वीर अस्पतालमा १० वटा भाइरसको परीक्षण एकै पटक, समय र खर्च दुवै बचत
काठमाडौं । वीर अस्पतालमा श्वासप्रश्वास सम्बन्धी १० वटा विभिन्न रोगका भाइरसको एकै पटक परीक्षण सुरु गरिएको छ । अस्पतालको मेडिकल जेनेटिक्स (अनुवाङ्शिक) प्रयोगशालामा श्वासप्रश्वास सम्बन्धी १० प्रकारका रोगको भाइरसको एकै पटक एकै समयमा परीक्षण सुरु गरिएको अस्पतालका मेडिकल अनुवाङ्शिक विभागका प्रमुख डा. निलम ठाकुरले जानकारी दिइन्। उनले बिरामीको एउटा रोगको भाइरसको फरक–फरक परीक्षण गर्दा रोग पत्ता लगाउन समस्या भएकाले एकै पटक १० वटा रोगका भाइरसको परीक्षण गर्न थालिएको बताइन् । 'पहिले ति १० वटा रोगका भाइरसको फरक–फरक समयमा परीक्षण गर्ने गरेका थियौं, तर अहिले एकै पटक एकै समयमा परीक्षण गर्दा खर्च पनि कम लाग्दछ', उनले भनिन्, 'कुन भाइरसका कारणले कुन रोग लागेको हो भन्ने कुरा पनि पत्ता लाग्दछ, धेरै पटक परीक्षण आवश्यक पर्दैन ।' उनले भाइरसले रोग पत्ता लगाएपछि अस्पतालमा नै उपचार गरिने बताइन् । यस्तै प्रयोगशालामा मस्तिष्क सङ्क्रमण सम्बन्धी छ वटा भाइरसको पनि एकै पटक परीक्षण सुरु गरिएको विभागका प्रमुख डा. ठाकुरले जानकारी दिइन् । प्रयोगशालामा फोक्सोबाहेक अन्य भागमा लाग्ने क्षयरोगको पनि परीक्षण गरिन्छ । विसं २०७३ मा अनुवाङ्शिक (जेनेटिक) रोगको पहिचान र उपचार गर्न स्थापना गरिएको प्रयोगशालामा जनशक्ति तथा उपकरण अभावले रोगको परीक्षण नियमित हुन सकेको छैन । जिन (वङ्श)मा भएको अवस्थाले जन्मिने रोगलाई अनुवांशिक रोग भनिन्छ । 'सरकारी रुपमा अनुवाङ्शिक रोगको पत्ता लगाउने यही नै प्रयोगशाला रहेको छ', उनले भनिन्, 'तर, हामीसँग तीन जना मात्र जनशक्ति भएको र उपकरण पनि प्रयाप्त मात्रामा नभएका कारणले दैनिक रोगको परीक्षण गर्न सकिरहेका छैनौं ।' उनका अनुसार एक दिन बिराएर पालोअनुसार रोगहरुको परीक्षण गर्ने गरिएको छ । अहिले प्रयोगशालामा २५ वटा अनुवाङ्शिक रोगका भाइरसको नियमति परीक्षण गर्ने गरिएको छ । रासस
नेचुङ भन्सारमा तीन अर्ब ४९ करोड राजस्व संकलन
मुस्ताङ । नेपाल–चीन सिमानास्थित नेचुङ भन्सार कार्यालयले तीन अर्ब ४९ करोड ८५ लाख ११ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । उक्त रकम गत भदौ ३१ देखि यही कात्तिक २५ गतेसम्म संकलन भएको हो । भन्सार प्रमुख रमेश खड्काका अनुसार उक्त अवधिमा एक हजार ६९९ वटा विद्युतीय सवारीसाधन चीनबाट पैठारी भएका छन् । यसैगरी, ८२८ वटा मालवाहक सवारीसाधन आयातित सामग्री लिएर आएका छन् । नेपालबाट ४१ वटा मालवाहक सवारीसाधन हस्तकलाका सामग्री लिएर चीनतर्फ गएका छन् ।
जेनजीका माग पूरा नभइकन निर्वाचन हुँदैन : सुदन गुरुङ
काठमाडौं । जेनजी प्रतिनिधि सुदन गुरुङले जेनजीले राखेका मागहरु पूरा नभइकन निर्वाचन हुन नसक्ने बताएका छन् । बिहीबार बिहान लैनचौरस्थित खड्का ल्याण्ड प्रालिले सञ्चालन गर्दै आइरहेको नेपाल स्काउटको जग्गामा रहेका संरचना हटाउने प्रयोजनका लागि त्यहाँ पुगेका उनले यस्तो बताएका हुन् । उनले केही बाहेकका सबै जेनजीहरु एक ठाउँमा रहेको भन्दै माग पूराहुनुपर्ने बताए । जेनजीहरुका माग पूरा नभए अर्को आन्दोलन हुने चेतावनी दिँदै यसको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्यालले लिनुपर्ने बताए । जेनजीका हरेक वार्ताहरुमा गृहमन्त्रीको संलग्नता रहेको र आफूलाई माग पूरा हुने विश्वास गृहमन्त्रीले दिएको भएपनि अहिले त्यसअनुसार काम नभइरहेको उनको भनाइ छ । उनले भने, ‘समग्र हामी जेनजी हरुको टिम एक ठाउँमा छ । एक दुई जना तलमाथि हुनुहुन्छ । उहाँहरुलाई नै बोलाउँछौँ । माग पूरा नभइकन कसरी चुनाव हुन्छ । यो सबैकुरा गृहमन्त्रीज्युले जिम्मा लिनुपर्छ । उहाँ हामीसँग जंगीअड्डामा पनि सँगै हुनुहुन्थ्यो । माग पूरा हुन्छ, हुँदैन उहाँहरुलाई थाहा थिएन र ? गिरीबन्धुमा म लडेको हो भनेर कन्भिन्स गरेको मान्छे । अहिले आएर चुनाव चुनाव भन्नुहुन्छ ।’ आफूहरुका माग पूरा नभए गृहमन्त्रीले धोका दिएको ठहर हुने भन्दै गृहमन्त्रीले जेनजीका माग पूरा गर्न छोडेर निर्वाचनको रटान लगाएको उनको टिप्पणी छ ।