राजावादीको आन्दोलन भड्काउने ओलीको अभिव्यक्ति, सुरक्षा  निकायसँग भने : चक्रपथभित्र छिर्न नदिनू

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीको प्रदर्शनलाई रोक्न निर्देशन दिएका छन् । जेठ १५ गते हुने भनिएको राजावादीको प्रदर्शनसँग सम्बन्धित अभिव्यक्ति दिँदै ओलीले राजावादीलाई चक्रपथभित्र प्रवेश गर्न नदिन निर्देशन दिएका हुन् । बिहीबार चारैवटा सुरक्षा निकायका प्रमुखसँग सुरक्षा ब्रिफिङ लिने क्रममा प्रधानमन्त्रीले चक्रपथभित्र प्रवेश नदिन र सोही अनुसार सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । राजतन्त्रवादीहरूले राजतन्त्र र हिन्दूराज्य लगायतका मागहरू राखेर भोलि जेठ १५ गतेबाट अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका छन् । नेकपा एमालेले पनि सोही दिन गणतन्त्र उत्सव मनाउँदैछ ।  सो दिन काठमाडौंलाई एमालेको नियन्त्रणमा राख्न एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशनसमेत दिएका छन् । तर, यी दुवै कार्यक्रम कहाँ हुने भन्ने टुंगो लागेको छैन । दुवै समूहले सरकारका कुनै पनि निकायसँग कार्यक्रम आयोजनाका लगि ठाउँ माग गरेका छैनन् । ओलीले यसअघि दिएको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै मानव अधिकार आयोगले पनि चिन्ताव्यक्त गरेको थियो ।   

गोसाइँकुण्ड मेला सुरु, गङ्गा दशहराका लागि भक्तजनको ओइरो

रसुवा ।  पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन सुरू भएको छ । यही जेठ १३ गतेदेखि सुरू हुने गोसाइँकुण्डको विशेष मेलाका लागि भक्तजन आउन थालेका हुन् ।  मेला यही जेठ २४ गते एकादशीसम्म सञ्चालन हुने गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । यस वर्ष दशहरा पर्वमा पाँच हजार भक्तजनले गोसाइँकुण्डमा स्नान गर्ने अपेक्षा समितिले राखेको छ ।  जिल्लाको उच्च भागमा अवस्थित समुन्द्र सतहबाट चार हजार ३८० मिटर उचाइ अवस्थित कुण्ड जानका लागि काठमाडौंदेखि धुञ्चेसम्मको मोटर यात्रा गरेपछि पैदल यात्रा सुरू हुने र तिवारी बगर, खन्ति, देउराली, डिम्सा, चोलाङपाटी हुँदै  गोसाइँकुण्ड पुग्न सकिन्छ ।         गङ्गा दशहरा पर्वका लागि पतञ्जली योग समितिमार्फत आएका २५० भन्दा बढी भक्तजन आज बिहानै गोसाइँकुण्डतर्फ प्रस्थान गरिसकेको नेपाल प्रहरीले जनाएको छ ।  धार्मिक मान्यताअनुरूप जीवनमा एकपटक भए पनि पुग्नैपर्ने पवित्र तीर्थस्थल भएका कारण भक्तजन गोसाइँकुण्ड पुग्ने गरेका छन् ।  विशेष पर्व गङ्गादशहरामा पर्वमा १० दिन र जनैपूर्णिमा पर्वमा पाँच दिनगरी वर्षको १५ दिन विशेष मेला लाग्ने गर्दछ ।  बाह्रै महिना भक्तजन आवतजावत भने निरन्तरता दिँदै आएको छ ।  यात्रुहरूको बासस्थानका लागि ठाउँठाउँमा होटल सञ्चालनमा छन् ।  अनुपम प्राकृतिक छठाले गर्दा  कुण्डमा जान सहज भएको कृषि वैज्ञानिक डा ताराबहादुर घिमिरेले बताए ।

