काठमाडौं महानगर दोस्रोपटक मेयर कपमा विजेता, पेनाल्टीमा गोदावरी पराजित

काठमाडौं । काठमाडौं महानगरपालिका ‘दोस्रो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल’को विजेता भएको छ । फाइनल खेलमा आयोजक गोदावरी नगरपालिकालाई पेनाल्टीमा ८–७ गोलले पराजित गर्दै महानगरपालिका दोस्रो शृङ्खलाको विजेता भएको हो । जितसँगै महानगरपालिकाको टीमले नगद ५ लाख रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ । उपविजेता आयोजक गोदावरीलाई नगद ३ लाख रुपैयाँसहित ट्रफी प्रदान गरिएको छ ।   गएको वर्ष सम्पन्न पहिलो खेलमा पनि महानगरपालिका विजेता भएको थियो । यस वर्षको फाइनल खेलको निर्धारित समयमा दुवै पक्षबाट गोल हुन नसकेपछि दुवै टीमलाई ५/५ पेनाल्टी गोलको अवसर दिइएको थियो । यसमा दुवै टीमले सबै गोल प्रहार गरे । त्यसपछि दिइएको ३/३ पेनाल्टी गोलको अवसरमा महानगरपालिकाले ३ र गोदावरी नगरपालिकाले २ गोल गरेको थियो ।  यस्तै मध्यपुर थिमीलाई फेयर प्ले टिमको उपाधि दिइयो । महानगरपालिकाका कोच सन्तोष न्यौपानेलाई वेस्ट कोच उपाधि प्राप्त भयो । सरोज तामाङ्लाई वेस्ट डिफेन्डर, सुदीप गिरीलाई प्लेयर अफ द फाइनल, गोदावरी नगरपालिकाका समीर तामाङ्लाई इनर्जिङ् प्लेयर, अरुण लामालाई हाइएस्ट गोल स्कोरर, पासाङ् लामालाई प्लेयर अफ द टुर्नामेन्ट र विवेक सिलवाललाई वेस्ट गोल किपर उपाधि प्रदान गरिएको थियो ।  गोदावरी नगरपालिकाको चापागाउँ, ताहाखेल खेल मैदानमा हिजो (शुक्रबार) फाइनल खेल भएको थियो । खेलमा महानगरपालिका ‘समूह बी’बाट र गोदावरी ‘समूह सी’बाट फाइनलमा पुगेका थिए । महानगरपालिकाले पहिलो खेल चाँगुनारायण नगरपालिकासँग खेलेको थियो । यस खेलमा चाँगुनारायणलाई महानगरपालिकाले ५–० गोलले पराजित गरेको थियो । खेलमा राजकुमार पौडेल, विराज महर्जन, अखिलेश कार्की, सरोज तामाङ् र मनिष सेढाईँले महानगरपालिकाका लागि १÷१ गोल दिलाउनुभएको थियो । दोस्रो खेल मध्यपुर थिमीसँग खेलेको थियो । यस खेलमा सरोज तामाङ्ले गर्नुभएको १ गोलले महनगरपालिकालाई जिताएको थियो ।  महानगरपालिकाबाट प्रशिक्षक सन्तोष न्यौपाने र पूर्व राष्ट्रिय खेलाडी विराज महर्जनको कप्तानीमा खेलाडीहरु  प्रतिस्पर्धामा उत्रिएका छन् । खेलाडीहरुको व्यवस्थापन खेलकुद विज्ञ नविन चित्रकारले गरेका थिए । प्रतियोगितामा काठमाडौं जिल्लाबाट काठमाडौं महानगरपालिका, चन्द्रागिरी नगरपालिका, तारकेश्वर नगरपािलका, दक्षिणकाली नगरपालिका, कीर्तिपुर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका गरी ६ वटा स्थानीय तह प्रतिस्पर्धामा छन् । यस्तै ललितपुर जिल्लाबाट ललितपुर महानगरपालिका, आयोजक गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका, कोन्ज्योसोम गाउँपालिका र वागमती गाउँपालिकासहित ५ वटा स्थानीय तह छन् । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका, मध्यपुर थिमी नगरपालिकाले भाग लिएका छन् ।  

‘सगरमाथा संवाद दिगो हिमाली अर्थतन्त्र निर्माणको सशक्त माध्यम बन्न सक्छ’

