एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा ७ जना घाइते

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मनहरीमा आज बिहान एम्बुलेन्स र मिनी ट्रक एकापसमा ठोक्किँदा सात जना घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग१ख ५६५९ नम्बरको मिनी ट्रक र विपरीत दिशाबाट जाँदै गरेको लुप्र ०१–००१ झ ००४६ नम्बरको एम्बुलेन्स ठोक्किँदा सात जना घाइते भएका हुन् । दुर्घटनामा एम्बुलेन्समा सवार छ जना र मिनी ट्रक चालक गरी सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक दीपककुमार कार्कीले जानकारी दिए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।  दुर्घटनामा एम्बुलेन्स चालक रोल्पाको थवाङ गाउँपालिका–२ बस्ने २४ वर्षीय कुशल परियार, सोही ठाउँ बस्ने ६१ वर्षीया जुनराखी बुढा मगर, २५ वर्षीया अन्जना बुढा मगर, तीन वर्षीय युवान बुढा मगर, पूर्वी रुकुम भुमे गाउँपालिका–७ बस्ने ३६ वर्षीया चिजामाया घर्ती, रोल्पाको थवाङ गाउँपालिका–२ बस्ने ६० वर्षीया धनप्रसाद बुढा मगर घाइते भएका छन् । घाइतेमध्ये २५ वर्षीया अन्जना बुढा मगरको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक कार्कीले बताए । घाइतेहरुको बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ ।  

जापान सरकारद्वारा नाबालिगहरूको सुरक्षाका लागि कडा सामाजिक सञ्जाल जाँचको आह्वान

काठमाडौं । जापान सरकारले नाबालिग तथा कम उमेरका सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको सुरक्षाका लागि कडा उमेर प्रमाणिकरण लगायतका आवश्यक प्रतिबन्धहरु लागु गरेर सामाजिक जिम्मेवारी बलियो बनाउन आह्वान गरेको छ । क्योडो न्यूजका अनुसार जापान सरकाले सञ्चार मन्त्रालयलाई अन्य देशहरूमा देखिएको जस्तै पूर्ण उमेर–आधारित प्रतिबन्ध उपयुक्त नहुन सक्ने भन्दै सामाजिक सञ्जालको महत्व र उपयोगिता कायम रहने गरी सञ्चार उपकरणको लागि सुरक्षित रुपमा चलाउन सकिने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।  जापान सरकारको प्रतिवेदनले उनीहरूको शारीरिक र मानसिक स्वास्थ्यको रक्षा गर्ने र सामाजि सञ्जालमा युवाहरूको निर्भरता कम गर्ने उद्देश्यले उपायहरूको वैकल्पिक व्यवस्था गरिने जनाएको छ । यो आवाह्न प्रविधिको तिव्र विकास र सामाजिक सञ्जालको उच्च उपयोगको बीचमा आएको छ , जसले आपराधिक गतिविधिहरूमा नाबालिगहरूको संलग्नता सहित उनीहरूको हानिकारक प्रभावहरू न्युनिकरण गर्ने उपायको खोजी गर्ने जनाइएको छ ।  क्योडो न्यूजका अनुसार, यो प्रयास हानिकारक वेबसाइटहरूमा पहुँच रोक्ने उदेश्यले  अभिभावकको निगरानीको रूपमा आएको हो । गत वर्ष देखि जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले युवा प्रयोगकर्ताहरूको सुरक्षामा सामाजिक सञ्जाल र स्मार्टफोन अपरेटिङ सिस्टमको भूमिका विस्तार गर्ने विषयमा छलफल गरिरहेको जनाइएको छ । पछिल्लो समयमा प्रस्ताव गरेका देशहरूको सूचीमा जापान सामावेश भएको छ भने ती मध्ये धेरैले नाबालिगहरूमा सामाजिक सञ्जालको प्रयोग सम्बन्धी कडा कानून लागू गरेका छन् । फ्रान्सले १५ वर्ष मुनिका बालबालिकाका लागि समाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध गर्न कानुनी प्रक्रियालाई छिटै टुङ्ग्याउने लक्ष्य राखेको छ भने अस्ट्रेलियाले गत वर्ष १६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा पूर्ण प्रतिबन्ध लगाएको छ । यसैगरी स्पेन र डेनमार्कले  यो निर्णय माथि विचार गरिरहेको जनाइएको छ । रासस  

५२० किमी रेन्जसहितको जीडब्लूएमको नयाँ विद्युतीय एसयूभी नेपालमा आउँदै

काठमाडौं । जीडब्लूएमको आधिकारीक बिक्रेता भीजी इम्पेक्सले नेपाली विद्युतीय सवारीसाधन बजारमा नयाँ ऊर्जा र अत्याधुनिक प्रविधिसहित प्रवेश गर्ने तयारी गरेको छ । विश्वका १७० भन्दा बढी देश तथा क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्दै लाखौं ग्राहकको विश्वास जित्न सफल कम्पनीले नेपालका लागि नयाँ पुस्ताको विद्युतीय एसयूभी सार्वजनिक गर्ने तयारीमा रहेकाे छ । यद्यपि, कम्पनीले उक्त मोडलको औपचारिक घोषणा गरिसकेको छैन, प्रारम्भिक विवरणहरू सार्वजनिक भएसँगै अटोमोबाइल क्षेत्र तथा विद्युतीय सवारी पारखीहरूबीच उत्सुकता बढेको छ । कम्पनीअनुसार, उक्त नयाँ एसयूभीमा करिब ५२० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज, स्मार्ट डिजिटल प्रविधि, उन्नत कनेक्टिभिटी, आधुनिक सुरक्षा प्रणाली तथा सहज ड्राइभिङ अनुभव प्रदान गर्ने विभिन्न सुविधाहरू समावेश हुने अपेक्षा गरिएको छ। आकर्षक डिजाइन, प्रिमियम बाह्य संरचना र विशिष्ट लाइटिङ सिग्नेचरले यसलाई सडकमा फरक पहिचान दिने विश्वास गरिएको छ । विशेषगरी, गाडीको बाहिरी सतहमा बहु–तह सुरक्षात्मक प्रविधि प्रयोग गरिएको बताइएको छ, जसले सानातिना स्क्र्याचहरूलाई सूर्यको तापबाट स्वतः पुनःस्थापित गर्न सक्ने क्षमता राख्ने चर्चा छ, जसले गाडीको सौन्दर्य र चमकलाई लामो समयसम्म कायम राख्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ । जीडब्लूएमले विश्व बजारमा इलेक्ट्रिक मोबिलिटी, स्मार्ट कनेक्टिभिटी, सुरक्षित यात्रा तथा प्रयोगकर्ता–केन्द्रित नवप्रवर्तनमार्फत आफ्नो छुट्टै पहिचान स्थापित गर्दै आएको छ र यही अनुभव तथा प्रविधिको संयोजन नेपाली ग्राहकले पनि प्रत्यक्ष अनुभव गर्न पाउने अपेक्षा गरिएको छ । नेपालमा विद्युतीय सवारीसाधनप्रतिको बढ्दो आकर्षण, पूर्वाधार विस्तार र वातावरणमैत्री यातायातप्रतिको सकारात्मक सोचका बीच कम्पनीको नयाँ मोडललाई बजारको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । कम्पनीले यस सम्बन्धमा थप जानकारी तथा औपचारिक घोषणा निकट भविष्यमा सार्वजनिक गर्ने जनाएको छ ।