बर्डफ्लु सङ्क्रमण : काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

काभ्रेपलाञ्चोक । काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी हाँस तथा कुखुरा नष्ट गरिएको छ । केही हप्तादेखि बर्डफ्लु सङ्क्रमणका कारण धमाधम कुखुरा मर्न थालेपछि व्यावसायिक रुपमा पालिएका ४० हजार ७२९ हाँस तथा लेयर्स जातका कुखुरा नष्ट गरिएको जिल्ला पशु सेवा कार्यालय धुलिखेलले जनाएको छ । बनेपा नगरपालिका वडा नं ६ र १३, पनौती नपाको वडा नं ७, ८ र ९ का केही पोल्ट्री फार्ममा बर्डफ्लु सङ्क्रमण देखिएकाले हाँस र कुखुरा नष्ट गरिएको कार्यालयका वरिष्ठ पशु चिकित्सक डा बज्रकिशोर ठाकुरले जानकारी दिए । उनका अनुसार मरेका कुखुरा तथा हाँसलाई खोला, झाडी र अन्य खुला स्थानमा जथाभावी फाल्ने प्रवृत्तिका कारण काग तथा अन्य जङ्गली चरामार्फत सङ्क्रमण थप फैलिएको प्रारम्भिक निष्कर्ष निकालिएको छ । कार्यालयले सङक्रमण नियन्त्रणका लागि परीक्षण, व्यवस्थापन तथा ओसारपसार नियन्त्रणका कामलाई तीव्र बनाइएको वरिष्ठ पशु चिकित्सक ठाकुरले बताए। विशेषगरी प्रयोगशाला परीक्षणको नतिजा ढिलो प्राप्त हुँदा प्रदेश तथा स्थानीय तहले समयमै आवश्यक कदम चाल्न नसक्दा सङ्क्रमणदर बढ्दै गएको बताइन्छ । ठाकुरले व्यावसायिक पोल्ट्री फार्ममा बायोसेक्युरिटीका मापदण्ड कडाइका साथ लागू गर्नुपर्नेमा जोड दिँदै कुखुराको खोरमा अनावश्यक व्यक्तिको प्रवेश रोक्न, प्रवेश गर्नै परे सुरक्षाका उपाय अपनाउन, खोर तथा उपकरण नियमित रुपमा सफा राख्न र कुखुरा ओसारपसार गर्दा पूर्ण सरसफाइका मापदण्ड पालना गर्न आग्रह गरे। जिल्लाको नाला, रोशी र खावा चेकपोस्टमा परीक्षणबिना तथा अवैध रुपमा ओसारपसार हुने कुखुराको निगरानी र नियन्त्रणलाई कडाइ गरिएको जनाइएको छ । यसअघि गत चैतमा काभ्रे र सिन्धुपाल्चोकमा बर्डफ्लु रोगको सङ्क्रमणको जोखिम हुन नदिन उच्च सतर्कता अपनाइने निर्णय गरिएको थियो । देशका केही स्थानमा पालिएका कुखुरामा बर्डफ्लु सङ्क्रमण देखिएपछि यी दुई जिल्लामा पनि जोखिम हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षाका उपाय कडा पार्न लागिएको जनाइएको थियो । रासस 

प्रहरीद्वारा करिब २० लाख बढीको अवैध ‘आइफोन’ बरामद

लुम्बिनी । रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको करिब २० लाख ५० हजार रुपैयाँ बराबरको ‘आइफोन’ बरामद गरेको छ ।  इलाका प्रहरी कार्यालय मझगावाँबाट खटिएको प्रहरी टोलीले कोटहीमाई गाउँपालिका–५ स्थित बेनिनगरमा सोमबार नेपालतर्फ आउँदै गरेको युपी ५६ डिएक्स ८८३८ नम्बरको भारतीय मोटरसाइकल चेकजाँच गर्दा एप्पल कम्पनीका विभिन्न मोडलका आइफोन फेला पारी बरामद गरिएका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।  प्रहरीले एप्पल कम्पनीका विभिन्न मोडलका ३५ थान आइफोन बरामद गरी मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।   

४ पटकको विश्वविजेता जर्मनीलाई पराजित गर्दै पाराग्वे अन्तिम १६ मा

काठमाडौं  । चार पटकको विश्व विजेता जर्मनी फिफा विश्वकप २०२६ को अन्तिम ३२ चरणबाटै बाहिरिएको छ ।  बोस्टन स्टेडियममा सोमबार राति भएको रोमाञ्चक प्रतिस्पर्धामा पाराग्वेले जर्मनीलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनायो । निर्धारित ९० मिनेट र अतिरिक्त समयपछि खेल १-१ को बराबरीमा सकिएको थियो । खेलको ४२औँ मिनेटमा जुलियो एन्सिसोले उत्कृष्ट हेडरमार्फत गोल गर्दै पाराग्वेलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५४औँ मिनेटमा काइ हाभेर्ट्जले हेडमार्फत बराबरी गोल फर्काएपछि खेल थप रोमाञ्चक बनेको थियो । त्यसपछि दुवै टोलीले केही अवसर सिर्जना गरे पनि निर्णायक गोल गर्न सकेनन् ।  अतिरिक्त समयमा जर्मनीले जोनाथन टाहमार्फत गोल गरे पनि भिडियो सहायक रेफ्री (भीएआर) ले गोलकिपरमाथि फाउल भएको ठहर गर्दै गोल रद्द गरिदिएको थियो । उक्त निर्णय खेलको सबैभन्दा विवादास्पद क्षण बन्यो । पेनाल्टी सुटआउटमा र्मनीका काइ हाभेर्ट्ज, निक वोल्टेमाडे र जोनाथन टाह गोल गर्न असफल भए । पाराग्वेका गोलरक्षक ओरलान्डो गिलले दुई महत्वपूर्ण पेनाल्टी बचाउँदै टोलीलाई ऐतिहासिक जित दिलाए । अन्तिम निर्णायक पेनाल्टी होसे कानालेले सफलतापूर्वक प्रहार गर्दै पाराग्वेको जित सुनिश्चित गरे । यो हारसँगै जर्मनी पहिलो पटक पुरुष विश्वकपको इतिहासमा पेनाल्टी सुटआउटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । अर्कोतर्फ, पाराग्वेले विश्व फुटबलकै एक ठूलो उलटफेर गर्दै अन्तिम १६ मा प्रवेश गरेको छ । अब पाराग्वेले क्वार्टरफाइनल प्रवेशका लागि अन्तिम १६ मा फ्रान्स र स्विडेनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।