काठमाडौंको फोहोर संकट : मन्त्री घिसिङले गरे बञ्चरेडाँडा अनुगमन

काठमाडौं । काठमाडौं उपत्यकामा फोहोर व्यवस्थापनमा गम्भीर संकट निम्तिएपछि शहरी विकासमन्त्री कुलमान घिसिङले बञ्चरेडाँडास्थित ल्याण्डफिल्ड साइटको अनुगमन गरेका छन् । उपत्यकाका सडकहरू फोहोरले दुर्गन्धित हुँदै गएको अवस्थामा मन्त्री घिसिङले स्थानीय प्रशासन, फोहोर व्यवस्थापन सम्बन्धित अधिकारीहरू तथा स्थानीय प्रतिनिधिहरूसँग छलफल गर्न बञ्चरेडाँडाको अनुगमन गरेका हुन् ।  यो अनुगमन उपत्यकाको दैनिक जीवनलाई प्रभावित पारिरहेको फोहोर संकटलाई केन्द्रमा राखेर समाधानको बाटो खोज्ने प्रयासको रूपमा लिइएको छ । काठमाडौं महानगरपालिका र अन्य स्थानीय तहहरूबाट दैनिक १ हजार २ सय टनभन्दा बढी फोहोर उत्पादन हुने उपत्यकामा सिसडोल ल्याण्डफिल्ड साइटको क्षमता सिमित हुँदै गएपछि बञ्चरेडाँडा ल्याण्डफिल्डलाई वैकल्पिक स्थलको रूपमा विकास गरिएको थियो । तर विगतका वर्षहरूमा यस साइटसँग जोडिएका विभिन्न समस्याले गर्दा फोहोर व्यवस्थापन पूर्णरूपमा प्रभावकारी हुन सकेको छैन । मन्त्री घिसिङले अनुगमनका क्रममा साइटको पूर्वाधार, फोहोर विसर्जन प्रक्रिया तथा वातावरणीय प्रभावबारे विस्तृत जानकारी लिएका छन् ।  स्थानीयहरूले फोहोर विसर्जनले हुने वातावरणीय प्रदुषण, पानीका मुहानहरूको असर, स्वास्थ्य जोखिम र सडक अवरोध जस्ता समस्याबारे चिन्ता व्यक्त गर्दै आएका छन् । २०७९ भदौमा स्थानीयहरूले सडक अवरोध गरेपछि फोहोरका गाडीहरू नै बाटोमै रोकिएका थिए । जसले उपत्यकामा फोहोर थुप्रिने संकट निम्त्याएको थियो । अहिले पनि पुरानै स्थिति दोहारिएको छ । २०८० मा भएको एक अध्ययनले बञ्चरेडाँडा क्षेत्रमा फोहोरका कारण माटो र पानीको प्रदुषण बढेको देखाएको थियो । जसले स्थानीय किसानको कृषि उत्पादनमा असर पुर्याएको छ ।  स्थानीयहरूले विगतमा सरकारसँग १८ बुँदे सहमति गरे पनि ती कार्यान्वयन नभएको भन्दै पटकपटक विरोध प्रदर्शन गरेका छन् । असोज २०८२ मा भएको छलफलमा पनि सहमति जुट्न सकेन । जसले गर्दा फोहोर विसर्जनमा अवरोध सिर्जना भएको थियो । यी समस्याहरूले गर्दा उपत्यकाको फोहोर व्यवस्थापन दिगो हुन सकेको छैन । स्थानीयहरूले स्वास्थ्य जाँच, मुआब्जा तथा पूर्वाधार विकासको माग गर्दै आएका छन् । अनुगमनका क्रममा मन्त्री घिसिङले फोहोर छुट्याउने प्रक्रियालाई कडाइका साथ लागू गर्न र स्थानीयहरूसँगको सहमति कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।   

