एनपीएल तेस्रो सिजन जित्नैपर्ने दबाबमा सुदूरपश्चिम रोयल्स

यी हुन् भित्र्याएका विदेशी खेलाडी

काठमाडौं । नेपाली क्रिकेट प्रशंसकहरूको लामो प्रतीक्षालाई अन्त्य गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा भव्य रूपमा सुरु हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको यसपटकको प्रतियोगिता नेपाली घरेलु क्रिकेट इतिहासकै सबैभन्दा आधुनिक, व्यावसायिक र प्रतिस्पर्धात्मक बन्ने देखिएको छ । उद्घाटन खेलमै साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुने भएपछि प्रतियोगिताको पहिलो दिनदेखि नै क्रिकेट पारखीहरूले रोमाञ्चक खेलको आनन्द लिन पाउने भएका हुन् । 

अघिल्लो सिजनको सनसनीपूर्ण फाइनल भिडन्तमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधि आफ्नो नाममा लेखाएको थियो । त्यसैले कात्तिक ९ गते हुने उद्घाटन भिडन्त केवल प्रतियोगिताको सुरुवात मात्र नभई सुदूरपश्चिमका लागि अघिल्लो सिजनको हारको बदला लिने र लुम्बिनीका लागि आफ्नो विजेताको साख जोगाउने प्रतिष्ठाको लडाइँ बन्नेछ । 

दुवै टोलीमा अन्तर्राष्ट्रिय स्तरका विदेशी स्टार र राष्ट्रिय टोलीका प्रभावशाली नेपाली खेलाडीहरूको उपस्थिति रहेकाले पहिलो खेल नै फाइनल सरह कडा र रोमान्चक हुने अनुमान गरिएको छ ।

यसपटकको एनपीएल क्रिकेटप्रेमीहरूका लागि थप खास हुनुको मुख्य कारण अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले दिएको औपचारिक मान्यता हो । आईसीसीको स्वीकृतिसँगै एनपीएलका सबै खेलहरूले आधिकारिक टी–२० हैसियत प्राप्त गरेका छन्, जसका कारण प्रतियोगितामा खेलाडीहरूले बनाउने व्यक्तिगत तथा टोलीगत कीर्तिमानहरू अब आइसीसीको आधिकारिक तथ्याङ्क मा दर्ता हुनेछन् ।

यस मान्यताले गर्दा विश्भरका स्थापित क्रिकेट बोर्डहरूबाट खेलाडीहरूलाई एनपीएल खेल्न नो अब्जेक्सन सर्टिफिकेट लिन सहज हुनुका साथै नेपाली घरेलु क्रिकेटलाई अन्तर्राष्ट्रिय मञ्चमा नयाँ पहिचान मिलेको छ । 

नेपाली क्रिकेट इतिहासमा अर्को ठूलो प्राविधिक फड्को मार्दै यस सिजनदेखि एनपीएलमा पहिलोपटक डिआरएस प्रविधिको प्रयोग गरिँदैछ । मैदानमा हुने अम्पायरिङका विवादित निर्णयहरूलाई सच्याउन र खेललाई पूर्ण रूपमा पारदर्शी तथा निष्पक्ष बनाउन डिआरएस सुविधा कोसेढुङ्गा साबित हुनेछ । 

विश्भरका ठूला लिगहरूमा प्रयोग हुने आधुनिक क्यामेरा, अल्ट्राएज र बल–ट्याकिङ प्रविधिसहितको डिआरएसले खेलको गुणस्तर बढाउनुका साथै नेपाली खेलाडीहरूलाई पनि अन्तर्राष्ट्रिय स्तरको खेल वातावरणसँग घुलमिल हुन ठूलो मद्दत पुर्याउनेछ । 

