जेनजीका माग पूरा नगरेको भन्दै सरकारविरुद्ध प्रदर्शन, सुरक्षा व्यवस्था मजबुत
काठमाडौं । जेनजीहरुका माग पूरा नगरेको भन्दै अन्तरिम सरकारविरुद्ध प्रदर्शन गर्न पुगेका केही अभियन्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार बिहान माईतीघर मण्डलामा जेनजीका मागहरु सरकारले पूरा नगरेको भन्दै प्रदर्शनका लागि पुगेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा डाक्टर निकोलस भुसाल र स्वतन्त्र अभियन्ता एसपी साह लगायत रहेका छन् । उनीहरू जेनजीहरुले अन्तरिम सरकारसँग राखेका मागहरु पूरा गर्न ढिलाइ गरेको, भ्रष्टाचार र बेथिति विरुद्ध कुनै कदम नचालेको, जेनजी पुस्ताले गत भदौ २३ गते गरेको आन्दोलनमा दमन गर्नेहरूलाई पक्राउ नगरिएको भन्दै विभिन्न माग राखेर प्रदर्शन गर्न पुगेका हुन् । प्रहरीले पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखेका छ । जेनजीका नाममा माईतीघरसहित काठमाडौंका विभिन्न स्थानमा गतिविधिहरू बढ्दै गएपछि सुरक्षा व्यवस्था मजबुत बनाइएको छ ।
नेपाली कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारीहरूको बैठक बिहीबार दिउँसो १ बजे बस्ने गरी बोलाएका छन् । पार्टी मुख्यालयमा बस्ने उक्त बैठकमा आगामी रणनीति, आन्तरिक व्यवस्थापन र केन्द्रीय समिति बैठकका एजेन्डाका विषयमा विस्तृत छलफल हुने बताइएको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पनि बैठक यही समय हुने जानकारी दिएका छन् । उनले बैठकमा पार्टीका वरिष्ठ नेता र पदाधिकारीहरूको उपस्थिति हुने बताए । नेताहरूले यो बैठकलाई आगामी केन्द्रीय समितिको बैठक र पार्टीभित्रको संगठनात्मक संरचनाका लागि एउटा सुरुवात हुने व्याख्या गरेका छन् ।
राष्ट्रिय परिचयपत्र बनाउने सेवा बिहानैदेखि
सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले सेवाग्राहीको अत्यधिक चापका कारण बिहान ७ः०० बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रदान गर्ने भएको छ । दसैँको अवसरमा घर फर्किएकाहरू राष्ट्रिय परिचयपत्र बनाउन प्रशासन कार्यालय आउन थालेपछि सङ्ख्या ह्वात्तै बढेको हो । सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार हाल दैनिक २५० देखि ३०० जनासम्मले राष्ट्रिय परिचयपत्र बनाउन आउने गरेका छन् । दसैँअघिको तुलनामा यो सङ्ख्या दोब्बर हो । 'सेवाग्राहीको सहजताका लागि सेवा समय परिवर्तन गरिएको हो', बरालले भने । उनका अनुसार अर्को सूचना प्रकाशित नभएसम्मका लागि यो समयतालिका लागू हुनेछ ।