सगरमाथा क्षेत्रमा ४३ हजार पर्यटकले गरे भ्रमण, ११ करोड ३२ लाख राजस्व जम्मा
सोलुखुम्बु । वरिपरि हिउँका पर्खाल, शेर्पा संस्कृतिको सुगन्ध, अनि हिमाली सौन्दर्यको चित्ताकर्षक दृश्यले सगरमाथा क्षेत्रमा हजारौं पर्यटकको ध्यान खिच्ने गरेको छ । वसन्त ऋतु प्रारम्भ भएसँगै सगरमाथा क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार गत महिना १२ हजार तीन जना पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेका छन् । राष्ट्रिय निकुञ्जका रेन्जर विवेक श्रेष्ठका अनुसार यो याम हिमाल आरोहण, ट्रेकिङ तथा हिमाली दृश्यावलोकनको दृष्टिले उपयुक्त भएकाले पर्यटकको आगमन बढेको हो । 'हिमाल आरोहण तथा दृष्यावलोकनका लागि यो समय उत्तम हुने भएकाले विदेशी तथा स्वदेशी पर्यटक आउने क्रम जारी छ, सगरमाथासहितका हिमाल सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने भएकाले यहाँ पर्यटक बढेसँगै हाम्रो व्यस्तता पनि बढेको छ,’ रेन्जर श्रेष्ठले भने । पर्यटकको आवागमन बढेसँगै खुम्बु क्षेत्रमा व्यावसायिक गतिविधि, होटल लजहरूको व्यस्तता पनि बढेको छ । हाल नाम्चे बजारदेखि लुक्लासम्मका होटल पर्यटकले भरिभराउ छन् । अनुकूल मौसम हुँदा काठमाडौं तथा रामेछापको मन्थली विमानस्थलबाट दैनिक सयौं पर्यटक लुक्ला हुँदै निकुञ्ज प्रवेश गरिरहेका छन् । यद्यपि, मौसम प्रतिकूल हुँदा सोही पर्यटकहरू वैकल्पिक मार्ग रोज्दै काठमाडौंबाट जिप चढेर सल्लेरी हुँदै सुर्केसम्मको यात्रा गरिरहेको यातायात व्यवसायीहरू बताउँछन् । हवाइ र सडक मार्ग सगरमाथा क्षेत्र पुग्ने माध्यम पहिले–पहिले सगरमाथा पुग्ने एकमात्र प्रमुख विकल्प लुक्लाको हवाई यात्रा थियो । तर हालैका वर्षहरूमा लुक्लासम्म सडक विस्तार हुँदै जाँदा अब गाडी चढेर पनि हिमालको काखमा पुग्न सकिने सम्भावना बढेको छ । मौसम प्रतिकूल हुँदा हवाइजहाज उड्न नसक्दा वैकल्पिक बाटोको खोजीमा निस्केका पर्यटकहरू जिपमार्फत खुर्कोट, घुर्मी, ओखलढुङ्गा हुँदै सोलुखुम्बु सदरमुकाम सल्लेरी पुग्छन् । यहाँबाट बोलेरोबाट लुक्ला नजिकैको स्थान सुर्केसम्म यात्रा गर्छन् । निकुञ्ज क्षेत्रमा कार्यरत सवारी चालकदेखि होटल व्यवसायीसम्मले पछिल्लो समयको सडक विकासलाई स्वागत गरेका छन् । अब मौसम खराब भयो भनेर लुक्ला नपुगी फर्कनुपर्ने बाध्यता हटेको पर्यटन व्यवसायी बताउँछन् । लुक्ला–मन्थली तथा काठमाडौं–लुक्ला हवाइ सेवा प्रभावित हुनसाथ सल्लेरी हुँदै लुक्लाभन्दा केही तलसम्मको स्थान सुर्के जाने विदेशी पर्यटकको सङ्ख्या उच्च हुने गरेको यातायात व्यवसायी रामबहादुर बराइलीले बताए । काठमाडौंबाट जिपमार्फत खुर्कोट, घुर्मी हुँदै सोलुखुम्बु जिल्ला सदरमुकाम सल्लेरी आइपुगेका पर्यटक सल्लेरीबाट बोलेरोमार्फत सुर्केसम्म पुग्ने गरेका छन् । सल्लेरीभन्दा माथिको बाटो कच्ची भएकाले सुमो जिप नजाने भएकाले बोलेरो प्रयोग गर्ने गरेको सवारी चालक सन्तोष तामाङले बताए । लुक्ला नजिकै कच्ची सडक पुगेकाले पर्यटकलाई जहाजको विकल्प भएको ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले बताए । 