बजारभन्दा बढी लागत, कुल बजेटको ५० प्रतिशत कलाकारको पारिश्रमिक
काठमाडौं । अहिले चलचित्र निर्माण, छायाङ्कनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिबाट हुने गरेको छ । डिजिटल प्रविधि भित्रिएपछि चलचित्र निर्माण सहज, व्यवस्थित भएको छ । यसले प्रिन्ट लिएर चलचित्र भवन पुग्नुपर्ने प्रावधान हटाएर एउटै समयमा देशभर चलचित्र प्रदर्शन गर्न सक्ने स्थिति बनायो । पछिल्लो समय प्रविधिकै सहायताले नेपालमात्र नभई विश्वभर एकसाथ चलचित्र प्रदर्शन हुन थालेको छ । प्राविधिक रूपमा सहजता बढेसँगै पुराना चलचित्रकर्मीको उपस्थिति कम देखिएको छ । निर्देशक तुलसी घिमिरे, दयाराम दाहाल, दीपक श्रेष्ठ, नरेश पौड्याल, प्रदीप श्रेष्ठलगायत प्रसिद्ध निर्देशकले कामलाई निरन्तरता दिन सकेका छैनन् । डिजिटल प्रविधिमा चलचित्रको निर्माण सुरु भएपछि उनीहरूको काम सङ्ख्यात्मक हिसाबमा कम भएको पाइन्छ । गत वर्ष २०८० साल पुसमा दर्शकमाझ चलचित्र ‘पर्खी बसेँ तिमीलाई’ ल्याएका निर्देशक दीपक श्रेष्ठले केही समय विविध कारणले विश्राम भएको बताएका थिए । यद्यपि, उनले चलचित्र निर्देशनलाई निरन्तरता दिन सकेका छैनन् । ‘अहिले चलचित्र बनाउनभन्दा दर्शकसम्म पुर्याउन कठिनाइ भएको पाइन्छ,’ उनले भने । निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गरेको पछिल्लो चलचित्र ‘उपहार’ हो । उनले पछिल्लो समय केही नयाँ चलचित्रको काम गरिरहेको बताए । ‘अहिलेको प्रविधिअनुसार चलचित्र निर्माण गर्नुका साथै दर्शक सुहाउँदो प्रस्तुति चाहिन्छ । हामीले दशक आगाडिको शैलीमै काम गर्याैं भने अहिले दर्शकले बेवास्ता गर्नुहुन्छ । म अन्य चलचित्रकर्मीलाई पनि आफूलाई रूपान्तरण गरेर नयाँ सोचका साथ चलचित्रकर्ममा फर्किन आग्रह गर्छु,’ निर्देशक देउजाले भने । उनले विसं २०७९ मा ‘झिङ्गेदाउँ’ मार्फत निर्देशनमा पुनरागमन गरेका थिए । त्यसपछि उनी चलचित्रको कामलाई निरन्तरता दिने बताउँछन् । तर, उनका समकक्षी चलचित्रकर्मीको सक्रियता घटिरहेको छ । ‘अजम्बरी नाता’, ‘डर’, ‘दुई पल’लगायत चलचित्र निर्देशन गरेका निर्देशक प्रदीप श्रेष्ठले नयाँ चलचित्रको तयारी गरे तापनि त्यसलाई पूर्णता दिन सकेका छैनन् । ‘अहिले चलचित्रको लागत बढेको छ । बजारभन्दा बढी लागत गरेर चलचित्र निर्माण गर्न सहज छैन । सोही कारण पनि पुराना चलचित्रकर्मीले निनान्तरता दिन सहज नभएको हो,’ निर्देशक श्रेष्ठले भने, ‘अहिले कलाकारको पारिश्रमिक नै कुल बजेटको ५० प्रतिशतभन्दा बढी हुन्छ । मैले केही वर्षदेखि तयारी गरिरहेको छु, तर काम सुरु गर्न विविध कारणले ढिलाइ भइरहेको छ ।’ डिजिटल प्रविधिसँगै प्राप्त सहजतासँगै प्रचारप्रसारमा परिवर्तन भएको शैली, नयाँ पुस्ताका कलाकारले गर्ने अविश्वास, बढ्दो लागतलगायत समस्याले अहिले लगानी असुरक्षित हुने गरेको पुराना चलचित्रकर्मीहरूको निष्कर्ष थियो । यद्यपि, चलचित्र निर्माण गर्ने तयारी भने उनीहरूले छाडेका छैनन् ।
