कञ्चनपुर कारागारबाट भागेका ३८८ कैदीबन्दी फिर्ता
कञ्चनपुर । जिल्ला कारागारबाट भागेकामध्ये हालसम्म ३८८ कैदीबन्दी फिर्ता आएका छन् । फिर्ता आएकामा ३७१ पुरुष र १७ महिला कैदी रहेका छन् । कारागार कार्यालयका निमित्त प्रशासक रामदत्त जोशीका अनुसार कारागार तोडफोडपछि फरार भएका कैदीबन्दीमध्ये अझै ९९ जना फरार रहेका छन् । फरारमध्ये १७ महिला कैदीसमेत छन् । जोशीका अनुसार फिर्ता भएकामध्ये ६३ कैदीलाई प्रहरीले जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरी पुनः कारागारमा बुझाएको हो । कारागारमा हाल १४ भारतीय नागरिकसमेत कैद सजाय भोगिरहेका छन् भने १७ भारतीय कैदी अझै फरार छन् । स्वेच्छिक रूपमा फिर्ता हुन तोकिएको समयभित्र नफर्किने कैदी तथा थुनुवामाथि कारागार ऐन, २०७९ र अन्य प्रचलित कानुनअनुसार कानुनी कारबाही हुने भएको छ । निमित्त प्रशासक जोशीका अनुसार फरार कैदी वा थुनुवालाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्ति पनि कानुनी रूपमा कसुरदार ठहरिने र उनीहरूमाथि समेत आवश्यक कारबाही अघि बढाइने व्यवस्था छ । पटक–पटक कारागार प्रशासनले स्वेच्छिक रूपमा फर्किन सार्वजनिक अपिल गरे पनि अझै केही कैदी सम्पर्कमा नआएकाले प्रहरीले फरार कैदीबन्दीको खोजी र पक्राउ कार्यलाई तीव्र बनाइएको निमित्त प्रशासक जोशीको भनाइ रहेको छ । रासस
निर्वाचनलाई सफल बनाउन प्रधानमन्त्रीको आह्वान
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुन लागेको निर्वाचनलाई एक राष्ट्रिय अनुष्ठानका रुपमा ग्रहण आह्वान गरेकी छन् । प्रधानमन्त्री कार्कीले सूर्यको आराधना साथ मनाइने महान् पर्व छठको अवसरमा आज जारी गरेको शुभकामना सन्देशमार्फत उक्त आह्वान गरेकी हुन् । शुभकामना सन्देशमा भनिएको छ, 'आगामी निर्वाचनलाई पनि एक राष्ट्रिय अनुष्ठानका रुपमा ग्रहण गरी त्यसमा सहभागी हुन र सफल बनाउन सबै पक्षलाई आह्वान गर्दछु ।' जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई सामान्यीकरण गर्दै आउँदो फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्व भएको र सबै पक्षले परिस्थितिको संवेदनशीलता र आ–आफ्नो जिम्मेवारीको बोध गर्दै निर्वाचन सफल पार्न जुट्नुपर्ने बेला भएको सन्देशमा छ । 'सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन', सन्देशमा भनिएको छ, 'आफ्ना कुनै अडान वा असन्तुष्टि छन् भने पनि शान्तिपूर्ण तवरले राखी आमजनताको मन जितेर निर्वाचनबाट अनुमोदित गराउनु लोकतन्त्रको सर्वोत्तम विधि हो ।' छठसहित हाम्रा चाडपर्वहरु सामाजिक एकता, सद्भाव र भ्रातृत्वका मानक पनि भएको र अहिलेको अवस्थामा हामी सबै नेपालीबीच अझै बढी एकता र सद्भावको खाँचो रहेको उल्लेख छ । प्रधानमन्त्रीको सन्देशमा भनिएको छ,'पवित्र आस्था, कठिन व्रत र सिङ्गारिएका नदी तथा तलाउका किनारा र त्यहाँका उत्सवले दिने शक्तिले सबैमा सद्भाव र खुसियाली छाओस् ।' सन्देशमा सत्य, अहिंसा र प्रकृति प्रेममा अभिप्रेरित गर्ने यस पर्वले नेपालीको सांस्कृतिक र सामाजिकरूपमासमेत तराई–पहाड जोड्ने सेतु बनिरहेको उल्लेख छ ।
खेलकुदमन्त्रीको पहिलो निर्णय : मन्त्रालयको छलफल लाइभ गर्ने
काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले आइतबार पदभार ग्रहण गर्दै पहिलो निर्णयका रूपमा मन्त्रालयको बैठक (छलफल) लाइभ गर्ने घोषणा गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएपछि गुप्ता मन्त्रालय पुगेका थिए । पदभार ग्रहण समारोहपछि उनले मन्त्रालयमा पारदर्शिता र जिम्मेवारी बढाउने उद्देश्यले सबै प्रकारका बैठक तथा छलफलहरू लाइभ प्रसारण गर्ने निर्णय गरेका हुन् । मन्त्री गुप्ताले खेल क्षेत्रलाई व्यवस्थित, पारदर्शी र जनउत्तरदायी बनाउन मन्त्रालयभित्रबाटै सुधार थालिने बताउँदै खेलकुद मन्त्रालय अन्तर्गतका सबै निकायको बैठक पनि सार्वजनिक रूपमा लाइभ गरिने स्पष्ट पारेका छन् ।