काठमाडौं । । जुड बेलिङ्घमले दुई महत्त्वपूर्ण गोल गरेपछि इङ्ग्ल्यान्डले अतिरिक्त समयमा नर्वेलाई २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।
क्वार्टरफाइनलको रोमाञ्चक खेलमा नर्वेले ३६औं मिनेटमा एन्ड्रियास स्केल्डेरुपको गोलमार्फत अग्रता लिएको थियो । तर पहिलो हाफको इन्जुरी समयमा बेलिङ्घमले बराबरी गोल फर्काउँदै इङ्ग्ल्यान्डलाई खेलमा फर्काए ।
निर्धारित ९० मिनेट १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । त्यसपछि ९३ औं मिनेटमा बेलिङ्घमले व्यक्तिगत दोस्रो गोल गर्दै इङ्ग्ल्यान्डलाई २–१ को जित दिलाए ।
जारी विश्वकपमा उनले ६ गोल गरिसकेका छन् । यससँगै उनले गोल्डेन बुटको दौडमा आफूलाई बलियो दाबेदारका रूपमा कायम राखेका छन् ।

यो जितसँगै इङ्ग्ल्यान्ड आठ वर्षपछि पुनः विश्वकपको सेमिफाइनलमा पुगेको छ । सन् २०१८ को विश्वकपपछि पहिलो पटक अन्तिम चारमा स्थान बनाएको इङ्ग्ल्यान्डले ६० वर्षपछि दोस्रो विश्वकप उपाधि जित्ने आशा जीवित राखेको छ ।
यता अर्लिङ हालान्डको प्रेरणामा पहिलो पटक विश्वकपको क्वार्टरफाइनल पुगेको नर्वेको ऐतिहासिक यात्रा भने अन्त्य भएको छ ।
ब्राजिललाई पराजित गर्दै क्वार्टरफाइनल पुगेको नर्वे इङ्ग्ल्यान्डविरुद्ध अन्तिम समयसम्म संघर्षरत रहे पनि बेलिङ्घमको निर्णायक गोलले उसको सपना साकार हुन सकेन ।
अब इङ्ग्ल्यान्डले सेमिफाइनलमा अर्जेन्टिना र स्विट्जरल्यान्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।