पहिराले कान्तिलोकपथ अवरुद्ध

बागमती । हेटौँडा–काठमाडौं जोड्ने कान्तिलोकपथमा यातायात सेवा अवरुद्ध भएको छ । अविरल वर्षासँगै मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखास्थित सडकमा ढुङ्गा खस्दा सो सडकमा आवातजावत रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । पहिरो पन्छाएर सडक सञ्चालन गराउन डोजर र जनशक्ति परिचालन गरिएको उनले बताए । त्यसैगरी, हेटौँडा–काठमाडौं जोड्ने हेटौँडा–कुलेखानी–सिस्नेरी–दक्षिकाली सडक अझै सञ्चालन हुनसकेको छैन । अविरल वर्षासँगै मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा पहिरो खस्दा शनिबार साँझबाट सो सडक अवरुद्ध भएको थियो । प्रहरी नायब उपरीक्षक बोगटीका अनुसार सडक अवरुद्ध भएपछि काठमाडौँबाट हेटौँडा आउने र हेटौँडाबाट काठमाडौं जाने सवारीसाधन बीच बाटोमै रोकिएका छन् । पहिरो पन्छाउने कार्य भइरहे पनि निरन्तर वर्षाका कारण माटो भिजेको र ढुङ्गामाटो झर्ने क्रम जारी रहेकाले बाटो खुलाउन समस्या भइरहेको प्रहरी नायब उपरीक्षक बोगटीले बताए । सडक सञ्चालन गराउन समय लाग्ने भएकाले वैकल्पिक सडकको प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ । रासस

महामन्त्रीद्वयले प्रधानमन्त्रीलाई भने - एमाले पनि चुनावबाट भाग्न सक्दैन, सहमतिमा ल्याउने प्रयास गर्दैछौं

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न राजनीतिक दलका नेताहरूसँग निर्वाचनका विषयमा परामर्श जारी राखेकी छन् । यसै सन्दर्भमा उनले नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेकी छन् । छलफलका क्रममा प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनबारे हालसम्म सरकार र राजनीतिक दलका तर्फबाट भएका तयारी तथा आगामी दिनमा गर्नुपर्ने कामका विषयमा छलफल गरेको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जानकारी दिए । प्रधानमन्त्री कार्कीले निर्वाचनमा राजनीतिक दलको स्पष्ट प्रतिबद्धता आउनुपर्नेमा जोड दिएकी छन् । सो क्रममा महामन्त्रीद्वयले भने, ‘औपचारिक निर्णय गर्न बाँकी भए पनि कांग्रेस निर्वाचनमा जान प्रतिबद्ध छ। शीघ्र यसबारे आधिकारीक निर्णय पनि गर्छौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पनि राष्ट्रलाई निकास दिनका लागि निर्वाचनबाट भाग्न सक्दैन भन्ने विश्वास छ । एमालेलाई सहमतिमा ल्याउन सरकारले पनि थप प्रयास गर्नुपर्ने देखिन्छ। हामी पनि प्रयासरत छौँ ।’ उनीहरूले आफ्नो पार्टीले जेनजी युवासहित अन्य दलसँग पनि शीघ्र निर्वाचनलगायत समसामयिक विषयमा गहन संवाद गर्ने बताए । महामन्त्रीद्वय थापा र शर्माले जेनजी युवालगायत सबै राजनीतिक दलसँग गहन छलफल गरेर युवा आन्दोलनका मागलाई निर्वाचन अघि केकसरी सम्बोधन गर्न सकिन्छ र निर्वाचनपछिको संसद्को पहिलो बैठकले केके निर्णय गर्ने भन्ने विषयमा अहिले नै सहमति गरेर जानुपर्ने धारणा राखेका थिए। प्रधानमन्त्री कार्कीले एमाले नेतालाई पनि छलफलका लागि बोलाएको उनको सचिवालयले जनाएको छ । आज एमाले सचिवालय बैठक भएकाले छलफल अर्को दिन गर्ने एमाले नेतृत्वले बालुवाटारमा जानकारी गराएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठले जानकारी दिए । प्रधानमन्त्री कार्कीले यसअघि पनि विभिन्न चरणमा फरकफरक दलका नेताहरूसँग छलफल गरेकी थिइन् । प्रधानमन्त्रीकै आह्वानमा यसअघि सरकार, राजनीतिक दल र जेनजी युवाबीच त्रिपक्षीय संवाद पनि भइसकेको छ ।