वर्षा रोकिएसँगै काठमाडौं उपत्यकाको जनजीवन सामान्य बन्दै
काठमाडौं । केही दिनदेखि निरन्तर परिरहेको अविरल वर्षा र प्रतिकूल मौसमका कारण असामान्य बनेको काठमाडौं उपत्यकाको जनजीवन आइतबार वर्षा रोकिएसँगै पुनः सामान्य बन्दै गएको छ । अहिले यहाँका सडक, यातायात, व्यवसाय र सर्वसाधारणको दैनिकी क्रमशः सामान्य स्थितिमा फर्किन थालेको छ । उपत्यकामा लगातारको झरीका कारण जनजीवन प्रभावित भएको थियो । मुख्य सडकदेखि गल्लीसम्म पानी जम्ने, ट्राफिक जाम बढ्ने, पैदल हिँड्नसमेत गाह्रो हुने अवस्था थियो । आइतबार बिहानदेखि मौसममा सुधार आएपछि काठमाडौंका सडकमा गाडीको चाप बढेको छ भने सर्वसाधारणको चहलपहल पनि पुनः बढेको छ । शुक्रबारदेखि परेको लगातारको वर्षाले केही दिन काठमाडौंको सडक नेटवर्क प्रभावित भए पनि हाल काठमाडौंका सबै प्रमुख सडक सञ्चालनमा आएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनले भने, 'शुक्रबारदेखि परेको वर्षाका कारण यहाँको जनजीवन केही असमान्य बनेको थियो, आइतबारदेखि मौसममा सुधार आएको छ, सडकमा गाडीको चाप पनि सामान्य अवस्थामा फर्किएको देखिन्छ ।' काठमाडौं उपत्यका भित्रिने र बाहिरिने नाकासहित नागढुङ्गा, अरनिको राजमार्ग, टोखा सडकखण्डलगायतका मार्ग नियमित सञ्चालन भइसकेका तथा पहिरोको अवरोधका कारण रोकिएका केही सवारीसाधन आवागमन पनि अहिले सञ्चालनमा आइसकेका प्रवक्ता सुवेदीले बताए । वर्षा रोकिएसँगै काठमाडौंका बजार क्षेत्रमा पनि मानिसहरुको भीड देखिन थालेको छ । अहिले दैनिक उपभोग्य लगायतका सामग्री किनमेल गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । असन, इन्द्रचोक, न्युरोड, पुरानो बानेश्वर, गोङ्गबुलगायतका व्यापारिक क्षेत्रमा उपभोक्ताको उपस्थिति बढ्दै गएको व्यवसायीले बताएका छन् । वर्षाका कारण जनजीवन असमान्य भएको काठमाडौंमा अहिले वर्षा रोकिएर घाम लागेपछि स्थानीय र व्यवसायीहरुले राहतको महसुस गरेका पुरानो बानेश्वरस्थित फेन्सी पसल सञ्चालक सरिता थापाले बताइन् । उनले भने, 'शनिबारसम्म यहाँका सडकमा हिँड्नै सक्ने अवस्था थिएन, आइतबारसम्म जताततै पानी जमेको अवस्था थियो, आज मौसम खुलेर घाम लागेकाले निकै सहज भएको छ ।' जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखले हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको जनाएको छ । महाशाखाका अनुसार कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने जनाएको छ । यसैगरी कोशी, बागमती, लुिम्बनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी तथा तराईका भू–भागका स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । रासस
पाँच जलमापन केन्द्रमा खतरा र चारमा सतर्कता तह पार
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मुलुकका अधिकांश स्थानमा परेको भारी वर्षादेखि अतिभारी वर्षाका कारण हालसम्म देशभरका पाँच जलमापन केन्द्रमा जलसतहले खतराको तह पार गरेको छ । पूर्वका अन्य चार जलमापन केन्द्रमा भने जलसतहले सतर्कता तह पार गरेको विभागले जनाएको छ । विभागको तथ्याङ्कमा आज मध्याह्न १२ः३० बजेसम्म धनकुटास्थित अरुण नदी जलमापन केन्द्रले दिएको जानकारीअनुसार जलसतहले खतराको तह पार गरेर ११ दशमलव २३ मिटर पुगेको छ । उक्त केन्द्रमा ११ मिटर जलसतहलाई खतराको तह मानिन्छ । यसैगरी, धनकुटास्थित त्रिवेणीको तामोर नदी मापन केन्द्रमा १० मिटर खतराको तह रहेकामा ११ दशमलव ४७ मिटर जलसतह पुगेको छ । सुनसरीस्थित सप्तकोसी चतराको जलसतह सात दशमलव १३ मिटर पुगेको छ । उक्त स्टेशनको खतरा तह भने सात मिटर रहेको छ । त्यस्तै, सुनसरी खोलाको जलमापन केन्द्रमा जलसतह ८१ दशमलव ८८ मिटर पुगेको छ । उक्त केन्द्रमा ८१ दशमलव आठ मिटर जलसतहलाई खतराको तह मानिन्छ । इलामको मैनाचुलीस्थित कन्काई नदी जलमापन केन्द्रमा जलसतह पाँच दशमलव ६१ मिटर पुगेको छ । उक्त केन्द्रको जलसतहको खतरा तह भने चार दशमलव तीन मिटर रहेको छ । सिन्धुलीको खुर्कोटस्थित सुनकोसी जलमापन केन्द्र, धनकुटाको मुलघाटस्थित तमोर नदी, इलामको पुवाखोला र इलामकै चिसापानीस्थित माइखोला जलमापन केन्द्रमा भने जलसतहले सतर्कता तह पार गरेको विभागको तथ्याङ्कमा उल्लेख छ । विभागका जलविद् विनोद पराजुलीले पूर्वका नदीहरूमा बाढीको खतरा बाँकी रहेको र मुलुकका अन्य नदीमा जलसतह सामान्य रहेको जानकारी दिए । बाढीबाट हुनसक्ने सम्भावित धनजनको क्षति न्यूनीकरण गर्नका लागि मोबाइल एसएमएसमार्फत जनमानसलाई सचेत गराइएको उनको भनाइ छ । रासस
नक्कली भुटानी शरणार्थी प्रकरणका फरार सन्देश शर्मा पक्राउ
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली भुटानी शरणार्थी प्रकरणका फरार रहेका दाङको तुलसीपुर उपमहानगरपालिका–१६ प्रतिवादी सन्देश शर्मालाई पक्राउ गरेको छ । निजलाई ललितपुरबाट पक्राउ गरी कारागार पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । फरार व्यक्ति गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेर फरार रहेका थिए ।