कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने छ । आज दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा, कोशी प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा मध्यम हिमपात र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

गोल्छा ग्रुप र एनपीएलबीच सहकार्य, उत्कृष्ट खेलाडीलाई पल्सर मोटरसाइकल

काठमाडौं । गोल्छा ग्रुपले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि सहकार्य अगाडि बढाएको छ। नक्सालमा बिहीवार एक कार्यक्रम आयोजना गर्दै एनपीएल र गोल्छाले आगामी सिजनका सहकार्य अगाडि बढाएका हुन् ।  गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छा र क्यानका सचिव पारस खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरे ।  सम्झौताअनुरूप एनपिएलका इमर्जिङ प्लेयर, सर्वाधिक विकेटकर्ता र सर्वाधिक रनकर्ताले समान एउटा पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । त्यसबाहेक अन्य आर्थिक पक्ष भने खुलाइएको छैन ।  निर्देशक गोल्छाले लामो समयदेखि खेलकुदमा जोडिरहेको र एनपीएलसँग जोडिनु सुखद पक्ष रहेको बताए । सचिव  खड्काले यो सम्झौताले क्रिकेट विकासमा योगदान पुर्‍याउने आशा राखे । एनपिएलको दोस्रो सिजन आगामी मंसिर १ देखि २७ सम्म हुँदै छ । क्यानको आयोजनामा गत वर्षबाट सुरु भएको एनपिएलमा आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।  जनकपुर बोल्टस पहिलो सिजनको च्याम्पियन हो । जनकपुरले फाइनलमा सुदूरपश्चिम रोयल्स हराएको थियो  । काठमाडौं कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किङ्स, चितवन राइनोज र लुम्बिनी लायन्सले साविक विजेता र उपविजेतासँगै दोस्रो सिजनको उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन् ।  क्यानले मिनी अक्सन पनि गरिसकेको छ । अधिकांश फ्रेन्चाइज टोलीले विदेशी खेलाडी पनि भित्राउँदैछन् ।

प्रधानमन्त्री कार्कीसँग जर्मन राजदूत भोल्जको भेट, राहदानी छपाइमा छिटो सेवा प्रवाह गर्न आग्रह

काठमाडौं । नेपालका लागि जर्मनीका महामहिम राजदूत उडो भोल्जले प्रधानमन्त्री सुशीला कार्कीसँग बिहीबार शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटवार्तामा नेपाल–जर्मनीबीचका द्विपक्षीय हित, विकास सहयोग र आपसी मित्रता सुदृढीकरणका विषयमा विचार–विमर्श भएको थियो । प्रधानमन्त्रीमा कार्की नियुक्त भएपछि उनीहरूबीचको यो पहिलो भेट हो । भेटका क्रममा राजदूत भोल्जले प्रधानमन्त्री कार्कीलाई सफल कार्यकालको शुभकामना दिँदै, जर्मनी नेपालको प्राथमिकताअनुसार आवश्यक सहयोग गर्न सदैव तत्पर रहने बताएका थिए । प्रधानमन्त्री कार्कीले जर्मन सहयोगका लागि धन्यवाद दिँदै, नेपालको राहदानी (पासपोर्ट) छपाइको जिम्मा पाएको जर्मन कम्पनीसँग सम्झौतामा उल्लिखित मितिअगावै काम सुरु गर्न पहल गरिदिन अनुरोध गरिन् । नेपालका नागरिकलाई छिटोछरितो सेवा प्रवाह सुनिश्चित गर्न यो परियोजनामा जर्मन पक्षबाट सहयोग प्राप्त हुने विश्वास उनले व्यक्त गरिन् । जवाफमा राजदूत भोल्जले आफ्नो तर्फबाट सम्बन्धित कम्पनीलाई आग्रह गर्ने र छपाइ कार्य शीघ्र सुरु गर्न सक्दो पहल गर्ने प्रतिबद्धता जनाए । भेटमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, परराष्ट्र सचिव अमृतबहादुर राई लगायत उच्च कूटनीतिक अधिकारीहरूको उपस्थिति थियो ।