पाथीभरा क्षेत्रमा मदिरा निषेध
फुङ्लिङ । पाथीभरा क्षेत्रमा मदिराको बिक्री, वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको छ । पाथीभरा क्षेत्र विकास समितिले सोमबार एक सूचना जारी गर्दै मदिरा बिक्री र सेवनमा रोक लगाएको हो । समितिले फेदी, बलुडाँडा, काफ्लेपाटीलगायत स्थानमा रहेका होटल तथा व्यवसायीलाई मदिरा बिक्री नगर्न आग्रह गरेको छ । साथै समितिले मदिरा बिक्री वा सेवन गरेर धार्मिकस्थलको वातावरण प्रदूषित गर्नेहरूलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने चेतावनी पनि दिएको छ ।
तुईन खोलामा पुनः सुक्खा पहिरो खस्दा सडक पूर्ण रुपमा अवरुद्ध
चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको तुईन खोलामा साेमबार पुनः सुक्खा पहिरो खसेको छ । अपरान्ह १२ बजे खसेको पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध भएको डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए । उनका अनुसार पहिरो निरन्तर झरिरहेको छ । उनका अनुसार पहिरोले सडकको ७० मिटर भाग ढाकेको छ । अहिले दुई वटा मेसिन पहिरो पन्छाउन प्रयोग भइरहेको पनि उनको भनाइ छ । गत हप्ता पनि पहिरो खस्दा सडकमा यातायात सञ्चालन गर्न ४८ घण्टा लागेको थियो ।
पूर्वराजा ज्ञानेन्द्रले दसैँको शुभकामना दिदैं भने - युवापुस्ताको देशभक्ति र नवीन सोचले मात्र राष्ट्र बलियो हुन्छ
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीको उपलक्ष्यमा सबै नेपालीहरुमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । उनले एक सन्देशमार्फत उनले आम शुभेच्छुक नागरिक समुदायलाई आफूबाट विगतमा झैँ बृहत रुपमा टीका जमरा प्रदान नहुने समेत जानकारी गराएका छन् । पूर्वराजा शाहले पूर्वजहरुले नेपालको एकता, अखण्डता, सार्वभौमिकता र सम्प्रभुताको रक्षा गर्न दिएका त्याग र बलिदान नै हाम्रो अस्तित्व, स्वाभिमान र गौरवशाली संस्कृतिको मेरुदण्ड भएको उल्लेख गरेका छन् । युवा पुस्ता भविष्यका आधारस्तम्भ भएको र उनीहरुमा निहीत देशभक्तिको भावना, उर्जाशक्ति र नवीन सोचले मात्र राष्ट्रलाई बलियो, समृद्ध र आत्मनिर्भर बनाउने बाटोमा लैजाने उनको भनाइ छ ।