मास्टरी छाडेर टेलरिङ, जिरेलीलाई न्यू फेसन
दोलखा-जिरीकी भगवती खड्काले सियो-धागोसँग संगत गर्न थालेको १८ वर्ष भइसक्यो । उनलाई सियो-धागोले नै परिश्रमको स्वाद चखायो । उमेरले ४० पुगेकी खड्कालाई अहिले जीवन यस्तैगरी नै चलिरहोस् भन्ने लाग्छ । जे छ जति छ, उनी यसैमा खुसी छिन् । खड्काको टेलर पसलमा पुग्दा हँसिलो अनुहारमा उनी चोलो सिलाउँदै थिइन् । दुई सन्तानकी आमासमेत रहेकी उनको व्यवसाय गर्ने सपना बाल्यकालदेखि कै हो । उनका बाबुआमाले जिरी नगरपालिका सिउरानीमा खाद्यान्नसम्बन्धी व्यवसाय गर्थे । बिहान अनि बेलुका समय मिलाएर उनले बुवाआमालाई सघाउँथिन् । त्यही क्रमबाट नै उनमा व्यवसायी बन्ने भूत सवार भएको हो । यद्यपि उनले पढाइलाई भने निरन्तरता दिँदै गइन्। कक्षा १० सम्म पढाइ पूरा भएपछि खड्कालाई परिस्थितिले शिक्षिका बनायो । तर बच्चैदेखि व्यवसायमा घुलमिल भइसकेकी उनी जागिरमा रमाउन सकिनन् । एकदिन उनलाई लाग्यो जागिर मेरा लागि होइन, त्यसपछि मोडियो जीवनको यात्रा । घरमा बुवाआमासँग जिद्दी गरेर सिलाइकटाइ सिक्न खड्का काठमाडौं आइन् । त्यही सिलसिलामा काम सिक्दासिक्दै आफ्नै पसल खोल्ने निधो गरिन् र परिवारसँग केही रकम मागिन् । तर परिवारले उनलाई सहजै विश्वास भने गरेन । स्वभावले हक्की खड्काको आँटले काठमाडौंमा ७ महिनासम्म आफ्नै व्यवसाय सञ्चालन गरिन् । त्यसपछि उनी फेरि आफ्नै ठाउँ अर्थात जिरी फर्किएर सिलाइकटाइको व्यवसायलाई निरन्तरता दिइन् । पसल थालेको केही महिनाभित्रै खड्काको पसलमा ग्राहकको ओइरो लाग्न थाल्यो । नाफा बढ्दै गयो । उनले थप मेसिन किनिन्, केही सहायक कामदारसमेत राखिन् । जुनसुकै कपडा होस्, सफा सिउने, राम्रो फिटिङ मिलाउने उनको शैली ग्राहकहरूलाई मन पर्न थाल्यो । महिलाहरू विशेष रूपमा उनको सेवा मन पराउँथे, किनभने उनले महिलाहरूको रुचिअनुसार डिजाइन गर्न सक्छिन् । अहिले उनले आफ्नो घरखर्चमात्रै चलाउँदिनन्, अन्य महिलाहरूलाई पनि काम सिकाउँछिन् । व्यवसाय गरेको २ वर्षपछि खड्का विवाह बन्धनमा बाँधिइन् । केही समय उनी अन्यौलमा परिन् । तर केही समयपछि परिवार र श्रीमानको साथले उनले दोलखाको जिरी नगरपालिका- ५, जिरी बजारमा व्यवसाय सञ्चालन गरिन् । उनका श्रीमान नेपाली सेनामा जागिरे हुन् । आफ्नो पेशामा खारिएकी खड्का प्रशिक्षक पनि हुन् । नगरपालिकाले स्थानीय महिलालाई दिने सिलाइकटाइका तालिममा उनी प्रशिक्षकका रूपमा सिकाउन जान्छिन् । ‘म प्रशिक्षक पनि हुँ । नगरपालिकाबाट यहीसम्बन्धी काम यहाँका दिदी-बहिनीहरूलाई सिकाउन पर्यो भने म नै सिकाउँछु,’ उनले भनिन् । शिक्षण पेशा किन छाड्नुभयो भन्ने प्रश्नमा खड्का आफू रम्न नसकेको बताइन् । ‘शिक्षण पेशा पनि नराम्रो त होइन तर म रम्न सकिनँ । घरमा पसल थियो । त्यसैले सानैदेखि व्यवसायमै रुचि भयो । रम्न नसकेपछि मैले व्यवसाय नै रोजेकी हुँ,’ उनले सुनाइन् । उनी व्यवसाय गर्दा परिवार हेर्दै पनि गर्न सकिने बताउँछिन् । त्यही भएर पनि व्यवसाय उनको रोजाइमा परेको हो । कैलेकैले व्यवसाय सुस्ताएको बेला जागिर नै ठीक भन्ने पनि मनमा आउँछ तर त्यो मनसाय लामो समय उनमा रहँदैन । उनी बालबच्चा हेर्दै, व्यवसायमा रम्न अभ्यस्त भइसकेकी छिन् । खड्का अगिपछिभन्दा चाडपर्वको बेलामा बढी व्यापार हुने बताउँछिन् । ‘तीजदेखि दशैं तिहारसम्म नै सिलाइकटाइ व्यवसायको खास सिजन हो । त्यो बेला महिनामै ५० देखि ६० हजारसम्म आम्दानी हुन्छ । यहाँ जिरीमा लेडिज टेलर छैन । त्यसैले पनि मेरो व्यवसाय राम्रो चल्छ ’, उनले भनिन् । भूकम्पले नाफा घटायो छोराछोरीको पढाइलगायतका घरखर्चमा खड्काले श्रीमानलाई सघाइरहेकी छन् । अहिले सिजनमा मात्रै अलि बढी व्यापार गर्ने उनलाई २०७२ सालको भूकम्पअघि भने बाह्रै महिना भ्याइनभभ्याई हुन्थ्यो । ‘भूकम्पभन्दा अघि भने भ्याइनभ्याइ हुन्थ्यो । तर भूकम्पपछि बजारमा भाडा पनि महँगो भयो । घर भत्काएपछि धेरैजसोले पक्की घर बनाए । अनि त महँगो भइहाल्यो । अहिले त्यति नराम्रो त भन्न मिल्दैन तर पनि समय परिवर्तन हुँदै गर्दा अनलाइनको अर्डरले पनि अलि असर गरेको छ व्यापारमा,’उनले भनिन् । ‘अझ पहिला त यही बाटो भएर सगरमाथा चढ्न जाने पनि आउँथे नि, यो जिरी त जङ्कशन थियो । अहिले सडक बनेपछि व्यापारमा अलि फरक चाहिं परेको छ,’ उनले विगत सम्झिँदै वर्तमान भनिन् । यद्यपि अहिले खड्का आफ्नो पसलबाट राम्रो आम्दानी गरिरहेकी छिन् । छोराछोरीलाई राम्रो विद्यालयमा पढाइरहेकी छिन् । घरखर्च सहजै चल्दैछ, बचत पनि गर्दैछिन् । सबैभन्दा महत्वपूर्ण कुरा, उनी आत्मनिभर्र छिन्। खड्काले आफू प्रशिक्षक भएर जाने प्रत्येक तालिममा सबै दिदीबहिनीलाई आत्मनिर्भर बन्न प्रेरित गरिरहेकी हुन्छिन्, व्यवसाय गर्न आग्रह गर्छिन् । भगवतीको कथा केवल एउटा टेलरिङ पसलको कथा होइन, यो एउटा महिला उद्यमीको संघर्ष, सपना र सफलताको कथा पनि हो ।
निरङ्कुश राजा पराजय भएको दिन आज लोकतन्त्र दिवस मनाइँदै
काठमाडौं । आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरुप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइँदैछ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०५९ जेठ ८ मा विघटित संसदको पुनःस्थापना गरी आफू देशको कार्यकारी प्रमुखबाट हटेको तथा निरङ्कुशता पराजय भएको विसं २०६३ वैशाख ११ को स्मरण गर्दै लोकतन्त्र दिवस मनाइने गरिएको छ । त्यस दिन पूर्वराजा शाहको घोषणामा भनिएको थियो, ‘राज्य शक्तिको स्रोत नेपाली जनता नै भएको र नेपालको सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा नै निहित रहेको तथ्यलाई हृदयङ्गम गर्दै वर्तमान जनआन्दोलनमार्फत अभिव्यक्त भएको जनभावनाअनुरुप प्रतिनिधिसभालाई पुनःस्थापित गरिएको छ ।’ निरङ्कुशताको विरोधमा आन्दोलनरत सात राजनीतिक दल र तत्कालीन विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी) सहितको सहभागितामा भएको जनआन्दोलनको बलमा उक्त घोषणामार्फत विसं २०६३ वैशाख १५ गते प्रतिनिधिसभाको बैठक आह्वान गरिएको थियो । जनआन्दोलनका बलमा स्थापना भएको लोकतन्त्रपछि भएका दुइवटा संविधानसभाको निर्वाचनद्वारा गठित संविधानसभाबाट विसं २०७२ साल असोज ३ गते जारी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले नेपाललाई सङ्घीयतामा प्रवेश गराएको हो । सोही बमोजिम सङ्घ, प्रदेश र स्थानीय तहको दुईपटक निर्वाचन भई अहिले मुलुक सङ्घीयताको अभ्यासमा छ । राज्यद्वारा उपलब्ध गराउनुपर्ने सेवासुविधा जनताको घरदैलोमै सरल र सहज रूपमा पु¥याउने तथा विपद्का बेलामा तत्कालै राहत र सहयोग उपलब्ध गराउने सन्दर्भमा सङ्घीयताको अभ्याससँगै सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वयले प्रभावकारी र सकारात्मक नतिजा प्रदान गर्दै आएको छ । यसैबीच, लोकतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै परिवर्तन र शान्तिकामी राजनीतिक दलका नेताहरूले देशको समृद्धिका निम्ति सबै शक्ति एकजुट हुनुपर्नेमा जोड दिएका छन् । लोकतन्त्रभन्दा राम्रो अर्को शासन व्यवस्था हुन नसक्ने भएकाले यसै कुरालाई हृदयङ्गम गरी सम्पूर्ण राजनीतिक शक्ति समृद्धितर्फ केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याइएको छ । विसं २०६२÷६३ को आन्दोलनपछि तत्कालीन राजाको प्रत्यक्ष र निरङ्कुश शासनको अन्त्य भएको दिनको सम्झनामा २०६५ सालदेखि वैशाख ११ गते लोकतन्त्र दिवस मनाउन थालिएको हो ।
विश्वविजेता कार्लोस सिंहदरबारमा : प्रधानमन्त्री ओलीले गरे स्वागत
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल खेलाडी रोबर्टो कार्लोसबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बुधबार भेटघाट भएको छ । विश्वविजेता कार्लोस नेपाल सुरपल लिग (एनएसएल) को तेस्रो सिजनको खेल हेर्न काठमाडौं आएका हुन् । सो अवसरमा प्रधानमन्त्री ओलीले खेलाडी कार्लोसलाई स्वागत गर्दै उनको नेपाल आगमनले यहाँका खेलाडी र युवाहरुलाई उत्साह मिल्ने बताए । प्रधानमन्त्री ओलीले नेपाल र ब्राजिलबीच राम्रो कूटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै दुवै देशको खेल क्षेत्रले एकार्कामा सिकाइ आदानप्रदान गर्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले खेलाडी कार्लोसलाई ‘माउन्टेन फ्ल्याइट’ र जङ्गल सफारी गर्ने योजनासहित पुनः नेपाल भ्रमणमा आउन आग्रह गरे । आफूलाई स्वागत गरिएकामा आभार व्यक्त गर्दै खेलाडी कार्लोसले नेपालका प्रधानमन्त्री, युवा र खेलाडीसँग भेट्न पाउँदा खुसी लागेको बताए ।