काठमाडौंका नदीहरुमा पानीको बहाव घट्दै, जोखिम अझै कायम
काठमाडौं । काठमाडौं उपत्यकाका नदीहरुमा पानीको बहाव केही कम भएपनि जोखिम अझै कायमै रहेको छ । आइतबार बिहानैदेखि वर्षा रोकिएसँगै काठमाडौं जनजीवन सामान्य बन्दै गएको छ । नदीहरुमा पानीको बहाव केही कम भएपनि बाढीको जोखिम अझै रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । वागमती, विष्णुमती लगायतका नदीहरुको मुहान क्षेत्रमा वर्षा भइरहेकाले पनि बाढीको जोखिम नघटेको विभागले बताएको छ । काठमाडौंको वागमती नदीमा अझै बाढी आइरहेको छ । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकासहित देशभरको जनजीवन कष्टकर बनेको थियो । आइतबारबाट मौसम उघ्रिएको छ । आज साँझबाट देशभरकै मौसम खुल्दै जाने मौसमविद्हरुले बताएका छन् । नदीले बगाएर ल्याएका रुख, हाँगाबिँगाहरु पुलमा अड्किँदा पानी थुनिएको छ । नेपाली सेना, शसस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीले नदीहरुबाट गेग्रान र बगाएर ल्याएका रुखहरु झिक्ने थुनिएको पानी खोल्ने काम गरिरहेको छ ।
झापामा ४५० घर डुबानमा, सयौं विस्थापित
बनियानी । यहाँ बाढीले ४५० घर डुबानमा परेका छन् । असोज १८ गतेदेखिको अविरल वर्षाका कारण नदीमा आएको बाढी बस्तीमा पस्दा जिल्लाका विभिन्न स्थानका घर डुबानमा परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । 'नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा उद्धार कार्य जारी छ', उनले भने, 'करिब १०० घरका मानिसलाई स्थानान्तरण गरिसकेका छौंँ ।' मेचीनगर नगरपालिका–६ स्थित कालीखोलामाथिबाट पानी बढ्दा पूर्वपश्चिम लोकमार्ग अवरुद्ध भएको उनले बताए । त्यस्त, शिवसताक्षी नगरपालिका–१० स्थित सुकुना खोलामा आएको बाढीले ह्युमपाइप बगाउँदा आवागमन अवरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउने कार्य भइरहेको प्रवक्ता खड्काले जानकारी दिए । झापा गाउँपालिका–२ स्थित सुगाबथानमा ठूलो माइखोला बस्ती पस्दा ५६ घरधुरीका १४० जना विस्थापित भएका छन् । उनीहरुको उद्धार गरी स्थानीय कुवाडी माविमा स्थान्तरण गरिएको छ । त्यस्तै शिवसताक्षी–४, ५, ६ र ७ मा माई खोलाको बाढी पस्दा ३५० घर डुबानमा परेका छन् । उनीहरुको उद्धार कार्य भइरहेको छ । झापा–१, ६ र ७ मा माइखोलाको बाढी पसेको छ । बाढीपीडितको उद्धार कार्य भइरहेको प्रवक्ता खड्काले बताए । यस्तै भद्रपुर नगरपालिका–५ मा करिब २५ घर डुबानमा परेपछि उनीहरु आफन्तकामा शरण लिएर बसिरहेका छन् । मेचीनगर–१५ स्थित सतिघट्टा र ज्यामिरगढीकोबीचमा पर्ने एक बस्ती डुबानमा पर्दा यहाँका करिब २५ घर जोखिममा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाढीपीडितहरुको उद्धार र स्थानान्तरण गर्ने काम जारी रहेको जनाइएको छ । रासस
काठमाडौंसहितका केही स्थानमा घाम लाग्यो, नदीमा बाढी आउने क्रम जारी
काठमाडौं । काठमाडौं उपत्यकासहित अन्य केही स्थानहरुमा अहिले जनजीवन सामान्य बन्दै गएको छ । आइतबार बिहानैबाट उपत्यकामा घाम लागेको छ । वर्षा हुन रोकिएसँगै सडकमा सवारी साधनहरुको चाप पनि बढेको छ । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौंसहित देशभरको जनजीवन विकराल बनेको थियो । भीषण वर्षालाई मध्यनजर गरी सरकारले काठमाडौं उपत्यकाबाट बाहिरिने र उपत्यका भित्रिने सवारी साधन आवागमनमा रोक लगाएको छ । सवारी आवागमन आइतबार पनि रोक लगाइएको छ । उपत्यकामा पानी पर्न छोडेपनि उपत्यकाका नदीहरुमा बाढी उस्तै छ । केही नदीहरुमा बाहेक अन्य नदीहरुमा बाढीको जोखिम त्यत्तिकै छ । मौसमविद्हरुका अनुसार आइतबार पनि काठमाडौं उपत्यकासहितका पूर्वी भूभागमा पानी पर्ने सम्भावना छ ।