तिहार सकिएसँगै तराई/मधेसमा छठपर्वको रौनक सुरु

काठमाडौं । तिहार सकिएसँगै तराई/मधेसमा छठपर्वको रौनक सुरु भएको छ । सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभुति राख्न अभिप्रेरित गर्ने पर्वको रूपमा लिइन्छ । अहिले वीरगञ्जसहित तराई–मधेसमा छठको रौनक सुरु भएको छ । लक्ष्मीपूजाको चार दिनपछि अर्थात कात्तिक शुक्लपक्षको चौथी तिथिका दिनबाट छठपर्व विधिवत रूपमा आरम्भ हुन्छ । नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृतिका रूपमा रहेको छठमा आवश्यक पर्ने सामग्रीको जोहो र किनमेल गर्न सर्वसाधारण व्यस्त देखिएका छन् । बाँसका डाला, नाङ्लो, ढकिया, कनसुप्ती, माटोका सामग्रीलगायत छठ पर्वमा आवश्यक नरिवल र सख्खर किनमेल गर्न स्थानीयवासी व्यस्त छन् । मुख्यतः सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई भव्यता प्रदान गर्न ग्रामीणस्तरमा रहेका पोखरी, इनार, तालतलैयालगायत जलाशयलाई सजाउने कार्यसमेत तीब्र बनेको छ । पर्साको मुख्य आर्यनको केन्द्रमा रहेको घडीअर्वा पोखरी, रानीघाट र मुडी छठ को लागी दुलही झैं सिंगार्न सुरु गरिएको छ । चार दिनसम्म मनाइने सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको छठ पर्वको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि विधिवत रुपमा छठ पर्व समापन हुने गर्दछ । छठ अवधिभरि माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो, उसिनेको चामललगायतका खाद्यवस्तु अनिर्वाय रूपमा बार्ने चलन रहिआएको छ ।