नेपालले विश्व समुदायको ध्यानाकर्षण गर्न आयोजना गरेको आजदेखि तीन दिने सगरमाथा संवाद आज सुरु भएको छ । जलवायु परिवर्तनका प्रभावले सङ्कटमा परेका नेपालजस्ता हिमाली मुलुकको पहाडी अर्थतन्त्रलाई दीर्घकालीन स्थायित्व र समावेशी समृद्धितर्फ लैजान सगरमाथा संवाद सशक्त माध्यम बन्नसक्ने बताउँछन्, वन विज्ञान अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालयका प्रा डा राजेशकुमार राई । सगरमाथा संवादले दिगो हिमाली विकासको यात्रामा न्यायपूर्ण र समावेशी अर्थतन्त्रको जग बसाल्ने सम्भावना बोकेको उनको विश्वास छ । यसै सन्दर्भमा प्रस्तुत छ राईसँग गरेको कुराकानीको अंशः  जलवायु परिवर्तनका कारण नेपालजस्ता मुलुकका पहाडी अर्थतन्त्रमा कस्तो असर गरिरहेको छ ? जलवायु परिवर्तनले नेपालजस्ता हिमाली देशहरूको अर्थतन्त्रमा गहिरो असर पारिरहेको छ । यस्ता देशहरू प्रायः कृषि, पशुपालन, जलविद्युत र पर्यटनजस्ता प्राकृतिक स्रोतमा निर्भर हुने र जलवायु परिवर्तनमा संवेदनशील हुने भएकाले जलवायुजन्य सङ्कटहरू आर्थिक विकासमा बाधा बन्न पुगेका छन् । असामान्य वर्षा, खडेरी, हिमपात र बाढी–पहिरोजस्ता घटनाहरू बढ्दै गएका छन्, जसले खेती बाली नष्ट गर्नुका साथै ग्रामीण जनताको जीविकोपार्जनमा प्रतिकूल असर पुर्याएको छ । नेपालमा झण्डै ६० प्रतिशत जनसङ्ख्या कृषि पेसामा निर्भर रहेका अवस्थामा जलवायु परिवर्तनले उत्पादन घटाउने, बिउ नष्ट गर्ने र मल तथा सिँचाइ प्रणालीमा समस्याहरू निम्त्याउने गरेको छ । यस्तै पर्यटन उद्योग, जसले विदेशी मुद्रा आर्जनमा ठूलो योगदान दिन्छ । उच्च हिमाली क्षेत्रमा हिउँ पग्लनु, पदमार्गहरूमा क्षति पुग्नु र पर्यटकीय गन्तव्यहरू जोखिमपूर्ण बन्नुले प्रभावित भएको छ । यसैगरी जलविद्युत् उत्पादन पनि प्रभावित भइरहेको छ, किनकी नदीहरूको प्रवाहमा अस्थिरता आएको छ, जसले ऊर्जा आपूर्ति र औद्योगिक उत्पादनमा असर पारेको छ । यी सबै कारणले गर्दा जलवायु परिवर्तन हिमाली देशहरूको दीर्घकालीन आर्थिक स्थायित्व र विकासका लक्ष्यमा चुनौतीका रूपमा देखिएको छ ।  यी असरहरू न्यूनीकरणका लागि सगरमाथा संवादले कस्तो भूमिका खेल्न सक्छ ? सगरमाथा संवाद एक बहु सरोकारवाला मञ्च हो, जसले वातावरण, अर्थतन्त्र तथा अन्य सामाजिक–सांस्कृतिक क्षेत्रहरूमा मानव कल्याणमा प्रत्यक्ष असर पार्ने समयसापेक्ष महत्वपूर्ण विषयहरूमा छलफल गर्दछ । यस संवादमार्फत जलवायु परिवर्तनले कृषिमा पारेको असर, पर्यटन उद्योगमा आएको गिरावट र जलविद्युत् उत्पादनमा देखिएको चुनौतीजस्ता विषयहरूमा गहिरो छलफल हुनसक्छ । यसले विकसित राष्ट्रहरूलाई जलवायु वित्तीय सहयोग प्रदान गर्न ध्यानाकर्षण गर्नसक्छ । साथै, विभिन्न देशहरूबीच अनुभव आदानप्रदान, नवीनतम् प्रविधिको प्रयोग र वातावरणमैत्री नीतिहरू विकास गर्न सहयोग पुर्‍याउँछ । सगरमाथा संवादले दिगो आर्थिक विकासका लागि नीति निर्माताहरूलाई मार्गदर्शन दिन सक्छ । जसले जलवायु अनुकूलन रणनीति निर्माणमा टेवा पुर्याउँछ । यस मञ्चका माध्यमबाट हिमाली देशहरूबीच सहकार्य र साझा रणनीति विकास गर्न सकिन्छ, जसले दीर्घकालीन आर्थिक स्थायित्व सुनिश्चित गर्न मद्दत पुर्याउँछ । यसैले, सगरमाथा संवाद जलवायु सङ्कटमा परेका मुलुकहरूको आवाज बुलन्द गर्ने सशक्त उपकरण बन्नसक्ने अपेक्षा गरिएको छ । सगरमाथा संवादजस्ता पहलहरूले नेपालको पहाडी अर्थतन्त्रको दिगो विकासमा के–कस्तो भूमिका खेल्न सक्छन् ? सगरमाथा संवादजस्ता पहलहरूले हिमाली अर्थतन्त्रको सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्छ । यस मञ्चले हिमाली क्षेत्रका विशिष्ट समस्याहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरेर वातावरणीय र आर्थिक स्थायित्वका लागि सहयोग जुटाउन मद्दत पुर्‍याउँछ । यसले दिगो पर्यटन, कृषि, नवीकरणीय ऊर्जा र हरित उद्यमका अवसरहरूको प्रवर्द्धन गर्छ । साथै, जलवायु अनुकूलन र विपद् व्यवस्थापनका लागि वित्तीय र प्राविधिक सहयोग जुटाउने भूमिका निभाउँछ । यस मञ्चमार्फत हिमाली देशहरूबीच