इनिशा विकको बलात्कारपछि हत्याको विरोध गर्दै माईतीघरमा प्रदर्शन
काठमाडौं । सुर्खेतकी इनिशा विकको सामुहिक बलात्कारपछि भएको विभत्स हत्याको विरोधमा शनिबार पनि काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन गरिएको छ । अधिकारकर्मी र सर्वसाधारणको सहभागितामा उक्त प्रदर्शन गरिएको हो । उनीहरुले दोषीलाई कडाभन्दा कडा कारबाही गर्न र महिला हिंसा अन्त्य गर्न माग गरेका छन् । प्रदर्शनकारीहरुले ‘इनिशालाई न्याय देउ’, ‘बलात्कारीलाई फाँसी देउ’, ‘महिला सुरक्षाको ग्यारेन्टी गर’ जस्ता नारा लेखिएका प्लेकार्डहरु बोकेका थिए । प्रदर्शनमा सहभागी अधिकारकर्मीहरुले राज्यले महिला र बालबालिकाको सुरक्षामा ध्यान दिन नसकेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
वाग्मती सफाइ : तीन मेट्रिकटन फोहर व्यवस्थापन
काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको वाग्मती सफाइ महाअभियानका क्रममा सिनामङ्गलस्थित वाग्मती पुल क्षेत्रमा सफाइ गरी तीन मेट्रिकटन नकुहिने फोहर व्यवस्थापन गरिएको छ । आजको सफाइबाट उठाइएको फोहर काठमाडौं महानगरपालिकाले व्यवस्थापन गरेको हो । सफाइमा पूर्वमुख्यसचिव एवं चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, काठमाडौं महानगरपालिका–९ का वडा सदस्य नवराज अधिकारी, अधिकार सम्पन्न वाग्मती समितिका कर्मचारीसहित वाग्मती सफाइ अभियानकर्मीको उपस्थिति रहेको अभियाकर्मी किशोरसिंह शाहीले जानकारी दिए । विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ महाअभियानको आज ६७१औँ शृङ्खला हो । महाअभियान सुरु भएदेखि प्रत्येक शनिबार बिहान करिब दुई घण्टा वाग्मती नदीमा सफाइ हुने गरेको छ । वाग्मती सफाइ महाअभियानबाट प्रभावित भएर काठमाडौंमा यसका सहायक नदी, चक्रपथका विभिन्न खण्ड र राजधानी बाहिरका नदी क्षेत्रमा सफाइ अभियान सुरु भएको छ । सफाइ अभियानका क्रममा पछिल्लो समय कुहिने फोहरबाट कम्पोष्ट मल बनाएर नकुहिने फोहर सम्बन्धित स्थानीय तहले व्यवस्थापन गर्दै आएका छन् ।
भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
काठमाडौं । काठमाडौंको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-१२ भोटेबहालमा कालिमाटीबाट त्रिपुरेश्वरतर्फ आउँदै गरेको ओमजनता यातायातको ठक्करबाट भारतीय नागरिक ४५ वर्षीय पदम उपाध्याय र ३७ वर्षीय सतिशकुमार कुसवाहको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । बागमती प्रदेश-३-०१-००५ ख ९२९८ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा गएराति राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिए । बसचालक दोलखा घर भई कपन बस्ने ३५ वर्षीय मानबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे प्रहरी वृत्त कालिमाटीले अनुसन्धान गरिरहेको प्रवक्ता सुवेदीले बताए ।