प्रतिनिधि सभा विघटन मुद्दा प्रधानन्यायाधीश राउतको नेतृत्वमा ५ सदस्यीय संवैधानिक इजलास गठन
काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा हेर्न सर्वोच्च अदालतमा पाँच सदस्यीय संवैधानिक इजलास गठन गरिएको छ । इजलासमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र मनोजकुमार शर्मा रहेका छन् । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । त्यसपछि प्रतिनिधि सभाबाट नयाँ सरकार गठन नहुने अवस्था सिर्जना भयो । फलस्वरूप पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको थियो । सोही अन्तरिम सरकारको सिफारिसमा प्रतिनिधि सभा विघटन गरिएको हो ।
प्रधानमन्त्रीको आह्वानमा त्रिपक्षीय छलफल हुँदै
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सरकार, राजनीतिक दल र जेनजी समूहबीच निर्वाचनको वातावरण निर्माणलगायत विषयमा त्रिपक्षीय छलफल हुँदैछ । प्रधानमन्त्री निवासमा बुधबार अपराह्न ४ः०० बजे हुने छलफलमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका प्रमुखलगायत दलका प्रतिनिधि, सरकारका मन्त्रीहरु र जेनजी समूहका अगुवा एवं प्रतिनिधि सहभागी हुनेछन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले निर्वाचन सफल बनाउन चरणबद्ध वार्ता र छलफल जारी रहेको सन्दर्भमा बुधबार त्रिपक्षीय बैठक आह्वान गरिएको जानकारी दिए । आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचनको समग्र वातावरण निर्माणका क्रममा सरकारले राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय र सम्बद्ध पक्षसँग औपचारिक र अनौपचारिक वार्ता र छलफल गर्दै आएको छ ।
बंगालको मौसमी चक्रवात मोचाको प्रभाव नेपालका विभिन्न प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना
काठमाडौं । बंगालको खाडीमा विकसित मौसमी चक्रवात मोचा भारतका बिभिन्न राज्य हुँदै नेपालको पूर्वी भूभागतर्फ प्रवेश गर्ने क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार यो चक्रवातको असरले देशका पूर्वी र मध्य क्षेत्रका अधिकांश भागमा आगामी तीन दिनसम्म भारी वर्षा, मेघगर्जन, चट्याङ तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । 'बंगलाको खाडीमा विकसित चक्रवात मोचा आज भारतको उत्तर–उत्तर पश्चिम दिशातर्फ सर्दै नेपालको पूर्व–मध्य भागमा कात्तिक १२ गते राति प्रवेश गर्ने क्रममा रहेको छ,' विभागले जारी गरेको सूचनामा भनिएको छ । विभागका अनुसार उक्त प्रणालीको प्रभाव मंगलबार रातिदेखि बिहीबारसम्म देशका धेरैजसो भूभागमा पर्नेछ । विशेष गरी मधेश, कोशी र बागमती प्रदेशका थौरै स्थानहरूमा भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ । त्यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका पनि केही स्थानमा मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुन सक्ने विभागले जानकारी दिएको छ । विभागका अनुसार बागमती, गण्डकी, कोशी र कर्णाली प्रदेशका नदी–खोला आसपासका बस्तीहरूमा आकस्मिक बाढीको जोखिम उच्च रहेको छ । बागमती, कन्काई, कमला, तामोर, अरुण, बुढीगण्डकी, त्रिशुली, मर्स्याङ्दी, कालीगण्डकी र राप्ती लगायतका नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने विभागले बताएको छ । विभागका अनुसार विशेष जोखिममा पर्ने जिल्लाहरूमा इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, मकवानपुर, नुवाकोट रहेका छन् । यस्तै चितवन, लमजुङ, तनहुँ, गोरखा, कास्की, पर्वत, बागलुङ, म्याग्दी, स्याङजा, रुपन्देही, नवलपरासी, पाल्पा र गुल्मीमा पनि जेखिम रहेको बिभागले आफ्नो सूचनामा जनाएको छ । दाङ, रोल्पा, प्युठान, रुकुम, सल्यान, सुर्खेत, दैलेख, जाजरकोट र कालीकोटमा समेत जोखिम उच्च रहेको छन् । विभागले जनतालाई बाढी–पहिरो, चट्याङ, हावाहुरी र हिमपातबाट जनजीवन, यातायात, कृषि, पर्यटन लगायतका क्षेत्रमा असर पर्ने सम्भावना भएकाले सुरक्षित स्थानमा रहन सुझाव दिइएको छ । साथै, आकस्मिक परिस्थितिमा विभागको वेबसाइट, सामाजिक सञ्जाल पेज र टोल–फ्रि नम्बर (११४९) सेवामार्फत अद्यावधिक जानकारी लिन पनि अनुरोध गरिएको छ ।