सहकार्य र साझा पहलहरूलाई सशक्त बनाउँदा स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन मद्दत मिल्छ । सगरमाथा संवादले जलवायु सङ्कटप्रति पहाडी समुदायहरूको आवाजलाई कसरी अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउन सक्छ ? सगरमाथा संवादमा विभिन्न देशका सरोकारवालाहरू र विशेषज्ञहरूको सहभागी हुने हुँदा हिमाली देशहरूको विशिष्ट समस्याहरू जस्तै जलवायु परिवर्तन, कृषि, पर्यटन र जलश्रोतको चुनौतीलाई अन्तर्राष्ट्रियस्तरमा प्रस्तुत गर्ने अवसर प्रदान गर्छ । संवादले हिमाली जनताका अनुभव र आवश्यकता सम्बोधन गर्न विश्वको ध्यानाकर्षित गर्दछ, जसले नीति निर्माताहरू र दातृ निकायहरूलाई हिमाली क्षेत्रका लागि विशेष रणनीति र सहायता प्रदान गर्न प्रेरित गर्दछ । यस मञ्चमा सहभागी विविध सरोकारवाला र विशेषज्ञहरूले हिमाली क्षेत्रका आवाजलाई प्रभावकारी ढङ्गले साझा बुझाइ गरी अन्तर्राष्ट्रिय रूपमा पुर्याउन सहयोग पुर्याउँछन् । नेपालले सगरमाथा संवादमार्फत पहाडी अर्थतन्त्रलाई केन्द्रमा राखी के–कस्ता नीति सन्देश प्रवाह गर्न सकिन्छ ? सगरमाथा संवादमार्फत हिमाल जलस्रोत, जैविक विविधता र वातावरणीय सन्तुलनका लागि अनिवार्य रहेको कुरालाई उजागर गर्न सकिन्छ । जलवायु परिवर्तनले हिमाली समुदायको कृषि, पर्यटन र जीविकोपार्जनमा पारिरहेको असरलाई जोड दिँदै नेपालले अन्तर्राष्ट्रिय सहयोग र जलवायु वित्तको औचित्यतालाई सशक्त रूपमा प्रस्तुत गर्न सक्छ । दिगो पर्यटन, हरित ऊर्जामा लगानी, र हिमाली पूर्वाधार विकासका अवसरहरू प्रस्तुत गर्न सकिन्छ । साथै, संवाद हिमाली क्षेत्रका आवाजलाई विश्व नीति निर्माणमा समेट्नुपर्ने आवश्यकता उठाउने अवसर हो र हिमाली राष्ट्रबीच सहकार्यमार्फत दीर्घकालीन आर्थिक समृद्धिमा सहयोग पुर्याउँछ । सगरमाथा संवादमा प्रस्तुत गरिएको ‘न्यायपूर्ण आर्थिक वृद्धि’ अवधारणाले पहाडी अर्थतन्त्रमा जलवायु परिवर्तनले पारेको असर न्यूनीकरणमा कसरी काम गर्छ ? जलवायु परिवर्तनले मूख्यतः हिमाली क्षेत्रमा प्राथमिक अर्थतन्त्रका क्षेत्रहरूमा प्रभाव पार्दछ, जसमा विपन्न र सिमान्तकृत वर्गहरू निर्भर रहने गर्दछन्, जसको अनुकूलन क्षमता कमजोर हुने गर्दछ । समावेशी र न्यायपूर्ण आर्थिक वृद्धिको अवधारणाले विपन्न र सीमान्तकृत समुदायहरूलाई आर्थिक गतिविधिमा सहभागी गराई उनीहरूको जलवायु जोखिम सहने क्षमता बढाउँछ । दिगो कृषि, वातावरणमैत्री पर्यटन र नवीकरणीय ऊर्जामा आधारित रोजगारीले नाफामुखी मात्र नभई प्रकृति मैत्री सन्तुलित विकासलाई सम्भव बनाउँछ । यसले स्रोतहरूको न्यायसंगत उपयोग र वातावरणीय संरक्षणलाई प्रवर्द्धन गर्छ । साथै, निर्णय प्रक्रियामा सबैको आवाज सुनिश्चित गर्दा नीति प्रभावकारी हुन्छन्, जसले हिमाली क्षेत्रको दीर्घकालीन जलवायु उत्थानशीलता र आर्थिक स्थायित्वमा योगदान पुर्याउँछ । सगरमाथा संवादले हिमालय क्षेत्रका साझा जलवायु र आर्थिक चुनौतीहरूको समाधानका लागि क्षेत्रीय सहकार्यमा कस्तो भूमिका खेल्न सक्छ ? सगरमाथा संवादले हिमालय क्षेत्रका देशहरूलाई एकै स्थानमा ल्याई अनुभव, ज्ञान र समाधानहरूको आदानप्रदान गर्न अवसर दिन्छ । संवादले क्षेत्रीय नीति समन्वय र साझेदारी प्रवर्द्धन गर्दै विश्वास निर्माणमा सहयोग पुर्‍याउँछ । यसले दीर्घकालीन वातावरणीय संरक्षण र आर्थिक समृद्धिका लागि आवश्यक आधार तयार पार्न सहयोग पुर्याउने छ । दिगो पहाडी अर्थतन्त्र निर्माणका लागि मुख्य आधारभूत क्षेत्रहरू कुन–कुन हुन् रु जलवायु परिवर्तनले यी क्षेत्रलाई