पर्सामा २० लाख रुपैयाँ बरामद

वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल पर्साले २० लाख रुपैयाँ हुण्डी रकमसहित एक जनालाई वीरगञ्जबाट पक्राउ गरेको छ ।     सशस्त्र प्रहरीले शुक्रबार वीरगञ्ज महानगर–१६ स्थित भन्सार प्रवेशद्वारमा जाँचका क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ बिके ८६०३ नम्बरको मोटरसाइकलमा सवार विनय शङ्कर साह तुरहालाई सो परिमाणको रकमसहित पक्राउ गरेको हो ।   सशस्त्र प्रहरी बल नेपाल पर्साका सूचना अधिकारी मोहन निरौलाका अनुसार मोटरसाइकलमा सवार तुरहाले मोटरसाइकलको सिटकभरमा सो रकम लुकाएर राखेका थिए ।       बरामद भएको रकमसहित तुरहालाई थप अनुसन्धानका लागि वीरगञ्ज भन्सार कार्यालयलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । ती व्यक्तिबाट वीरगञ्ज भन्सार एजेन्ट सङ्घ पर्सा लेखिएको परिचयपत्र समेत बरामद भएको छ ।     

काठमाडौं उपत्यकासहित देशभर मुसलधारे वर्षा

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर मुसलधारे वर्षा भएको छ । नेपालमा पश्चिमी न्युन चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ ।  जसअनुसार हावाहुरी चट्याङसहित देशभर असिना पानी परेको हो । काठमाडौं उपत्यकासहित बुटवल, अर्घाखाँची, ओखलढुंगासहित देशका विभिन्न भूभाग दिउँसै अन्धकारमय बनेको थियो । जसकारण जनजीवन अस्तव्यस्त बनेको थियो । त्यसो त, मौसम विभागले पनि आज शुक्रबार कोशी, मधेस, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशको धेरै स्थानहरू, वागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग /असिना/हावाहुरी सहित मध्यम  वर्षा/हिमपातको सम्भावना रहेको बताएको थियो । कोशी र मधेस प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको अनुमान गरेअनुसार नै देशभर वर्षा भएको हो । वर्षाका करण लामोसमयको वायु प्रदुषण कम भएको छ भने खेतीबालीलाई भने राहत मिलेको छ ।  

वन क्षेत्रलाई अर्थतन्त्रको मुख्य खम्बा बनाउनुपर्छ : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले नेपालको अर्थतन्त्रमा वन क्षेत्रको भुमिका महत्वपूर्ण रहेको बताउँदै यसलाई मुलुकको समृद्धिको आधार बनाउनुपर्नेमा जोड दिएका छन् । शुक्रबार संघीय संसद भवनको प्राङ्गणमा वृक्षारोपण कार्यक्रममा सहभागी हुँदै उनले वन क्षेत्रलाई मुलुकको समृद्धिको आधार बनाउनुपर्नेमा जोड दिएका हुन् ।  मन्त्री खनालले मन्त्रालयमा हुँदा वन क्षेत्रले नेपालको अर्थतन्त्रमा पुर्याउन सक्ने योगदानबारे नजिकबाट बुझ्ने अवसर पाएको बताए । वन क्षेत्रको योगदानलाई अगाडि बढाउन सरकारले आधा दर्जनभन्दा बढी महत्वपूर्ण कदमहरू चालिसकेको जानकारी दिए । नेपालको पर्यटन क्षेत्रबाट हुने आम्दानीको ठूलो हिस्सा वन क्षेत्रकै कारण प्राप्त हुने मन्त्री खनालको भनाइ छ । नेपालका ट्रेकिङ रुटहरूमा विदेशी पर्यटकहरू जानुको मुख्य कारण पनि यहाँको वन र प्राकृतिक सौन्दर्य नै रहेको उनले उल्लेख गरे ।  उनले नेपाललाई विश्वमा चिनाउन ‘बायोस्फेयर रिजर्भ’ घोषणा गर्न सकिने थुप्रै क्षेत्रहरू रहेको र यस विषयमा वन मन्त्रालयका अधिकारीहरूसँग छलफल भइरहेको समेत बताए ।  उनले भने, ‘वन मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच सहकार्य गरेर नेपाली काठ उद्योगमा आधारित उद्योगहरूलाई बढावा दिने साझा सहमति भइसकेको छ । यसलाई कार्यान्वयनको पक्षमा पनि केही गृहकार्य हुँदैछ ।’ मन्त्री खनालले वनको क्षेत्रफल बढेकोमा मात्र खुशी नभई, त्यस अनुरुप मुलुकको अर्थतन्त्रमा वनलाई क्षति नपुग्ने गरी कसरी योगदान पुर्याउन सकिन्छ भन्ने विषयमा आगामी कार्यक्रम र नीतिहरू निर्देशित हुनुपर्नेमा जोड दिए ।