उपत्यकाका नदी करिडोरमा साँझ ६ बजेदेखि सवारी आवागमनमा रोक

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौं उपत्यकाका नदी खोला किनारका सडक (करिडर सडक)मा साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म सवारी आवागमनमा रोक लगाउन आग्रह गरेको छ ।  प्राधिकरणले आज एक सूचना जारी गर्दै काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा भारीदेखि अतिभारी वर्षा भइरहेको जनाउँदै करिडोर सडकमा आवागमन रोक लगाउन उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको हो ।  आज राति वर्षाको मात्रा अझै बढ्न गई नदी खोलामा पानीको तह थप बढ्ने एवं नदी खोला किनारका सडक डुबानमा परी जोखिम बढ्ने सम्भावना रहेको उल्लेख गर्दै प्राधिकरणले सतर्क रहन भनेको हो ।    'सम्भावित जोखिम कम गर्न काठमाडौं उपत्यकाका नदी खोला किनारका सडक (करिडर सडक) मा आज साँझ ६ बजेदेखि भोलि बिहान ६ बजेसम्म सवारी आवागमनमा आवश्यकताअनुसार रोक लगाउनु हुन निर्णयानुसार अनुरोध छ', प्राधिकरणद्वारा जारी सूचनामा उल्लेख छ ।

पाँचथर जिप दुर्घटना : ६ जनाको मत्यु, ६ जनाको अवस्था गम्भीर

पाँचथर । तमोर कोरिडोरअन्तर्गत पाँचथरको कुम्मायक गाउँपालिका–३ कात्तिकेमा जिप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छभने अन्य छ जना गम्भीर घाइते भएका छन् ।  ताप्लेजुङबाट धरानर्फ गइरहेको मे१ज ३०५५ नम्बरको जिप शनिबार दिउँसो दुर्घटना हुँदा छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रुपेश तामाङले बताए ।  सबै घाइतेहरुलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले घाइतेहरुको उद्धार गरेका थिए । दुर्घटनाको कारण खुल्न सकेको छैन । 

पृथ्वीराजमार्ग खुल्यो

मुग्लिन । पहिरोेले अवरुद्ध भएको पृथ्वीराजमार्ग आज अपराह्नदेखि सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालयका अनुसार पहिरो पन्छाएर सडक सञ्चालन गरिएको हो ।  चितवनको इच्छाकामना–३ फिस्लिङमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । सडक सञ्चालन भएसँगै बाटोमा रोकिएका सवारीसाधन प्रस्थान गरेका छन् ।