बोडेका सुजनले तेस्रोपटक जिब्रो छेडेर जात्रा चलाउने, १०८ वर्षमा १३ जनाले जिब्रो छेडे
काठमाडौं । भक्तपुरको मध्यपुरथिमी नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष तेस्रोपटक स्थानीय २८ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिने भएका छन् । नवौँ पटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै आएका बोडेका ५० वर्षीय बुद्ध कृष्ण बाग श्रेष्ठका कान्छो छोरा सुजनले दुई वर्ष अगाडि जिब्रो छेडाएर पुस्तान्तरण गरेका थिए । कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक जिब्रो छेडाएपछि उनका भाइ बुद्ध कृष्ण बाग श्रेष्ठ नौ पटकसम्म जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका थिए । जात्राका लागि चार दाम चढाएपछि जिब्रो छेड्ने व्यक्तिले अशुद्ध व्यक्तिलाई छुन नहुने, महिलालाई छुन नहुने, जुठो, सुतक परेको व्यक्तिलाई छुन नहुने, जुठो, नुन खान नहुने, बोडे देश छाडेर बाहिर जान नहुने सुजनका बुबा बुद्ध कृष्णले बताए। उनका अनुसार जिब्रो छेड्ने व्यक्तिले तीन दिनअघिदेखि व्रत बस्नुपर्छ । सुजनले जात्रा जोगाउन आफूले यस वर्ष पनि जिब्रो छेड्न तयार भएको बताए । सुजनले भने, ‘बुबाले जिब्रो छेडाउँदा म पनि सँगै हुन्थे, उहाँले जात्रा, कला, संस्कृतिलाई जोगाएको देखेर मलाई पनि मनमा इच्छा जाग्थ्यो र आँट आयो, त्यो मौका दुई वर्ष अघि जुर्यो, यस वर्ष पनि जात्रालाई निरन्तरता दिन जिब्रो छेडाएर महाद्धीप बोकेर बोडे देश घुम्ने छु ।’ बुद्ध कृष्णले भने, ‘मैले जिब्रो छेडाउँदा सानैदेखि छोरासँगै हुन्थ्यो, यो जात्रा जोगाउनुपर्छ, यो जात्रा नभए बोडेको पहिचान मेटिन्छ भन्ने मलाई मात्र होइन मेरो छोरालाई पनि लाग्थ्यो, बोडेको संस्कृति जोगाउन अब हरेक वर्ष बोडेका युवाहरू तयार हुनुपर्छ ।’ जात्राअघि गते जिब्रो छेड्ने व्यक्तिले नाय पमाको घरमा पुगेर नाय पमाः, कर्मी नायलगायतलाई चार दाम चढाएर सगुन दिएर जिब्रो छेड्ने पक्का गर्नुका साथै सोही दिन जात्राको व्रत प्रारम्भ गर्ने परम्परा छ । जात्राका दिन व्रत बस्नेले जिब्रो छेड्नुअघि शक्ति प्राप्त होस् भन्ने कामनासहित बोडे क्षेत्रका विभिन्न देवी देवताको पूजाआजा गर्ने र प्राचीन पाँचो गणेश मन्दिर परिसरमा हजारौं भक्तजनको उपस्थितिमा जिब्रो छेड्ने प्रचलन छ । जिब्रो छेडि सकेपछि ती व्यक्तिले अर्ध चन्द्राकार महाद्धीप बोकेर बोडे सहर परिक्रमा गर्ने र बोडेकै महालक्ष्मी मन्दिरको परिक्रमापछि उक्त सुइरो जिब्रोबाट झिकेर महालक्ष्मी मन्दिरमै ठोकेर घाउमा महालक्ष्मी मन्दिरको माटो लगाउने प्रचलन छ । हालसम्म बोडेका १३ जनाबाट निरन्तर १०८ वर्षसम्म जिब्रो छेडेको इतिहास छ ।
पूर्वअर्थमन्त्री डा भेषबहादुर थापासहित ४ जना स्रष्टा सम्मानित
काठमाडौं । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च, तनहुँले पूर्वअर्थमन्त्री डा भेषबहादुर थापासहित ४ जना स्रष्टालाई सम्मान तथा पुरस्कृत गरेको छ । आज नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित स्रष्टा सम्मान तथा पुरस्कार वितरण समारोहमा मञ्चले पूर्वअर्थमन्त्री डा थापालाई सरदार यदुनाथ खनाल सम्मान प्रदान गरेको छ । नेपाली भाषा, साहित्य, प्रजातन्त्र, आर्थिक विकास तथा परराष्ट्र नीतिमा पुर्याएको योगदानको कदर स्वरूप उनलाई कदरपत्रसहित २५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो । कार्यक्रममा गीतल प्रतिष्ठान नेपालले नेपाल अधिराज्य तनहुँ वाङ्मय कृति पुरस्कार भारतको कोलकत्ताका लेखक डा. सत्य प्रकाश तिवारीलाई प्रदान गरेको छ । नेपाली र भारतीय साहित्यको सम्बन्ध प्रगाढ तुल्याउन योगदान गरेकामा उहाँलाई कदरपत्र र २५ हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिएको हो । प्रतिष्ठानले क्षेत्र प्रताप स्मृति साहित्य पुरस्कारबाट प्राज्ञ सरुभक्तलाई पुरस्कृत गरेको छ । साहित्य, कला र रङ्गमञ्चको उत्थान एवं श्रीवृद्धिमा गरेको योगदानको कदर स्वरुप उहाँलाई पुरस्कृत गरिएको हो । यस्तै, गीतल राष्ट्रिय पुरस्कारबाट स्रष्टा ओम रिजाललाई भाषा, साहित्य, कला र वाङ्मयको क्षेत्रमा उनको योगदान स्वरूप कदरपत्र र १० हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिएको छ । साथै, गीतल प्रतिभा पुरस्कारबाट नारायण कैलाश सिग्देललाई ५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।