दीपेन्द्रसिंह ऐरीलाई अर्को लाभ, बन्ने भए ओमोडाको ब्रान्ड एम्बेस्डर
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी दीपेन्द्रसिंह ऐरी ओमोडाको ब्रान्ड एम्बेस्डर बन्ने भएका छन् । ऐरीलाई ओमोडाको ब्रान्ड एम्बेस्डर बनाउन लागिएको शारडा ग्रुपअन्तर्गतको एसपीजी अटोमोबाइल्सले जनाएको छ । एसपीजी अटोमोबाइल्स ओमोडा एन्ड जेइको ब्रान्डका लागि नेपालकाे आधिकारिक बिक्रेता रहेको छ । सोही दिन नै ऐरीलाई ओमोडा ई फाइभ हस्तान्तरण गरिने पनि कार्यक्रम रहेको छ । साथै उक्त कार पाएवापत लाग्ने सम्पूर्ण कर (करिब १५ लाख रुपैयाँ) पनि कम्पनीले बेहोर्ने जनाइएको छ । ९९ किलोवाट मोटर रहेको उक्त गाडीमा ६१ किलोवाट आवरको ब्याट्री रहेको छ । कम्पनीका अनुसार यसले ४३० किलोमिटरको रेन्ज दिन्छ । ऐरी हालै सम्पन्न भएको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोएल्सका कप्तान हुन् । उनको नेतृत्वमै सुदूरपश्चिम फाइनल पुगेको थियो । दीपेन्द्रले एनपीएलको नेपाली खेलाडीतर्फ ‘प्लेयर अफ दी सिरिज’ बन्दै ओमोडा ई ५ कार पुरस्कार प्राप्त गरेका हुन् । प्रतियोगिताभरि ऐरीले ९ खेलमा २२७ रन बनाउनुका साथै ९ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरेका थिए ।
न्यु इयर इभमा द क्लिफमा प्रकाश सपुतको लाइभ प्रस्तुति हुने
काठमाडौं । आगामी ३१ डिसेम्बरका दिन कुष्माको द क्लिफमा प्रकाश सपुतले सङ्गीतिक प्रस्तुति दिने भएका छन् । सो अवसरमा द क्लिफ रिसोर्टमा बस्न २० प्रतिशत छुटमा बुकिङ भइरहेको द क्लिफका अध्यक्ष राजु कार्कीले बताए । न्यु इयर इभ कार्यक्रममा लोकप्रिय गायक प्रकाश सपुतको प्रस्तुतिसँगै, फायर डान्स र लाइभ म्युजिकको मज्जा लिन पाइनेछ । नयाँ वर्षमा क्लिफमा जाने अतिथि र आसपासका स्थानीयलाई समेत लक्षित गर्दै उनीहरूको मनोरञ्जनका लागि सपुतलाई निम्त्याइएको हो । कार्यक्रम साँझ ६ बजे सुरू हुने क्लिफले जनाएको छ । सो कार्यक्रममा सहभागि हुनका लागि पहिल्यै अर्ली बर्ड टिकट लिँदा ३ सय रुपैयाँ तोकिएको छ । राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बाग्लुङ बलेवा जोड्ने गरि बनाइएको द क्लिफमा विश्वकै दोस्रो अग्लो बन्जी जम्प सञ्चालनमा छ । पछिल्लो समय एडभेञ्चर हबको रुपमा बिकास हुँदै गएको द क्लिफमा साहसिक गतिविधि खेल्नका लागि देश विदेशबाट साहसिक पर्यटनका पारखी आउने गरेका छन् । क्लिफले नयाँ वर्षको अवसरमा यसअघि नाइट बन्जीजम्प लगायतका कार्यक्रमहरु गरेको थियो ।