विद्यार्थी र सर्वसाधारणका लागि निःशुल्क आँखा शिविर, किसान साकोसको सह्रानीय काम

काठमाडौं । पाँच पटकसम्म अन्तर्राष्ट्रि स्तरको गुणस्तर (एक्सेस ब्राण्ड) प्राप्त गरी एसिया प्रसान्त क्षेत्रमा उत्कृष्ट पहिचान बनाउन सफल किसान साकोसको आयोजनामा दुई दिवशीय निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । संस्थाका केन्द्रीय कार्यालय रहेको गैंडाकोट नगरपालिका वडा नं.८ अन्तर्गत कालिका नमुना माविसँगको समन्वय र नेपाल नेत्रज्योति संघ, भरतपुर आँखा अस्पतालसँगको प्राविधिक सहजीकरणमा शिविर सञ्चालन गरिएको थियो । जेष्ठ ९ र १० गते सञ्चालित आँखा शिविरमा पहिलो दिन विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको आँखा परीक्षण र निःशुल्क चस्मा वितरण गरिएको थियो भने दोस्रो दिन साविक गैंडाकोट नगरपालिका क्षेत्रका आमनागरिकहरुको आँखा परीक्षण गरिएको थियो । विद्यालयस्तरमा संस्थाको उपस्थिति र बालबालिकाहरुको दृष्टि स्वस्थ राख्ने उद्देश्यले विद्यालयलाई लक्षित गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत सन्जय राज तिमिल्सीनाले बताए । ‘हामी समुदायका सबै क्षेत्रमा संस्थाको उपस्थिति प्रभावकारी बनाउन चाहन्छौं । हाम्रो प्राथमिकता हाम्रो समुदायको समग्र विकास हो । संस्थाको स्रोत र क्षमताले भ्याएसम्म आन्तरिक स्रोत एवम् सहकार्य मार्फत स्थानीय आवश्यकताका आधारमा यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै जानेछौं,’ तिमिल्सीनाले भने ।   विद्यालयको एकदेखि दश कक्षासम्म अध्ययनरत १ हजार ४०० विद्यार्थीको आँखा परीक्षण गर्दा ६३ जनाको आँखामा समस्या देखिएपछि ५१ जनालाई निःशुल्क चस्मा र औषधि उपलब्ध गराइएको थियो भने १२ जनालाई थप परीक्षणका लागि अस्पताल रिफर गरिएको छ । दोस्रो दिन ३५२ जना स्थानीय समुदायका व्यक्तिहरुको आँखा परीक्षणको क्रममा अधिकांशमा आँखा सुख्खा हुने, चिलाउने, पिरो हुने र दृष्टिमा समेत समस्या देखिएको थियो ।  परीक्षण गराइएका मध्ये १७ जनाको आँखामा मोतियाविन्दु देखिएकोले संस्थाले भरतपुर आँखा अस्पतालसँगको सहकार्यमा निःशुल्क शल्यक्रियाको व्यवस्था गर्ने बताइएको छ । त्यस्तै सामान्य समस्या रहेका व्यक्तिहरुलाई निःशुल्क औषधि उपलब्ध गराइएको थियो ।  संस्थाका अध्यक्ष भोजराज पौडेलको अध्यक्षतामा उद्घाटन भएको आँखा शिविरमा गैंडाकोट–८ का वडा अध्यक्ष प्रेम सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई शुभारम्भ गर्दै प्रमुख अतिथि सापकोटाले किसान साकोसले महत्वपूर्ण र आवश्यक कार्यक्रम गरेकोमा वडा कार्यालय सदैव साथमा रहने बताए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगा सापकोटाले सबै सरोबारवाला पक्षहरुलाई आफ्नो विद्यालय छनोट गरेकोमा धन्यवाद व्यक्त गरे ।   कार्यक्रममा विद्यालयका बालबालिकाहरुका साथै स्थानीय जेष्ठ नागरिक र गृहिणीहरुको उल्लेख्य सहभागिता रहेको थियो । समृद्ध सदस्य, दिगो साकोस परिकल्पना अनुरुप अगाडि बढेको किसान साकोसले, समुदाय आधारित एवं विद्यार्थी लक्षित कार्यक्रमहरु विभिन्न समयमा गर्दै आई रहेको छ । गैंडाकोट नगरपालिका वडा नं. ८ का ९८ प्रतिशत घरपरिवारबाट संस्थामा सदस्यता कायम रहेकोले पूर्ण घर सदस्य वडा समेत घोषणा गरेको जनाइएको छ । यस अगाडि यसै वडामा प्रतिपरिवार दुई बोट कुरिलोका बिरुवा वितरण गरिएको थियो भने टोलटोलमा फोहर संकलनका लागि डस्टबिनको व्यवस्था गरिएको छ ।  झण्डै चार अर्बको वित्तीय कारोबार गरिरहेको किसान साकाेसले हाल ८४ हजार सदस्य र ११ हजार बाल बचतकर्ता सहित ९५ हजार जनालाई प्रत्यक्ष सेवा दिइरहेको छ ।