पारेका असर के हुन् ? दिगो हिमाली अर्थतन्त्रका आधारभूत क्षेत्रहरूमा कृषि, पशुपालन, पर्यटन, वन व्यवस्थापन, र जलविद्युत् उत्पादन पर्दछन्, जुन सबै जलवायु परिवर्तनबाट प्रत्यक्ष प्रभावित भइरहेका छन् । अनियमित वर्षा, खडेरी र असिना पातले अन्न उत्पादन घटाइरहेको छ भने खर्कहरू सुखा हुँदा पशुपालन सङ्कटमा परेको छ । हिमाली पर्यटन मार्गहरूमा हिउँ पग्लनु, पहिरो आउनु र मार्गहरू क्षति हुनु जस्ता समस्याले पर्यटक आगमन घटाइरहेको छ भने सुरक्षा चुनौती पनि थपिएको छ । वन क्षेत्रमा डढेलो बढेको छ र जैविक विविधता संकटमा परेको छ । त्यस्तै, हिमनदीको पग्लनुले जलविद्युत् प्रवाह अस्थिर बनाउँदै उत्पादनमा चुनौती सिर्जना गरेको छ । यी सबै असरहरूले हिमाली जनजीवन र आर्थिक स्थायित्वमा गम्भीर प्रभाव पारेका छन् । सगरमाथा संवादलाई स्थानीय समुदाय, विशेषगरी महिला, जनजाति र युवा समुदायहरूको आर्थिक सशक्तीकरणसँग कसरी जोड्न सकिन्छ ? सगरमाथा संवादले उनीहरूका आवाज, अनुभव र नव प्रवर्तनलाई अन्तर्राष्ट्रियस्तरमा प्रस्तुत गर्ने अवसर प्रदान गर्छ, जसले नीति निर्माणमा समावेशी दृष्टिकोण ल्याउन सहयोग पुर्‍याउँछ । युवालाई हरित उद्यमशीलता, नवीकरणीय ऊर्जा र प्रविधिमा सशक्त पार्न तथा महिलाहरूलाई कृषि, पर्यटन र परम्परागत हस्तकला क्षेत्रमा आत्मनिर्भर बनाउने कार्यक्रमहरू संवादमार्फत प्रवर्द्धन गर्न सकिन्छ । त्यस्तै, आदिवासी जनजातिका परम्परागत ज्ञान र सीपलाई संरक्षण गरी आर्थिक क्रियाकलापमा रूपान्तरण गर्न सकिन्छ । सगरमाथा संवादले यी समूहहरूलाई सशक्त बनाउँदै हिमाली अर्थतन्त्रलाई समावेशी, न्यायपूर्ण र दिगो बनाउन सक्ने सम्भावना राख्दछ । सगरमाथा संवादले पहाडी क्षेत्रमा वैकल्पिक ऊर्जा, जल व्यवस्थापन र कृषि नव प्रवर्तनजस्ता क्षेत्रमा कसरी नीति संवाद अगाडि बढाएको छ ? सगरमाथा संवादमा विभिन्न १२ विधामा नीति निर्माता, अनुसन्धानकर्ता, विकास साझेदार, स्थानीय समुदायहरूसँग छलफल गरिने छन् । यसमा नवीकरणीय ऊर्जाहरू, जलस्रोतको दिगो उपयोग र जलवायु उत्थानशील कृषि प्रवर्द्धन गर्न आवश्यक रणनीतिहरूमा छलफल हुनेछ । परम्परागत ज्ञानमा आधारित नव प्रवर्तनलाई प्रवर्द्धन गर्दै खाद्य सुरक्षा र ग्रामीण अर्थतन्त्र मजबुत पार्ने नीतिहरूमा गहन रूपमा छलफल गरिनेछन् । यसरी सगरमाथा संवादले दीर्घकालीन दिगो विकासका लागि नीतिगत बहसलाई गहिरो बनाउँदै लगेको छ । के सगरमाथा संवाद जस्ता पहलहरूले अन्तर्राष्ट्रिय जलवायु वित्त नेपालका पहाडी क्षेत्रमा लक्षित गर्न प्रभावकारी भूमिका खेल्न सक्छन् ? सगरमाथा संवादजस्ता पहलहरूले हिमाली क्षेत्रमा जलवायु वित्त आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छन् । यस संवादमार्फत हिमाली क्षेत्रका जलवायु जोखिम, जैविक विविधता संरक्षणको आवश्यकता र स्थानीय समुदायको दिगो जीवनयापनको चुनौतीलाई विश्व सामु प्रभावकारी रूपमा प्रस्तुत गर्न सकिन्छ । यसले विकसित राष्ट्रहरू, अन्तर्राष्ट्रिय दातृ निकायहरू र वातावरणीय संस्थाहरूलाई जलवायु अनुकूलन, हरित पूर्वाधार, नवीकरणीय ऊर्जा र दिगो कृषि जस्ता क्षेत्रमा लगानी गर्न उप्रेरित गर्छ । साथै, सगरमाथा संवादले नीति निर्माता, विज्ञ र सरोकारवालाबीच समन्वय गरी वित्तीय स्रोत परिचालनका स्पष्ट कार्यदिशा तय गर्न सहयोग पुर्‍याउँछ, जसले हिमाली अर्थतन्त्रको सुदृढीकरणमा योगदान पुर्‍याउँछ । सगरमाथा संवादका माध्यमबाट दिगो पहाडी अर्थतन्त्र निर्माणको लागि दीर्घकालीन कार्यदिशा तय हुन्छ भन्नेमा कतिको