'लुक्लामा मौसम बिग्रिरहने भएकाले बारम्बार जहाज उडान अवरुद्ध हुन्छ तर अब लुक्ला नजिकै रोड पुगेकाले गाडीबाट पनि जान सकिने भएको छ, यो खुसीको कुरा हो,’ उपाध्यक्ष शेर्पाले भने । यद्यपि खुम्बु आउन चाहने केही पर्यटक भने मौसमका कारण अन्यत्र डाइभर्ट हुने गरेको व्यवसायीहरूको भनाइ छ । व्यवसायी तेम्बाछिरिङ शेर्पाले भने, 'खुम्बु जाने सहज माध्यम भनेको हवाइजहाज हो, तर लुक्लामा मौसम खराब हुँदा खुम्बु जाने कतिपय विदेशीहरू अन्य स्थानतर्फ लागे । उनीहरू निश्चित समयको 'भिषा' लिएर आउने भएकाले मौसम प्रतिकूल हुनासाथ अन्य स्थानतर्फ जाने सम्भावना बढ्छ ।' निकुञ्ज क्षेत्रमा पर्यटकको आगमन उत्साहवर्धक विसं २०३२ मा सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपािलका क्षेत्रमा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज एक हजार एक सय ४८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । पूर्वी नेपालको सोलुखुम्बु जिल्लामा रहेको यो राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित छ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयु, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कुलगायत हिमचुचुरा पर्दछन् । कुञ्जभित्रको गोक्यो र सम्बद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको थियो । सन् १९७९ देखि यस निकुञ्जलाई विश्वसम्पदा सूचीमा समावेश गरिएको हो । यो निकुञ्ज एक हजार आठ सय मिटरदेखि आठ हजार आठ सय ४८ मिटरसम्मको उचाइमा छ । उच्च पर्वतीय वातावरण रहेको यस राष्ट्रिय निकुञ्जमा गोब्रे सल्ला, ठिङ्ग्रे सल्ला, हेमलक, धुपी, भोजपत्र, गुराँस जातका रुख पाइन्छन् । वसन्त ऋतुमा लालीगुराँसका फूलले निकुञ्जभित्रको जङ्गललाई अति मनोरम र सुन्दर बनाउँछन् । कस्तुरी मृग, हिमाली भालु, हिउँ चितुवा, थार, घोरल, झारलजस्ता वन्यजन्तुका साथै डाँफे, चिलिमे, कालिज, हिम कुखुरा, लालचुच्चे काग (टुङ्गा) र पहेँलो चुच्चे काग (टेमुलगायत १९३ प्रजातिका चरा यस राष्ट्रिय निकुञ्जमा पाइन्छन् । सगरमाथा राष्ट्रिय निकुञ्ज सांस्कृतिक महत्त्वको क्षेत्र पनि हो । यहाँका तेङ्वोचे, तथा थामे गुम्बाहरूमा बौद्ध शिक्षा दिइन्छ । मुख्यतः सगरमाथा हिमाल र यस क्षेत्रको मनोरम दृश्य हेर्न, पर्वतारोहण गर्न, शेर्पा संस्कृति तथा वन्यजन्तु अवलोकन गर्न बर्सेनि हजारौं पर्यटक यहाँ आउने गर्दछन् । हिमाल आरोहण, ट्रेकिङ मात्र नभई सांस्कृतिक भ्रमणले वार्षिक हजारौं पर्यटकलाई आकर्षित गर्दै आएको छ । सगरमाथा क्षेत्रमा पर्यटक आगमनको मुख्य याम फागुनदेखि जेठ र असोजदेखि मङ्सिरसम्म हो । नौ महिनामा ४३ हजार पर्यटकद्वारा निकुञ्ज भ्रमण चालु आर्थिक वर्षको नौ महिनामा ४३ हजारभन्दा धेरै पर्यटकले सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रको भ्रमण गरेका छन् । निकुञ्जका अनुसार गत साउन महिनादेखि चैतसम्ममा ४४ हजार छ सय आठ जना पर्यटक