सरकारले माघ ११ लाई गर्यो राष्ट्रिय सभा सदस्यको निर्वाचन मिति घोषणा
काठमाडौं । सरकारले राष्ट्रिय सभा सदस्यको निर्वाचन गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदिश खरेलका अनुसार आगामी माघ ११ गते आइतबारका लागी निर्वाचन मिति तोक्ने निर्णय गरेको छ । राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागी प्रदेशसभाका सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहन्छन् । छ वर्ष पहिलेको चुनावबाट निर्वाचित १९ सदस्यको कार्यकाल आगामी फागुन २१ बाट सकिनेछ । राष्ट्रिय सभामा प्रत्येक २ वर्षमा एक तिहाई सदस्यको कार्यकाल सकिन्छ । ति मध्ये १९ जनाको कार्यकाल फागुन २१ मा सकिँदैछ । कार्यकाल सकिन लागेका मध्ये एक जना वामदेव गौतम राष्ट्रपतिबाट मनोनीत सांसद हुन् । बाँकी १८ पदका लागि फागुन २१ मा निर्वाचन हुनेछ ।
प्रधानमन्त्रीको अभिव्यक्तिले सरकार टिक्दैन कि भन्ने प्रश्न उठाएको छ : माधवकुमार नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निर्वाचनमा जानुको विकल्प नरहेको बताएका छन् । बुधबारबाट काठमाडौंमा शुरु भएको पार्टी केन्द्रिय कमिटी बैठकमा बोल्दै उनले प्रधानमन्त्री सुशीला कार्कीको अभिव्यक्तिले भने सरकार टिक्छ भन्नेकुरामा प्रश्न उठाएको टिप्पणी गरे । प्रधानमन्त्री कार्कीको अभिव्यक्ति सुन्दा सरकार रहिरहन्छ वा रहँदैन भन्ने प्रश्न उठाएको अध्यक्ष नेपालको जिकिर थियो । उनले लोकतन्त्र, गणतन्त्र र मुलुकको हितमा केन्द्रित भएर वर्तमान सरकारलाई आफ्नो पार्टीको साथ रहने पनि स्पष्ट पारे । उनले भने, ‘अब चुनावमा जाने बाहेक विकल्प छैन । चुनाव सम्भव होला, चुनाव गराउन यो सरकारले सक्ला ? प्रश्न गम्भिर रुपमा उठेको छ । प्रधानमन्त्रीको अभिव्यक्ति सुन्दा पनि चुनौतिको सामना पनि गर्छु भनिरहनुभएको छ । तर दिक्दारी पनि बेलावखतमा पोख्ने गर्नुभएको छ । यही सरकार रहिरहन्छ कि के हुन्छ ? भन्ने प्रश्न पनि उठेका छन् ।' अध्यक्ष नेपालले निर्वाचनको तयारीमा जुट्न पनि पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए । राम्रो परिणाम ल्याउने गरी निर्वाचनको तयारीमा आफूहरु लाग्नुपर्ने अध्यक्ष नेपालको भनाई थियो ।
प्रधानमन्त्री कार्कीको आह्वानमा आज राजनीतिक दल र जेनजी समूहका प्रतिनिधि सहभागी हुने
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बुधबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास, बालुवाटारमा पहिलोपटक त्रिपक्षीय छलफल हुने भएको छ । यसमा सरकार, प्रमुख राजनीतिक दलहरू र जेनजी समूहका प्रतिनिधिहरूको सहभागिता रहने प्रधानमन्त्री कार्यालयले जनाएको छ । सरकारका तर्फबाट प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल उपस्थित हुने छन् । राजनीतिक दलबाट नेपाली कांग्रेसका महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत बैठकमा सहभागी हुनेछन् । नेकपा एमालेका प्रवक्ता राजेन्द्र गौतमका अनुसार महासचिव शकंर पोखरेल र उपमहासचिव प्रदिप ज्ञवालीले एमालेको नेतृत्व गर्दै वार्तामा सहभागीता जनाउने छन् । नेकपा माओवादी केन्द्र बाट वर्षमान पुन र माधव सापकोटा छलफलमा सहभागी हुने भएका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र केन्द्रीय सदस्य निशा डाँगी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहन श्रेष्ठको सहभागिता हुने रहने छ । जेनजी समूहबाट इण्डिजिनिस जेनजी कलेक्टिभ, हाउ टु देश विकास, र जेनजी मुभमेन्ट एलाइन्सका १४ जना प्रतिनिधि सहभागी हुनेछन् । छलफलको मुख्य एजेन्डा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको समग्र वातावरण निर्माण र राजनीतिक समझदारी जुटाउने रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सरकारले प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न चरणबद्ध रूपमा सबै सरोकारवाला पक्षहरूसँग वार्ता गर्दै आएको छ । यसअघि कात्तिक ४ गते पनि प्रधानमन्त्री कार्कीले सरकार र राजनीतिक दलबीच छलफल गरिसकेकी थिइन् । यस्तै राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा जेनजी समूहसँग पनि छलफल भइसकेको छ ।