विश्वस्त हुनुहुन्छ नि ? सगरमाथा संवादले अन्तर्राष्ट्रिय, क्षेत्रीय र स्थानीय तहका सरोकारवाला, विज्ञ, नीति निर्माता र समुदाय प्रतिनिधिहरूलाई एउटै छानामुनि ल्याएर गहिरो बहस र विचार आदानप्रदानको अवसर प्रदान गर्ने हुँदा यसले हिमाली क्षेत्रका विशिष्ट आवश्यकता र चुनौतीहरूलाई केन्द्रमा राख्दै दिगो विकासका सम्भावनाहरू पहिचान गर्न सुघाउँछ । साथै, यो वैज्ञानिक अनुसन्धान, परम्परागत ज्ञान र नवीन उपायहरूको समायोजनमार्फत व्यावहारिक र प्रभावकारी रणनीति निर्माणमा सहयोग पुर्याउन सक्छ । त्यसैले, सगरमाथा संवाद दीर्घकालीन दिगो हिमाली अर्थतन्त्र निर्माणतर्फ एक सशक्त माध्यम बन्न सक्छ । रासस

स्टारडमसँगै स्टार्टअप, व्यवसायमा जम्दै सेलिब्रेटी

क्यामेराको फ्ल्यास, सिने पर्दाको झिल्को र स्टेजको तालीभन्दा पर सेलिब्रेटीहरूको जीवनमा अर्को संसार छ- साइड व्यवसाय । जुन उनीहरुको आम्दानीको मुख्य स्रोतमात्र होइन पहिचानको दोस्रो आयाम, सुरक्षित भविष्य र आत्मनिर्भरताको प्रतिबिम्ब पनि हो । विगतमा हलिउड र बलिउडका कलाकार तथा सेलिब्रेटीहरु व्यवसायमा आबद्ध भएका कथाहरू सुन्ने तपाईं हामीहरू अब नेपालकै सेलिब्रेटीहरु पनि व्यवसायमै आबद्ध भए भन्ने खबर सुनिरहेका छौं । जसरी सेलिब्रेटीहरुले आफ्नो कलामार्फत कौशलता देखाए, त्यसैगरी व्यवसायमा पनि जमिरहेका छन्, चम्किरहेका छन् ।  नेपाली अर्थतन्त्रको सानो बजारमा रहेको सीमित अवसर र सङ्कुचित पारिश्रमिक प्रणालीमा सुख सयलको जीवन जिउन कठिन नै छ । यही यथार्थलाई आत्मसात गर्दै धेरै सेलिब्रेटीहरु व्यवसायमा आबद्ध भएका छन् । कतिपय घरजग्गा कारोबार, कतिपय कृषि, शिक्षा, कफी सपदेखि इलेक्ट्रोनिक्सदेखि रेष्टुरेन्टसम्मकका व्यवसायमा सक्रिय बनेका छन् । आज हामीले व्यवसायमा आबद्ध भएका कलाकारको विषयमा यो सामग्री तयार गरेका छौं ।  कृषिमा सरोज  पुर्ख्यौली व्यवसायलाई आधुनिक रुप दिएर व्यवसाय गरिरहेका नेपाली सेलिब्रेटी हुन् सरोज खनाल । ‘भस्मासुरको नली हाड’ नामक चलचित्रबाट सन् १९८७  बाट नेपाली सिनेमामा प्रवेश गरेका खनालले हाल सम्म छ दर्जन नेपाली सिनेमामा अभिनय गरेका छन् ।                                                                                                                                                         उनी नेपाली चलचित्रको नायक मात्र नभएर कृषि प्रधान देशमा कृषक नायक भन्ने उद्देश्यका साथ कृषिमा लागेका छन् । चितवनको रत्ननगरमा रहेको उनको पारिवारिक व्यवसाय ‘खनाल पोल्टि’ मा अहिले उनी आबद्ध छन् । केही समय अमेरिकामा बस्दा त्यहाँको कृषि देखेपछि प्रभावित भएर नेपालमा पनि कृषि सुरु गरेको धारणा उनको छ । त्यस फार्मबाट उनले उन्नत जातको कुखुरा, कुखुराको दाना र मल उत्पादन गर्ने गरेका छन् ।  क्रिकेटसँगै कफी व्यवसायमा रोहित उसो त क्रिकेटर रोहित कुमार पौडेललाई कफी खासै मन पर्दैन । तर, उनले कफी पारखीका लागि कफी सप सञ्चालनमा ल्याएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका क्याप्टेन रोहितले एक साताअघि मात्र बुद्धनगरमा आफ्नो जर्सीको १७ नम्बरबाट १७ बिन्स क्याफे सञ्चालनमा ल्याएका छन् । खेलजस्तै व्यवसायमा पनि उनी रणनीतिक सोचका साथ अघि बढेका छन् ।  स्वप्निल शर्मा गायनसँगै व्यवसायमा  स्वप्निल शर्मा ‘दि स्याडाेज ब्यान्ड नेपाल’का महत्त्वपूर्ण सदस्य हुन् । सन् १९९७ बाट साथीहरूसँग मिलेर रक ब्यान्डमा संलग्न भई ‘सुन हाम्रो सानो आवाज’ नामको एल्बममार्फत गायन यात्रा सुरु गरि चर्चित बनेका हुन् ।  