सगरमाथा क्षेत्र पुगेका हुन् । गत साउनमा १२५ जना, भदौमा एक हजार ३९४ जना, असोजमा आठ हजार दुई, मङ्सिरमा चार हजार ३९४, पुसमा एक हजार ७११, माघमा ९४३, फागुनमा दुई हजार ४८७ र चैतमा १२ हजार तीन जना निकुञ्जको चेकपोष्ट जोरसल्लेबाट प्रवेश गरेका रेन्जर विवेक श्रेष्ठले जानकारी दिए । पर्यटकबाट सगरमाथा राष्ट्रिय निकुञ्जले रु ११ करोड ३२ लाख नौ हजार १०० राजस्व सङ्कलन गरेको छ । भ्रमणकर्तामध्ये विदेशी ३७ हजार ७९६ जना र नेपाली पाँच हजार ८९७ जना रहेका छन् । तीन हजार ९९६ जना सार्क राष्ट्रका र ३३ हजार ८०० अन्य देशका पर्यटकले निकुञ्जको भमण गरेका हुन् । हाल दैनिक ४०० जनाभन्दा धेरै विदेशी तथा स्वदेशी पर्यटक विभिन्न माध्यमबाट सगरमाथा क्षेत्र पुगिरहेका जनाइएको छ । पर्यटकको लगातार बढ्दो आगमनले सगरमाथा क्षेत्रलाई आर्थिक रुपमा फाइदा पुर्याइरहेको छ तर आम्दानीसँगै पर्यावरणीय समस्या पनि थपिएका छन् । पर्यटन क्षेत्रका जानकार आङछिरिङ शेर्पा भन्छन्, 'अबको प्राथमिकता भनेको प्राकृतिक स्रोतको संरक्षण, पर्यटनको दिगो विकास हुनुपर्छ । सगरमाथा नेपाल र नेपालीको गौरव हो, याे देशको अद्वितीय सौन्दर्यको रासास्वादन जीवनमा एकपटक गर्नैपर्ने सन्देश दिनुपर्छ ।'
चलचित्र छायाङ्कनको केन्द्र बन्दै मुस्ताङ, पर्यटन प्रवर्द्धनमा पनि टेवा
मुस्ताङ । पछिल्लो समय बेनी–जोमसोम–कोरला सडकमा आवतजावत गर्न सहज भएसँगै यहाँ चलचित्र छायाङ्कनको आकर्षक गन्तव्य बनेको छ । संघीय राजधानि काठमाडौंबाट एक दिनमै यहाँ आउन सकिनेहुँदा जिल्लाका विभिन्न स्थानमा चलचित्र छायाङ्कन गर्नेक्रम बढेको हो । साथै विभिन्न हलिउड, बलिउड र कलिउडका चलचित्र छायाङ्कन गर्नका लागि जनशक्ति, उपकरण र बन्दोबस्तीका सामान ढुवानी गर्न सहज भएसँगै मुस्ताङमा चलचित्र छायाङ्कन गर्नेहरु आकर्षित भएका हुन् । जिल्लाको पृथक भूगोलमा छायाङ्कन गर्न पछिल्लो समय चलचित्रकर्मी निकै लालायित हुने गरेको पाइएको छ । हिमाली शृङ्खला, प्राकृतिक भूगोल, जैविक तथा सांस्कृतिक विविधताका साथै यहाँको लोभलाग्दो कृषि र पशुपालन गर्ने संस्कृतिलाई चलचित्रको पर्दामा कैद गर्न पछिल्ला केही वर्षयता चलचित्रकर्मीको लर्को नै लाग्ने गरेको पाइएको छ । सडक नहुँदाको तत्कालीन अप्ठ्यारो परिस्थितिमा समेत मुस्ताङमा हिन्दी चलचित्र खुदा गवाह सुटिङ भएको थियो । भारतीय अभिनेता अमिता बच्चन त्यस समयको कठिन परिस्थितिका बेला पनि मुस्ताङ आएर सुटिङ सकाएका थिए। तर, त्यसबेलाको कठिन परिस्थिति अहिले पूरै फेरिएको छ । घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले एकैदिन मुस्ताङ आएर चलचित्र सुटिङ गर्न पाइने भएकाले पनि मुस्ताङमा चलचित्र छायाङ्कनका लागि आउनेको सङ्ख्या बढ्दै गइरहेकोे जानकारी दिए । जिल्लामा विभिन्न देशका चलचित्र, म्युजिक भिडियो र डकुमेन्ट्री फिल्म सुटिङ गर्न सहज हुनेगरी यहाँका स्थानीय तहले सीमित राजस्व सङ्कलन गर्ने गरेको उनको भनाइ छ । उनले यसप्रकारका चलचित्रको छायाङ्कनले यहाँको पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुगेको उल्लेख गरे। पछिल्ला पाँच वर्षयता दर्जनौँ नेपाल चलचित्र, म्युजिक भिडियो र डकुमेन्ट्री फिल्म यहाँ सुटिङ भइसकेका छन् । मुस्ताङको कालीगण्डकी बगर, सदियौँ वर्ष पुराना गुम्बा, माने, छोर्तेन, गुफा, तालतलैयाका साथै फरक–फरक प्राकृतिक सौन्दर्यताकै कारण जिल्ल चलचित्र सुटिङको हब बन्दै गएको हो । जिल्लामा हिन्दी चलचित्र खुदा गवाह करिब ४० को दशकमा सुटिङ भएको हो । पछिल्लो पाँच वर्षयता मुस्ताङमा चिनो, प्रेमगीत, सम्हालिन्छ कहिले मन, कबड्डी, जेरी, ब्याज नम्बर सिक्टिन, भकुन्डो, छिरिङलगायत दर्जनौँ चलचित्र सुटिङ भएका थिए । यहाँ सुटिङले यहाँको पर्यटन क्षेत्रमा महत्त्वपूर्ण योगदान पुगेको नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिजका सचिव नीरज थकालीले बताए । उनले चलचित्रका माध्यमबाट यहाँका कला, संस्कृति, मौलिकता र सम्पदालाई उजागार गर्न ठूलो सहयोग पुगेको जनाए। त्यसैगरी, जिल्लामा चलचित्र सुटिङका लागि आउनुभएका नेपाल चलचित्र प्राविधिक सङ्घका उपाध्यक्ष अर्जुनप्रसाद पोखरेलले यहाँ चलचित्र छायाङ्कन गर्ने उपयुक्त र सहज गन्तव्य भएको दाबी गरे। जिल्ला नेपालकै स्वर्गरुपी जिल्ला भएको उल्लेख गर्दै उनले यस्तो स्थानमा सरकारले चलचित्र स्टुडियो स्थापना गर्न सकेमा यस क्षेत्रको मात्र नभई सिङ्गो गण्डकी प्रदेशको आर्थिक समृद्धिमा सहयोग पुर्याउने बताए । यसका लागि तीन तहको सरकारले पहल गर्न आवश्यक उनको भनाइ छ । निलगिरि र धवलागिरिलगायत यहाँ साना दर्जनौँ हिमाल अवस्थित छन्, सबै हिमालमा क्षणभरमै पुग्न सकिने, होटल र यातायात पहिलेको तुलनामा निकै सहज हुँदै जान थालेको छ, यसैले पनि ९० प्रतिशत चलचित्रकर्मीले यही ठाउँमा आएर सुटिङ गर्न थाल्ने छन् । यहाँ चलचित्र सुटिङ गर्न पाउँदा स्थानीय पालिका र समुदायबाट ठूलो सहयोग प्राप्त भएको उपाध्यक्ष पोखरेलले जनाए । मुस्ताङमा यहाँका ताल, गुम्बा, लेक, खर्क, हिमाल, जैविक विविधता र संस्कृति महत्त्वपूर्ण विशेषता रहेको बताए । मुस्ताङको तल्लो क्षेत्र थासाङमा सेकुङ ताल, भुतर्छो ताल र टिटी ताल अवस्थित छन् । कालीगण्डकी नदीको सुन्दर तटीय बस्ती र अनि खर्कमा चर्दै गरेका याक चौँरीका बथानले झनै चलचित्रलाई सुसज्तित पारिदिन्छ । घरपझोङ गाउँपालिकामा पर्यटकीय सांस्कृतिक गाउँ मार्फा, ठिनी, स्याङ र जोमसोममा प्राचीन संस्कृति अवलोकन गर्न पाइन्छ । यस पालिकामा ढुम्बाताल र क्षमाताल अवस्थित छ । वारागुङ मुक्ति क्षेत्रमा मुक्तिनाथ मन्दिर, कागबेनी, झोङ, तेताङ, छुसाङ, मुस्ताङ गेटलगायत स्थानमा चलचित्र छायाङ्कन गर्ने गरिएको छ । लोमान्थाङमा मुस्ताङी राजाको सात सय वर्ष पुरानो दरबार, गुफा, गुम्बा, माने र छोर्तेनहरु अवलोकन गर्न सकिन्छ । लोघेकर दामोदरकुण्ड गाउँपालिकामा पनि गुरु पद्यसम्भवले निर्माण गरेको लोघेकर गुम्बा, चराङ गुम्बा, ढाक्मर रेड पहाडलगायत यहाँका संस्कृति झल्काउने मौलिक परम्परागत बस्ती रहेको छ । रासस