भोजभतेरममा बचेको खाने डोम समुदायमा छठसँगै आउँछ खुसी

धनुषा । मधेसी दलितमा सबैभन्दा पिछडिएकामध्ये पर्छन् डोम समुदाय । गरिबी र विपन्नताका कारण ज्याला मजदुरी गरेर जीविको चलाउने यस समुदायका विपन्न परिवारका लागि सधैँ आम्दानीको अवसर जुट्दैन । प्रायः हातमुख जोर्नकै समस्या भोग्न बाध्य हुन्छन् । हुन त पछिल्लो समय विश्वव्यापीकरणको प्रभाव, खुला समाज र काम गर्नेहरूका लागि अवसरका ढोकासमेत खुल्दै गएका छन्, त्यसबाट यस समुदायका व्यक्ति पनि प्रभावित छन् नै तर त्यो अवसर सबैसम्म पुग्न सकेको छैन । क्षीरेश्वरनाथ नगरपालिका–६ सखुवाबजार नयाँटोलका झल्कु मल्लिक भन्छन्, ‘समय बदलियो, हाम्रा मौलिक कामको मूल्य छैन । गर्नेले त अरु काम गरिरहेकै छन् तर अधिकांशले हातमुख जोर्ने समस्याबाटै गज्रिनु परिरहेको छ ।’ उनी चाडपर्बका बेला भने आफूहरूको सीपले महत्व पाउने गरेको सुनाउँछन् । छठ पर्व नजिकिँदै जाँदा बाँस र बेतका चोयाबाट डालो, नाङ्लो र टपरी बनाउन डोम समुदायलाई अचेल भ्याइ नभ्याइ रहेको मल्लिकको भनाइ छ । ‘सधैँ के खाने, के लाउने भन्ने चिन्ता हुन्छ तर चाडबाड, त्यसमा पनि छठ हाम्रा लागि खुसी बोकेर आउँछ । चुल्हो बल्छ, बालबालिकाका सामान्य आवश्यकता पूरा गरिदिँदा मुहारमा हाँसो आउँछ, हाम्रो मनमा उल्लास”, उनले हँसिलो मुद्रामा भने । दीपावलीलगत्तै सुरु हुने छठ पर्वलाई लक्षित गरी धनुषाका डोम समुदाय बाँसजन्य पूजाका सामग्री बनाउन व्यस्त हुन्छन् । यसबेला पुर्खौली पेसाले काम पाउँछ, सामानले बजार । अनि खुसीको त के कुरा ! तराईवासी हिन्दू धर्मावलम्बीहरूको महान् पर्व छठ नजिकिँदै जाँदा धनुषा, महोत्तरीका डोम समुदाय बाँस र बेतका चोयाबाट भाँडाकुँडा बनाउन व्यस्त छन् । यतिबेला उनीहरूले यही सामग्री बेचेर राम्रो आम्दानी गरिरहेका छन्। धुनषा, महोत्तरीमा करिब पन्ध्र लाख जनसङ्ख्या रहेकामा तीमध्ये करिब ७५ प्रतिशतले छठ पर्व मनाउने गरेकाले डोम समुदायले प्रत्येक छठमा बाँस र बेतका भाँडाकुँडा बेचेर राम्रो आम्दानी गर्ने जानकारहरू बताउँछन् । छठ मनाउने प्रत्येक परिवारले बाँस र बेतका नयाँ भाँडाकुँडाले पर्व मनाउनुपर्ने भएकाले आफूहरूले छठ पर्वका बेला यस्ता भाँडाकुँडा बनाएर राम्रो आम्दानी गर्ने गरेको जनकपुरधाम उपमहानगरपालिका-१ स्थित धर्मवान टोलका श्याम मल्लिक डोमले सुनाए । सोही टोलकी रीता मल्लिकले गाँस, बास र कपासकै जोरजाममा अल्झिनुपर्ने बाध्यताका बीच आउँने छठ पर्वले कात्तिक महिनाभर दुःख बिर्सेर मीठोमसिनो खाने र राम्रो लगाउने अवसरसमेत ल्याउने गरेको बताइन् । ‘अरु बेला त फेरि उही समस्या हुन्छ तर एकाध महिना भए पनि कामका लागि भौतारिनुपर्दैन । काम भएपछि दाम र माम त हुने नै भयो,’ उनले खुसी हुँदै भनिन् । महोत्तरीको औरही नगरपालिका-१ का ईन्दल मल्लिक डोमले कात्तिक लाग्नेबित्तिक्कै घरका बच्चादेखि बुढापाकासम्मले काम पाउने गरेको र बिहानदेखि बेलुकासम्म व्यस्त हुने गरेको सुनाए । त्यही बेचेर राम्रो आम्दानी हुने भएकाले आफूहरू निकै खुसी भएको उनको भनाइ छ । छठ पर्व मनाउने प्रत्येक तराईवासीले छठमाता तथा सूर्यदेवलाई बाँस र बेतबाटै बनाइएका डालो, नाङ्लो र टालु टपरीमा अर्घ दिनुपर्ने भएकाले प्रत्येक परिवारमा ५/७ वटा बाँसका भाँडाकुँडा किन्नुपर्छ । महोत्तरीको भङ्गहा नगरपालिकाका सुखारी डोम घरका बालकदेखि बुढापाकाले डालो, नाङ्लो बेचेर प्रतिव्यक्ति १० रुपैयाँदेखि २० हजार रुपैयाँ र प्रत्येक परिवारले सरदर २ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको बताउँछन् । मिथिला नगरपालिका(७ का ५५ वर्षीय राजबिर डोमले चाडपर्व आफूहरूका लागि पीर बिसाउने अवसरसमेत भएको बताए । सोही ठाउँकी ६० वर्षीया रुमीनी डोमिनले गाउँ, सहरमा हुने भोजभतेरममा बचेखुचेको ल्याएर सपरिवार खाने गरेका डोम समुदायका विपन्न नागरिकले छठमा आफैँ मीठामसिनो परिकार पकाएर खाने गरेको सुनाइन् । छठपर्वको आगमनसँगै डोमका घरआँगनमा पनि छठमाता र सूर्यदेवको प्रत्यक्ष उपस्थिति रहने गरेको अनुभूति हुने स्थानीय ६० वर्षीय बुधवा डोमको भनाइ छ । मिठोमसिनो खाने मात्रै होइन महोत्तरीको जलेश्वर नगरपालिकाका रामजी डोमले डालो, नाङ्लो र टालु टपरी बेचेर कात्तिकभरिमा वर्षभरि कै सबै कर्जा चुक्ता गर्ने र केही महिनासम्मको खर्च जोहो योजना रहेको सुनाए । हरेक वर्ष छठपर्व मनाउने वृद्धि हुँदै जाँदा प्रत्येक व्यक्तिलाई बाँसको भाँडाकुँडा पु¥याउन डोम समुदायका व्यक्ति निकै व्यस्त देखिन्छन् । पछिल्लो समय तराईमा मात्रै नभइ देशको राजधानी काठमाडौंसहित पोखरा, हेटौँडालगायत पहाडी क्षेत्रमा पनि छठपर्व मनाउन थालिएकाले तराईबाट बाँस र बेतबाट तयार भएका भाँडाकुँडा निर्यात हुने अवस्था पनि सिर्जना भएको छ । यसलाई व्यवस्थित गर्न स्थानीय सरकारले आश्यक सहयोग गर्नुपर्ने यसमा सङ्लग्न डोम समुदायका अगुवाहरूको भनाइ छ ।