उनी अहिले गायनसँगै व्यवसायमा पनि आबद्ध छन् । उनको पर्पल हाज रक बार, एडुक्वेस्ट नेपाल नामक शिक्षा परामर्श कम्पनी, फज स्टुडियो नेपाल, संगीत पाठशाला, फुच्चे रेस्टुरेन्ट सञ्चालन गरिरहेका छन् । पर्पल हाज रक बार ठमेलमा छ भने एडु-क्वेस्ट नेपाल कमलादीमा रहेको छ । यस कम्पनीमार्फत विदेश अध्ययनको परामर्श, भिसा आवेदन सहायता, करिअर काउन्सिलिङ, लगायत सेवा दिइन्छ ।  रेष्टुरेण्ट व्यवसायमा पुजा  पूजा शर्मा नेपाली कलाकारिता जगतमा चर्चित नायिका तथा निर्माता हुन् । सन् २०१२ को ‘थ्रि लभर’ चलचित्रबाट सिनेमामा डेब्यू गरेकी उनी ‘प्रेम गीत’ बाट चर्चामा आएकी हुन् । उनले हाल सम्म डेढ दर्जन चलचित्रमा काम गरिसकेकी छन् । उनी अहिले व्यवसायमा पनि व्यस्त छिन् । उनको ललितपुरको झम्सिखेलमा ‘ट्याग स्पोर्ट्स एण्ड लाउन्ज बार’ सञ्चालन गरिरहेकी छन् । उनले रेष्टुरेण्टबाट कमाएको पैसाले चलचित्र निर्माणमा खर्च गर्ने बताउँदै आएकी छन् ।  थिएटर र रेष्टुरेण्टमा दयाहाङको लगानी  नेपाली चलचित्र क्षेत्रमा सबैभन्दा व्यस्त नायक हुन् दयाहाङ राई । लामो समयसम्म रङ्गमञ्चमा नाटक गरेर पछि चलचित्रमा प्रवेश गरेका उनले दर्जनौं चलचित्रमा अभिनय गरिसकेका छन् । सन् २००६ मा ‘अनागरिक’ चलचित्रबाट डेब्यु गरेका उनी ‘लुट’ चलचित्रबाट चर्चामा आएका हुन् । उनले अभिनयसँगै रेष्टुरेण्टमा पनि लगानी गरेका छन् । ‘मण्डला थिएटर’ मा पनि उनकाे लगानी रहेकाे छ । लेञ्चा खिम रेष्टुरेण्टमा बङ्गुरको मासुको स्पेशल परिकार पाइने गरेको छ भने यस रेस्टुरेन्ट मा प्रायः कलाकारको जमघट हुने गरेको छ । उनले जीवनशैली सहज बनाउन र साथीहरूको जमघट स्थल पनि आवश्यक पर्ने भएकोले रेष्टुरेण्ट व्यवसाय थालेको बताउँदै आएका छन् ।  दिपक-दीपा र वर्षा-संजोग जोडी पनि व्यवसायमा  पछिल्लो समय दिपक-दीपा र वर्षा-संजोगको जोडी पनि व्यवसायमा सक्रिय छ । कलाकारितामा जोडी बनाएका दीपकराज गिरी र वर्षा राउत पनि व्यवसायमा छन् । कोरोना भाइरस (कोभिड -१९) को कारण व्यापार ठप्प हुँदै गर्दा वर्षा-संजोग जोडीले नयाँ बानेश्वरमा ‘चिया अड्डा’ नामको चिया पसल सुरु गरेका थिए । अहिले सो पसलका विभिन्न ठाउँमा शाखाहरू छन् । उनीहरुको ‘गेजु’ चाइनिज रेष्टुरेण्टमा समेत लगानी छ । संजोग सेयर बजारका लगानीकर्ता समेत हुन् ।  चिया अड्डामा दीपकराज गिरी र दीपाश्री निरौलाको समेत लगानी छ । हेर्दा चिया व्यापार सामान्य देखिन्छ तर नेपालीमा चिया पिउने संस्कृति रहेकाले यो व्यापार थालेको उनीहरुले बताउँदै आएका छन् । हिट फिल्म ‘छक्का पञ्जा’ सिरिजका अभिनेता तथा निर्माता दीपकराज गिरी र अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको लगानीमा सिनेमा हल समेत सञ्चालनमा छन् ।  फुटबलसँगै चियामा किरण  राष्ट्रिय फुटबल टोलीका प्रमुख गोलकिपर किरण चेम्जोङ नेपालमा मात्र नभएर विदेशमा समेत प्रख्यात रहेका छन् । उनले राष्ट्रिय टिममा सन् २००८ मा स्थान बनाएका थिए भने हाल उनी नेपाली राष्ट्रिय टिमबाट सबैभन्दा धेरै १०४ खेल खेल्ने खेलाडी हुन् । उनको उपस्थितिमा नेपालले पहिलो पटक साफ चेन्पेनसिप फाइनल (२०२१), साफ यू-२३ (२०१६) विजेता लगायत थुर्पै उपलब्धि नेपालले हासिल गरेको छ । किरण फुटबलको मात्र नभएर व्यवसायको पनि खेलाडी हुन् । उनी बानेश्वरमा रहेकको चिया टाइम्सको सञ्चालक हुन् । चियाका पारखीहरुको यहाँ भीड लाग्ने गरेकाे छ ।  