१२३ विद्यालयका एक लाखभन्दा बढी विद्यार्थीलाई खानेपानी उपलब्ध गराउँदै नबिल बैंक
काठमाडौं । नबिल बैंक लिमिटेडले विश्व पानी दिवसको अवसरमा ‘नबिल स्वच्छ खानेपानी अभियान’को शुभारम्भ गरेको छ । बैंकका अध्यक्ष निर्वाण चौधरीले १२३ वटा विद्यालयहरूमा आइतबार डिजिटल माध्यमबाट अभियान शुभारम्भ गरेका हुन् । चौधरीले उक्त अभियानले विद्यालयमा अध्ययनरत बालबालिकामा शुद्ध खानेपानी उपलब्ध गराउँदै बालबालिकालाई स्वस्थ तथा सुरक्षित वातावरण प्रदान गरेको उल्लेख गरे । 'नबिल बैंकले सुरु गरेको अभियानमार्फत हालसम्म १२३ विद्यालयमार्फत एक लाखभन्दा बढी विद्यार्थीलाई शुद्ध खानेपानी प्रदान गर्न सफल भएका छौं', अध्यक्ष चौधरीले भने, 'यो परियोजना सञ्चालन गर्न पाउँदा हामीलाई गर्व छ, आगामी दिनमा यस अभियानलाई अझ प्रभावकारी रुपमा सञ्चालन र विस्तार गरिनेछ ।' बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सुरु भएको उक्त अभियान विद्यार्थीको स्वास्थ सुधार, सरसफाइ प्रवद्र्धन र खानेपानीको दिगो पहुँच सुनिश्चित गर्नमा केन्द्रित छ । बैंकले सरकारी र सामुदायिक विद्यालयमा शुद्ध खानेपानीको व्यवस्थापन गर्ने उद्देश्यले उक्त अभियान सञ्चालन गर्दै आएको जनाएको छ । यो अभियान मुलुकका सात वटै प्रदेशमा सञ्चालन गरिएको छ । बैंकका अनुसार अभियानअन्तर्गत हालसम्म कोशी प्रदेशका आठ, मधेश प्रदेशका १६, बागमती प्रदेशका नौ, गण्डकी प्रदेशका १०, लुम्बिनी प्रदेशमा ३६, कर्णाली प्रदेशका १५ र सुदुरपश्चिम प्रदेशका २९ वटा विद्यालयमा शुद्ध खानेपानीको व्यवस्था गरिएको छ । यो अभियानमा स्मार्ट पानीको प्राविधिक सहयोग रहेको जनाइएको छ । नेपालका विद्यालयहरुमा स्वच्छ र सुरक्षित पिउने पानीको पहुँच अझै पनि एक प्रमुख चुनौतीका रुपमा रहेको छ । नेपाल सरकारको तथ्यांकअनुसार करिब ९८ प्रतिशत विद्यालयमा पिउने पानीको पहुँच छ, त्यसमध्ये करिब ६८ प्रतिशत विद्यालयमा पानी शुद्धीकरण गर्ने प्रणाली नै छैन । उक्त समस्यालाई सम्बोधन गर्नका लागि नबिल बैंकले विद्यालय सरसफाइ र स्वच्छता कार्यक्रम प्रमुख प्राथमिकताका साथ सञ्चालन गरेको जनाएको छ । अव्यवस्थित जल व्यवस्थापन, कृषिजन्य बहाव र घरायसी ढलको निकासका कारण पानीका स्रोतहरुमा प्रायः आर्सेनिक, फलाम र हानिकारक किटाणुको संक्रमण हुन्छ । जसले गर्दा बालबालिकाहरु असुरक्षित पेय पदार्थसँग सम्बन्धित बढ्दो स्वास्थ्य जोखिमहरुको सामना गर्न बाध्य हुन्छन् ।
एकल कृषि कर्जा सुरक्षण योजनाबारे सुर्खेतमा कार्यशाला, नमुना परियोजना लागू गर्ने तयारी
काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोष र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को सहकार्यमा एकल कृषि कर्जा सुरक्षण योजना सम्बन्धी कार्यशाला सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ । चैत्र ५ गते बिहीबार वीरेन्द्रनगरस्थित होटल स्क्वायरमा आयोजित कार्यशालामा कोष, यूएनडीपी तथा कर्णाली, सुदूरपश्चिम र बाग्मती प्रदेशका नौ स्थानीय तहका पदाधिकारीहरूको सहभागिता रहेको थियो । निक्षेप तथा कर्जा सुरक्षण कोष, यूएनडीपी तथा छनोट भएका नौ स्थानीय तहको संयुक्त योगदानमा छुट्टै कोष स्थापना गरी कृषिसँग सम्बन्धित तोकिएका क्षेत्रमा लगानी प्रवर्द्धन गर्ने तथा आम नागरिकको कर्जामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यसहित एकल (ऋणीगत) कृषि कर्जा सुरक्षण कार्यक्रम नमुना