फिफा विश्वकप  २०२६ : बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश

काठमाडौं । बोस्निया एन्ड हर्जगोभिनालाई पराजित गर्दै अमेरिका फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । सान फ्रान्सिस्को बे एरिया स्टेडियममा आज  भएको खेलमा अमेरिकाले बोस्निया एन्ड हर्जगोभिनालाई २–० ले पराजित गर्दै  अन्तिम १६ मा स्थान पक्का गरेको हो । अमेरिकाको जितमा फोलारिन बालोगुन र मलिक टिलम्यानले समान  एक एक गोल गरे । खेलको  ४५औँ मिनेटमा फोलारिन बालोगुनले गोल गर्दै अमेरिकालाई पहिलो अग्रता दिलाए ।  त्यसपछि खेलको ६४ औँ मिनेटमा  फोलारिन बालोगुनले रातो कार्ड खाँदै मैदान  बाहिरिएपछि अमेरिका १० खेलाडीमा सीमित बनेको थियो । त्यसपछि पनि अमेरिकाले खेलको ८२औँ मिनेटमा अर्को गोल थप्यो । उसका लागि टिलम्यानले गोल गरे  ।       गए राति भएको अर्को खेलमा बेल्जियमले सेनेगललाई ३–२ गोलले पराजित गर्दै विश्वकपको अन्तिम १६ मा पुगेका थियो । अब विश्वकपको अन्तिम १६ को खेलमा अमेरिकाले बेल्जियमसँग खेल्नेछ ।    

दुई गोलले पछि परेको बेल्जियमको उत्कृष्ट पुनरागमन, सेनेगललाई हराउँदै अन्तिम १६ मा

काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम ३२ चरणमा बेल्जियमले दुई गोलले पछि परेको अवस्थाबाट शानदार पुनरागमन गर्दै सेनेगललाई अतिरिक्त समयमा ३-२ ले पराजित गरेको छ ।  रोमाञ्चक जितसँगै बेल्जियमले अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो । सिएटलमा सम्पन्न खेलमा सेनेगलले सुरुआतदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै २४औँ मिनेटमा हाबिब डियार्राको गोलबाट अग्रता लिएको थियो। दोस्रो हाफको ५१औँ मिनेटमा इस्माइला सारले अर्को गोल थपेपछि सेनेगल २-० ले अघि बढेको थियो र सहज जिततर्फ उन्मुख देखिएको थियो ।  तर खेलको अन्तिम पाँच मिनेटमा बेल्जियमले अविश्वसनीय पुनरागमन गर्यो । ८६औँ मिनेटमा वैकल्पिक खेलाडी रोमेलु लुकाकुले गोल गर्दै टोलीलाई खेलमा फर्काएन । त्यसको तीन मिनेटपछि युरी टिलेमान्सले हेडमार्फत बराबरी गोल गर्दै खेललाई अतिरिक्त समयमा पुर्‍याए ।  अतिरिक्त समय पनि बराबरीतर्फ अघि बढिरहेको अवस्थामा इन्जुरी समयको अन्तिम क्षणमा भिडियो सहायक रेफ्री (भीएआर) को समीक्षा पछि बेल्जियमले पेनाल्टी पायो । कप्तान टिलेमान्सले १२५औँ मिनेटमा पेनाल्टीलाई गोलमा परिणत गर्दै बेल्जियमलाई ३-२ को ऐतिहासिक जित दिलाएन । यो विश्वकप इतिहासकै सबैभन्दा ढिलो समयमा भएको विजयी गोलमध्ये एक मानिएको छ ।  खेलमा बेल्जियमले ५३ प्रतिशत बल आफ्नो नियन्त्रणमा राख्दै २१ प्रहार गरेको थियो भने सेनेगलले १९ प्रहार गरेको थियो । दुवै टोलीका पाँच-पाँच प्रहार लक्ष्यमा थिए, जसले खेल कति प्रतिस्पर्धात्मक थियो भन्ने देखाउँछ । यो जितसँगै बेल्जियमले २०१८ विश्वकपमा जापानविरुद्ध गरेको ऐतिहासिक पुनरागमनको सम्झना ताजा गराएको छ । अब बेल्जियमले अन्तिम १६ मा अमेरिका र बोस्निया-हर्जेगोभिनाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

डीआर कङ्गोलाई हराउँदै इंग्ल्यान्ड अन्तिम १६ मा

काठमाडौं । इंग्ल्यान्डले डीआर कङ्गोलाई २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ ।  एटलान्टा स्टेडियममा बुधबार सम्पन्न अन्तिम ३२ को प्रतिस्पर्धामा एक गोलले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै इंग्ल्यान्डले रोमाञ्चक जित निकालेको हो । खेलको सातौं मिनेटमै ब्रायन सिपेङ्गाले गोल गर्दै डीआर कङ्गोलाई अग्रता दिलाएका थिए । पहिलो हाफभर इंग्ल्यान्डले गोल फर्काउन नसक्दा डीआर कङ्गो १–० को अग्रतासहित ब्रेकमा गएको थियो । दोस्रो हाफमा खेलमा फर्किएको इंग्ल्यान्डका लागि कप्तान ह्यारी केन नायक बने । उनले ७५औं मिनेटमा बराबरी गोल गरे भने ८६औं मिनेटमा उत्कृष्ट प्रहारमार्फत व्यक्तिगत दोस्रो तथा टोलीका लागि निर्णायक गोल गर्दै इंग्ल्यान्डलाई २–१ को जित दिलाए । डीआर कङ्गोले उत्कृष्ट प्रतिरोध गरे पनि अग्रता जोगाउन सकेन । पराजयसँगै पहिलो पटक विश्वकपको नकआउट चरण पुगेको डीआर कङ्गोको ऐतिहासिक यात्रा अन्त्य भएको छ । इंग्ल्यान्डले अब अन्तिम १६ मा मेक्सिकोसँग प्रतिस्पर्धा गर्नेछ ।