शिल्पा मास्केको कोरियन रेस्टुरेन्ट शिल्पा मास्के नेपाली चलचित्रमा मात्र नभएर हलिउडमा समेत चर्चित छिन् । उनको चलचित्र यात्रा ‘दि ब्रेकअप’ बाट सन् २०१९ बाट सुरु भएको थियो । हालसम्म उनले एक दर्जन चलचित्रमा अभिनय गरिसकेकी छन् । उनले कुपन्डोल हाइट्समा भएको डोक्डो साराङ रेस्टुराँ सञ्चालन गर्दै आएकी छन् । रेस्टुरेन्ट व्यवसायको बाहेक छोटा फिल्म, व्यावसायिक विज्ञापनमा व्यस्त रहने मास्केले आफ्नै रुचीका कारण अन्य व्यवसायमा लागेको बताउँदै आएकी छन् ।  हिमालय जावामा श्वेता खड्का  नेपाली चलचित्रको अभिनेत्री श्वेता खड्का ‘कान्छी’ चलचित्रको निर्माता पनि हुन् । ‘कहाँ भेटिएला’ चलचित्रबाट सन् २००८ मा नेपाली सिनेमामा प्रवेश गरेकी उनले अभिनय गरेका चलचित्र पनि हिट भएका छन् । उनी अहिले चलचित्रबाट टाढिएर व्यवसाय क्षेत्रमा जमेकी छन् । उनले लामो समयदेखि विभिन्न ठाउँमा हिमालय जावा ब्राण्डको कफी सप तथा क्याफे र रेस्टुरेन्ट सञ्चालन गर्दै आइरहेकी छन् । हिमालयन जावामा कफी, खाना, प्रख्यात छ भने बारिस्टा र बेकरीको प्रशिक्षणसँगै उपकरण बिक्री, फ्रेन्चाइज अवसर, मोबाइल एपमार्फत अर्डरको समेत सुविधा दिँदै आइरहेकाे छ । साथै उनको ‘अल्टिमोडिल’ भन्ने अनलाइन व्यवसाय, ‘ट्रिकी एण्ड पिंक्सी’ भन्ने एक ट्रेनिङ सेन्टर, इन्टिरियल डिजाइनिङको व्यवसाय पनि छ ।  केदार र जितु होटल व्यवसायमा  केदारप्रसाद घिमिरे (माग्ने) र जितु नेपाल हाँस्य व्यङ्ग्य क्षेत्रमा चर्चित कलाकारको छवि बनाएका कलाकार हुन् । यी दुवै जनाले लेखन, निर्देशक तथा निर्माताको काम पनि गर्दै आएका छन् । घिमिरे टेलिसिरियल मेरी बास्सैबाट र नेपाल जीरे खुर्सानीबाट चर्चामा आएका हुन् ।  उनीहरू छक्का पञ्जा चलचित्रमा पनि सँगै थिए । उनीहरू दुवै जना रङ्गमञ्चसँगै होटल व्यवसायमा पनि जमेका छन् । उनीहरुको काठमाडौंको चेन क्याफे तथा होटल ‘ए वान’मा लगानी रहेको छ । ए वानले राम्रो आम्दानी गरिरहेको उनीहरुको धारणा छ ।  नेपालमा २०७२ मा विनाशकारी भूकम्प आएपछि व्यवसाय आवश्यक छ भन्ने महसुस गरेर होटल सञ्चालन गरेको उनीहरुको धारणा छ ।  सलोन बस्नेतको बार बाल कलाकारको रुपमा सन् १९९९ मा ‘नेपाली बाबु’ चलचित्रबाट डेब्यु गरेका सलोन बस्नेत अहिलेका चर्चित नायकका रुपमा चिनिन्छन् । उनले तीन दर्जनभन्दा बढी चलचित्रमा काम गरिसकेका छन् । अभिनेता बस्नेतको ललितपुरको पुल्चोकमा ‘बैठक लाउन्ज बार’ सञ्चालन गर्दै आएका छन् । उनले रेष्टुरेण्ट एण्ड बारबाट राम्रै आम्दानी भइरहेको प्रतिक्रिया दिँदै आएका छन् । उनको बुबा र काका पनि चलचित्र क्षेत्रमै सक्रिय छन् ।  पर्यटन व्यवसायमा रेजिना  आफ्नो मान्छे चलचित्रबाट नेपाली चलचित्रमा प्रवेश गरेकी नायिका रेजिना उप्रेती पनि चर्चित अभिनेत्रीकै रुपमा परिचित छन् । उनले करिब पाँच दर्जन चलचित्रमा अभिनय गरेकी छन् । रेजिनाको पारिवारिक व्यवसाय नै ट्राभल एण्ड टुर हो । उनको एजेन्सीले युरोप, अमेरिका लगायतका देशमा ट्राभल तथा टुरको व्यवस्थापन गर्दै आएको छ । उनी पनि अहिले सोही व्यवसायमा सक्रिय छिन् । उनले पनि चलचित्रमा अभिनय गरेर मात्र कलाकारले जीविकोपार्जन गर्न नसकिने भएकोले साइड व्यवसायका रुपमा पर्यटन रोजेको बताउँदै आएकी छन् ।  करिश्मा मानन्धरको इलेक्ट्रोनिक्स व्यापार नेपाली फिल्म क्षेत्रमा सदाबहार अभिनेत्रीको परिचय निर्माण गरेकी करिश्मा मानन्धर पनि व्यवसायमा आवद्द छिन् । उनले इलेक्ट्रोनिक्स सामानको व्यापार गर्दै आएकी छन् । उनले ‘रिसिक ट्रेडिङ कन्सर्न’ कम्पनीमार्फत व्यापार गर्दै आएकी छन् । यस कम्पनीले इन्टेक्स ब्रान्डका इलेक्ट्रोनिक्स सामानको बिक्री गर्छ । यो कम्पनी बोस ब्राण्डका होम सप्लायर्स, इन्टेरियर र भवन निमार्णका सामग्रीको आधिकारिक वितरक पनि हो । सन् १९८८ मा सन्तान चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी उनी अहिले पनि सक्रिय छिन् । उनले दर्जनौं चलचित्रमा अभिनय गरेकी छन् ।  