परियोजनाका रूपमा लागू गर्ने तयारी भइरहेको जनाइएको छ । सोही परियोजनाबारे स्थानीय तहबाट पृष्ठपोषण र सुझाव संकलन गर्न कार्यशाला आयोजना गरिएको हो । नमुना कार्यक्रमअन्तर्गत कर्णाली प्रदेशबाट जुम्लाका चन्दननाथ, पातारासी र तातोपानी गाउँपालिका तथा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका गरी चार स्थानीय तह छनोट भएका छन् । यस्तै सुदूरपश्चिम प्रदेशबाट बाजुराका बुढीगंगा, बुढीनन्दा र त्रिवेणी नगरपालिका तथा कैलालीको धनगढी उपमहानगरपालिका गरी चार स्थानीय तह र बाग्मती प्रदेशबाट काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका छनोटमा परेका छन् । कार्यशालामा सहभागी जनप्रतिनिधि तथा कर्मचारीहरूले परियोजनासम्बन्धी विभिन्न जिज्ञासा र सुझाव प्रस्तुत गरेका थिए । प्राप्त सुझावमाथि थप छलफल गरी उपयुक्त सुझाव समेट्दै योजनालाई अन्तिम रूप दिइने निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले जानकारी दिए ।
झापामा पहिलोपटक व्यावसायिक मखना खेती सुरु हुँदै
झापा । मुलुकको होचो स्थानका रूपमा चिनिने झापाको कचनकवल गाउँपालिकामा पहिलोपटक व्यावसायिक रूपमा मखना (फक्स नट) खेती गर्ने तयारी भएको छ । कचनकवल-४ स्थित प्रसिद्ध पर्यटकीय क्षेत्र कचनकवल स्तम्भ आसपासको सिमसार क्षेत्रलाई सदुपयोग गर्दै स्थानीय किसानले मखनाखेतीको तयारी गरेका हुन् । गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईका अनुसार कचनकवल र छिमेकी झापा गाउँपालिकाका किसान सङ्गठित भएर पहिलो चरणमा करिब २५ बिघा जमिनमा मखनाखेती लगाउँदैछन् । अर्को वर्षदेखि १५० बिघाभन्दा बढी क्षेत्रफलमा खेती विस्तार गर्ने तयारी गरिरहेको उनले जानकारी दिए । 'यसको बजार अवस्था र उत्पादन तथा बिक्रीवितरणबारे हामीलाई पनि जानकारी छैन', उनले भने 'किसानले ठूलो योजनाका साथ खेती लगाउँदै हुनुहुन्छ, जिल्लामै यसको पहिलोपटक खेती गर्न लागिएको हो ।' 'स्थानीय विनोदकुमार गणेशसहित अगुवा किसानले बाँझो र दलदले सिमसार जमिनलाई भाडामा लिएर यसको व्यावसायिक खेती गर्ने बीउ उत्पादन गरिरहेका छन्', उपाध्यक्ष भट्टराईले भने । यसको रोपन वैशाख र जेठ महिनाभित्र गरिने उनले जानकारी दिए । परम्परागत खेतीभन्दा भिन्न हुनुका साथै विशेषगरी पानी जम्ने सिमसार क्षेत्रमा फस्टाउने मखनाका लागि कचनकवलको भूगोल निकै उपयुक्त मानिएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ । कृषि शाखाका प्रमुख सङ्गम सापकोटाका अनुसार प्रशस्त पानी चाहिने यस खेतीका लागि यहाँको ओसिलो जमिन प्राकृतिक रूपमा वरदान सावित भएको छ । विगतमा छिमेकी मुलुक भारतको विहार र आसपासका क्षेत्रमा मात्र सीमित रहेको यो खेती नेपालमा व्यावसायिक रूपमा सुरु हुनुलाई कृषि क्षेत्रको ठूलो उपलब्धिका रूपमा लिइएको उनको भनाइ छ । कृषि शाखाले यस खेतीको प्राविधिक पक्ष र सम्भाव्यताको अनुगमन गर्ने तयारी गरिरहेको छ । स्वास्थ्यका दृष्टिकोणले ‘सुपरफुड’ मानिने र बजारमा उच्च माग रहेको मखनाको उत्पादनले स्थानीय किसानको आर्थिकस्तर उकास्ने मात्र नभई, कचनकवलको पर्यटन र पहिचानलाई नयाँ उचाइ दिने विश्वास लिइएको कृषि शाखा प्रमुख सापकोटाले बताए । अहिलेसम्म मखनाको बजार र प्रशोधन प्रविधिबारे स्थानीयस्तरमा पर्याप्त जानकारी नभए पनि किसानले ठूलो लगानी र योजनाका साथ सुरु गरेकाले यसको खेतीले झापामा कृषि विविधीकरणको नयाँ आयाम थप्ने उनले विश्वास व्यक्त गरे । रासस