यसअघिका दुवै संस्करणमा सानदार प्रदर्शन गर्दै उपविजेतामा सीमित बनेको सुदूरपश्चिम रोयल्स यसपटक भने कुनै पनि हालतमा ट्रफी चुम्ने दृढ सङ्कल्पका साथ मैदानमा उत्रिँदैछ । उद्यमी स्वतन्त्र प्रताप शाहको स्वामित्व र पूर्वराष्ट्रिय मुख्य प्रशिक्षक जगत टमाटाको अनुभवी मार्गदर्शनमा रहेको सुदूरपश्चिमले यस सिजनका लागि टोलीको सन्तुलनमा विशेष ध्यान दिएको छ । 

टोलीले विश्वप्रसिद्ध विदेशी स्टारहरूसँगै घरेलु क्रिकेटमा छाप छाडेका प्रतिभावान युवा खेलाडीहरूलाई समेटेर उपाधि जित्न सक्ने मजबुत सेट तयार पारेको छ ।

सुदूरपश्चिमको विदेशी खेलाडीको सूची निकै आक्रामक र सन्तुलित देखिन्छ । टोलीमा वेस्ट इन्डिजका विष्फोटक ब्याटर तथा म्याच फिनिसर शेरफेन रदरफोर्ड, अघिल्लो सिजनका सर्वश्रेष्ठ खेलाडी घोषित इङ्गल्याण्डका अलराउन्डर सैफ अली जेब, न्युजिल्याण्डका तीव्र गतिबलर स्कट कुगेलेन तथा स्कटल्याण्डका भरपर्दा अलराउन्डर ब्रान्डन म्याकमुलन जोडिएका छन् ।

यसका साथै शीर्ष क्रममा टोलीलाई आक्रामक सुरुवात दिलाउन अस्ट्रेलियाका क्रिस लिन र जोस ब्राउनजस्ता अन्तर्राष्ट्रिय टी–२० विशेषज्ञहरूको उपस्थितिले सुदूरपश्चिमको ब्याटिङ आक्रमणलाई निकै भरपर्दो बनाउने देखिन्छ । 

नेपाली खेलाडीहरूको उपस्थितिमा पनि सुदूरपश्चिम रोयल्स उत्तिकै बलियो र परिपक्व देखिएको छ । टोलीको नेतृत्व राष्ट्रिय टोलीका स्टार अलराउन्डर दीपेन्द्र सिंह ऐरीले गरिरहेका छन् भने मुख्य नेपाली खेलाडीका रूपमा अनुभवी ब्याटर तथा विकेटकिपर विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, डेथ ओभर विशेषज्ञ अविनाश बोहरा, नरेन साउद र हेमन्त धामी रहेका छन् ।

यसका साथै अक्सन र ट्यालेन्ट हन्टमार्फत टोलीमा भित्रिएका अनिल खरेल, दीपक बोहरा, मिलन बोहरा, टेक रावत, दीपेन्द्र थापा, सचिन भट्ट, आयुव चन्द र हिक्मत महराजस्ता युवा प्रतिभाहरूले टोलीको बेन्च स्ट्रेन्थलाई थप मजबुत बनाएका छन् । 

सुदूरपश्चिम रोयल्स यस सिजनको सबैभन्दा सन्तुलित र उपाधिको बलियो दावेदार टोलीका रूपमा खडा भएको छ । दीपेन्द्र सिंह ऐरी र शेरफेन रदरफोर्डजस्ता खेलाडीको उपस्थितिले टोलीको फिनिसिङ लाइन-अप मजबुत छ भने स्कट कुगेलेन र अविनाश बोहराको पेस जोडीले पावरप्ले र डेथ ओभरमा विपक्षी ब्याटरहरूलाई दबाबमा राख्न सक्छ ।

यदि टोलीले अघिल्ला संस्करणहरूमा फाइनलमा भोगेको दबाबलाई सही तरिकाले व्यवस्थापन गर्न सक्यो भने, आइसीसीको मान्यता र डिआरएस प्रविधिसहित सुरु हुन लागेको यो ऐतिहासिक एनपीएलको ट्रफी पहिलोपटक सुदूरपश्चिम रोयल्सले आफ्नो नाममा लेख्ने सम्भावना निकै प्रबल छ ।

Share News