गोरखा ब्रुअरीलाई ‘व्यावसायिक सुरक्षा पुरस्कार सम्मान’
काठमाडौं । गोरखा ब्रुअरीले कार्यस्थल सुरक्षा र कर्मचारी कल्याणप्रति देखाएको उत्कृष्ट प्रतिबद्धताको कदर स्वरूप नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको श्रम तथा व्यावसायिक सुरक्षा विभागबाट ‘प्रान्त नं. ४ व्यावसायिक सुरक्षा पुरस्कार’ प्राप्त गरेको छ । उक्त सम्मान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले एक विशेष कार्यक्रममा प्रदान गरेका थिए । पुरस्कारमार्फत गोरखा ब्रुअरीले आफ्ना उत्पादन र सञ्चालन प्रक्रियामा उच्चतम स्तरको सुरक्षा मापदण्ड कायम गर्न गरेको निरन्तर प्रयासलाई मान्यता दिइएको हो । गोरखा ब्रुअरीका पीपल एण्ड कल्चर निर्देशक दिपेश मान श्रेष्ठले सुरक्षा कम्पनीको पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै भने, 'यो सम्मान हाम्रो सम्पूर्ण टिमको निरन्तर परिश्रमको प्रतिफल हो, जसले सुरक्षित, स्वस्थ र उत्पादक कार्य वातावरण सुनिश्चित गर्छ। शून्य–दुर्घटना संस्कृतिको लक्ष्य मात्र होइन, यो हाम्रो दैनिक कार्यशैली हो ।' गोरखा ब्रुअरीले विगतदेखि नै कार्यस्थल सुरक्षा संस्कृति, नियमित तालिम, निवारक उपायहरू तथा राष्ट्रिय श्रम सुरक्षा नियमावलीको दृढ पालना गर्दै आएको छ । यस सम्मानले नेपालकै ब्रुअरी उद्योगमा नयाँ सुरक्षा मानक स्थापित भएको कम्पनीको भनाइ छ ।
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
कर्णाली । कर्णाली प्रदेश सरकारले बुधबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा भदौ ४ गते प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । विसं २०८१ चैत १७ गते बसेको प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले भदौ ४ गते कर्णाली प्रदेशका सरकारी तथा सार्वजनिक सङ्घ संस्था सबैमा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता उत्तम गौतमले जानकारी दिए । दिवसको अवसरमा प्रदेश सरकारले आज बिहान प्रभातफेरि कार्यक्रम गर्नुको साथै बिहीबारसम्म विभिन्न कार्यक्रम गरेर स्थापना तथा सहिद दिवस उत्सवका रुपमा मनाउने उनले बताए ।
खतिवडा सेवा समाज र ग्रीनसिटी अस्पतालबीच स्वास्थ्य उपचारमा सहुलियत दिन समझदारी
काठमाडौं । खतिवडा सेवा समाज नुवाकोट र ग्रीनसिटी अस्पताल, काठमाडौंबीच स्वास्थ्य उपचारमा सहुलियत दिने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी अनुसार समाजका सदस्य र उनका परिवारका सदस्यहरूले ग्रीनसिटी अस्पतालमा विभिन्न स्वास्थ्य सेवामा छुट पाउनेछन् । यसले सदस्यहरूलाई गुणस्तरीय उपचार सहज र किफायती दरमा उपलब्ध हुने अपेक्षा गरिएको छ । समझदारी अनुसार खतिवडा सेवा समाजले आफ्ना सदस्यहरूलाई सदस्यता कार्ड उपलब्ध गराउनेछ र सोही कार्डका आधारमा अस्पतालका सेवामा विशेष सुविधा प्राप्त गर्न सकिनेछ । साथै, समाजले अस्पताललाई आफ्नो स्वास्थ्य साझेदार भनेर घोषणा गर्दै अस्पतालका कार्यक्रमहरूको प्रवर्द्धन गर्ने जिम्मेवारी लिनेछ । स्वास्थ्य शिविर सञ्चालनमा अस्पतालले प्राविधिक व्यवस्थापन गर्ने भने समाजले समग्र व्यवस्थापन गर्नेछ । यो सम्झौता भदौ १ गतेदेखि लागू भई दुई वर्षसम्म रहने व्यवस्था गरिएको छ । आवश्यक परेमा दुवै पक्षको सहमतिमा यसलाई थप अवधि बढाउन वा संशोधन गर्न सकिनेछ । समझदारीपत्रमा हस्ताक्षर गर्दै खतिवडा सेवा समाज नुवाकोटका अध्यक्ष विकास खत्रिवडाले आफ्ना सदस्यहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै गरिएको यो कदमले सदस्यहरूलाई ठूलो लाभ पुग्ने विश्वास व्यक्त गरे । त्यस्तै, ग्रीनसिटी अस्पताल प्रालिका अध्यक्ष लोक बहादुर टण्डनले आपसी सहकार्यले समाजका सदस्यलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज बनाउने बताए । समाज र अस्पताल दुवैले यस सम्झौतालाई सदस्यहरूको स्वास्थ्य र कल्याणका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन् ।