स्वास्थ्य र घरजग्गा कारोबारमा खुस्बु नेपाली चलचित्रमा परिचित अभिनेत्री तथा गायिका हुन् खुस्बु खड्का । सन् २०१२ मा चलचित्रमा अभिनय गरेर यो क्षेत्रमा प्रवेश गरेकी उनले आधा दर्जन चलचित्रमा अभिनय गरिसकेकी छन् । अहिले उनको ‘रियलस्टेट’ को व्यवसाय छ, साथै उनी स्वास्थ्य सामग्रीको समेत व्यापार गर्दै आएकी छन् । उनले विदेशबाट स्वास्थ्य सामग्री आयात गरेर नेपालमा बिक्री गर्ने गरेकी छन् ।  रेष्टुरेण्टमा नम्रताको लगानी मोडलिङ, चलचित्रमा अभिनय तथा निर्माताको रुपमा पनि राम्रो परिचय बनाएकी नम्रता श्रेष्ठ पनि अहिले व्यवसायमा व्यस्त छिन् । उनले सन् २००८ बाट नेपाली चलचित्र सानो संसारमा अभिनय गरेर रङ्गमञ्चमा प्रवेश गरेकी थिइन् । उनले दर्जनौं चलचित्रमा अभिनय गरिसकेकी छन् । थुप्रै हिट फिल्ममा अभिनय गरेकी नम्रताको काठमाडौंको ज्ञानेश्वरमा एटिक रेस्टुरेन्ट एण्ड बार सञ्चालनमा छ । साथै यो रेस्टुरेन्टको लाजिम्पाट र ठमेलमा पनि शाखा रहेको छ ।  हँसाउने ठाउँमा केकीको लगानी  अभिनेत्री केकी अधिकारी पनि कलाकारिताको अलावा टेलिभिजन कार्यक्रम निर्माणमा व्यस्त छिन् । बहुचर्चित टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’को निर्माताका रुपमा केकी सक्रिय छिन् । पछिल्लो समय दीपक श्रेष्ठको निर्देशन रहेको फिल्म ‘घिन्ताङ’को अभिनय सकेकी उनी चलचित्र निर्माताको रूपमा पनि परिचित छिन् । केकीले ‘कमेडी च्याम्पियन’नामक हँसाउने चर्चित टेलिभिजन रियालिटी शोमा निर्माताको रुपमा कार्यरत छिन् ।  घरजग्गा कारोबारमा भावना  सन् २०१२ बाट ‘मस्ती’ चलचित्रमार्फत कला क्षेत्रमा सक्रिय बनेकी भावना गुरुङ पनि व्यवसायमा सक्रिय छिन् । विभिन्न चलचित्रमा राम्रो पफर्मेन्स गरेर चर्चा पाएकी उनी अहिले घरजग्गाको व्यवसायमा आबद्ध छिन् । उनले जीवनलाई सहज रुपमा अगाडि बढाउनुका लागि व्यवसाय गरेको बताउँदै आएकी छन् ।  वर्षा पनि व्यवसायमा  नेपाली चलचित्रमा परिचित नाम हो वर्षा सिवाकोटी । सन् २०१४ ‘नाई नभन्नु ल २’ चलचित्रबाट सिनेमा क्षेत्रमा प्रवेश गरेकी उनी त्यसपछि चर्चामा आएकी थिइन् । उनी मोडल पनि हुन् । वर्षा सिवाकोटीको नेपाल मेडिसिटि हस्पिटल अन्तर्गत स्किन सिटी नामको क्लिनिक छ । सो क्लिनिकको उनी प्रमुख कार्यकारी अधिकृत हुन् । यो क्लिनिकले छाला, कपाल र नङ्ग सम्बन्धी समस्याको उपचार गर्छ । सिवाकोटीको नेतृत्वमा स्किन सिटीले अन्य ठाउँमा पनि सेवा विस्तार गर्ने तयारी गरिरहेको छ ।  रेष्टुरेण्ट र बुटिक व्यवसायमा पवित्रा  चर्चित कोरियोग्राफरका रुपमा परिचित पवित्रा आचार्यले पनि अहिले व्यवसायमा व्यस्त छिन् । अभिनयलाई मुख्य पेशाका रुपमा अगाडि बढाइरहेकी उनले मोडलिङ, नित्याङ्गना, कोरियोग्राफीमा समेत राम्रो छाप बसालेकी छन् । उनले आधा दर्जन चलचित्रमा आफ्नो कला प्रस्तुत गरिसकेकी छन् ।  केही समय यता उनी नित्य बुटिक नामक व्यवसाय सञ्चालन गर्दै आइरहेकी छन् । उनले हातबाट निर्मित विभिन्न डिजाइनको कपडा बिक्री गर्ने गरेकी छन् । बुटिकका कपडाका लागि उनले अनलाइन सेवा पनि दिने गरेकी छन् । बुटिकसँगै उनको रेस्टुरेन्ट व्यवसाय समेत रहेको छ । उनले त्यसलाई खाली समयको सदुपयोग स्वरूप व्यवसाय गरेको बताउँदै आएकी छन् ।