चाडवाडका बेला दर्शकका रोजाइमा नेपाली चलचित्र, करोडौं कमाइ

 काठमाडौं । नेपाली चलचित्रका लागि चाडपर्व सुखद देखिएको छ । दसैँ र तिहारमा हलसँगै ‘ओभर दी टप’ (ओटीटी) का विभिन्न माध्यममार्फत प्रदर्शन गरिएका नेपाली चलचित्रमा दर्शकले साथ दिएका छन् । विदेशीको तुलनामा नेपाली चलचित्रको व्यापार दसैँ र तिहारमा उच्च रहेको चलचित्र वितरक करण श्रेष्ठले बताए । “फिल्म हलमा नेपाली चलचित्र हेर्ने दर्शकको सङ्ख्या बढेको छ । गत दसैँ हलहरुमा नेपाली चलचित्रमय बन्यो, तिहारमा पनि उस्तै देखिएको छ”, उनले भने । दसैँ लक्षित प्रदर्शन गरिएका ‘छक्का पञ्जा-५’ र ‘१२ गाउँ’ ले बक्सअफिसमा राम्रो व्यापार ग(यो । चलचित्र ‘ज्वाइँ साब’ ले पनि दर्शकको साथ पायो । तिहार लक्षित प्रदर्शन गरिएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले पनि राम्रो व्यापार गरिरहेको छ । यस चलचित्रमा पहिलोपटक शीर्ष भूमिकामा देखिएका अभिनेता विजय बराल दर्शकबाट प्राप्त मायाले दङ्ग छन् । “दर्शकहरुले माया गर्नुभएको छ । यो मेरा लागि नौलो अनुभव हो । मलाई विश्वास गर्ने निर्माण समूह र साथ दिनुहुने दर्शक प्रति कृतज्ञ छु”, अभिनेता बरालले भने । चलचित्र भवनसँगै ओटीटीमा समेत नयाँ चलचित्र प्रदर्शन गरियो । हलबाट उतारेर निर्देशक निश्चल बस्नेतले चलचित्र ‘मेघौली फ्रम बेहुली’ लाई ओटीटीमा ल्याए । यसले नेपाली निर्मातालाई आम्दानीको नयाँ स्रोत थपेको चलचित्रकर्मीको भनाइ छ । चलचित्र ‘महापुरूष’ तिहार लक्षित गरी युट्युबमा सार्वजनिक गरिएको छ । यसअघि ओटीटीमा सार्वजनिक भएको यस चलचित्रलाई दर्शककै अनुरोधमा युट्युबमा ल्याइएको निर्माता तथा कलाकार रवीन्द्रसिंह बानियाँले जानकारी दिए । उनले भने, “चलचित्र भवन र ओटीटीपछि हामीले युट्युबमा सार्वजनिक गरेका हौँ ।” दसैँ तिहारमा चलचित्र भवनमा अन्य समयको तुलनामा राम्रो व्यापार हुनुका साथै घरमै चलचित्र हेर्ने दर्शकको सङख्या वृद्धि भएको छ । त्यसैले यो समयमा चलचित्रलाई दर्शकसम्म पु¥याउन निर्माता उत्साहित देखिने गरेका छन् । रासस