट मैथिल नाट्य कला परिषद, विराटनगर गुरुकुल हुँदै शिल्पी थिएटरमा प्रशिक्षण लिएका थिए । शिल्पी थिएटरमा उनी दुई वर्ष होस्टल बसेर काम गरे । अन्तर्राष्ट्रिय अवार्डः निफको ‘उत्कृष्ट पुरुष अभिनेता’ विजेता उनको कठोर मेहनतले रंग ल्यायो । ‘आँखा’ फिल्ममा उनको दमदार अभिनयले उनलाई नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव २०२५ मा उत्कृष्ट पुरुष अभिनेता को अवार्ड दिलायो । यो अवार्डले उनको संघर्षको पहिचान मात्र दिएन, नेपाली सिने उद्योगका लागि पनि एक नयाँ उचाइ थप्यो ।
प्रधानमन्त्री कप क्रिकेटको उपाधि नेपाल पुलिसलाई
काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । आज भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै पुलिसले उपाधि जितेको हो । जितका लागि १५५ रनको लक्ष्य पछ्याएको पुलिसले २५.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । उसका लागि ओपनर कुशल भुर्तेलले ६१ रन बनाए । कूल ७० बलको सामाना गरेका उनले ७ चौका र ३ छक्का प्रहार गरे । यस्तै अमित श्रेष्ठले ३९ र दिलिपनाथले अविजित ३१ रन बनाए । आर्मीका लागि साहब आलमले ३ र नरेन साउदले १ विकेट लिए । त्यसअघि भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले ४३ ओभरमा सबै विकेट गुमाउदै १५४ रन बनाएको थियो । २५ रनमै ५ विकेट गुमाएको आर्मीका लागि कप्तान विनोद भण्डारी र वसीर अहमदले ७५ रन बढीको साझेदारी गरेका थिए । उसका लागि बसीर अहमदले १०४ बलको सामना गर्दै ९ चौका र १ छक्काको सहयोगमा ८६ रन बनाए भने कप्तान विनोद भण्डारीले २९ रनको योगदान दिए । त्यसबाहेक विवेक यादवले ११ रन बनाउदा अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक समेत जोड्न सकेनन् । आर्मीलाई सस्तोमै समेट्ने क्रममा बलिङतर्फ नेपाल पुलिसका करण केसीले ७ ओभरमा एक मेडेनसहित ३० रन खर्चेर ३ विकेट लिए । सागर ढकालले ८ ओभरमा २९ रन खर्चेर ३ विकेट लिँदा कप्तान दीपेन्द्र सिंह ऐरीले २ र ललित राजवंशी र गुलशन झाले समान १/१ विकेट लिए । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्र्तगत यसपटक ४६ वटा खेलहरु खेलाइएको थियो । यी सबै खेल पहिलो पटक काठमाडौं बाहिर रुपन्देहीमा रहेको सिद्धार्थ क्रिकेट रङ्गशाला, तिलोत्तमामा रहेको एकस्ट्राटेक ओभल क्रिकेट रङ्गशाला र दाङ्गको लमहिमा रहेको देउखुरी अन्तरराष्ट्रिय रङ्गशालामा आयोजना भएको हो । प्रतियोगितामा ७ वटै प्रदेशका टोली र नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको बिभागिय टोली सहित १० वटा टोलीहरुले सहभागीता जनाएका थिए ।