नक्कली सुन देखाएर ठगी गर्ने वाईबा पक्राउ

काठमाडौं । नक्कली सुन देखाएर १४ लाख रुपैयाँ ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । सोमबार सिन्धुलीका ३८ वर्षीय विजय लामा भन्ने धनवीर वाईबालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार झोला भित्र लुकाई गरी राखेको पहेँलो रङको बिष्कुट आकारको ५४७.६९० ग्रामको सुन जस्तो देखिने पहेँलो धातु, बिल १ थान, चेकबुक १ थान, राहदानी १ थान, मोबाइल ३ थान, सुनको मुद्रा १ थान र नगद १ हजार २० रुपैयाँसहित प्रहरीले वाइबालाई नियन्त्रणमा लिएको हो । काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए ।     

प्रहरीको हेल्मेटसहित काठमाडौंबाट लागुऔषध कारोबारी पक्राउ

काठमाडौं । दिउँसो र रातिको समय पारेर लागूऔषध कारोबार गर्ने तीन जना व्यक्ति बालाजुबाट पक्राउ परेका छन् ।  सोमबार बालाजुबाट लागुऔषध खैरो हिरोईन जस्तो पदार्थ १८ ग्रामसहित धनुषाका १९ वर्षीय आदित्य मण्डल, भारतका २७ वर्षीय जितु राय र सिन्धुलीका ४१ वर्षीय उत्तरबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूको साथबाट खैरो हिरोईन जस्तो पदार्थ १८ ग्राम, नेपाली नगद ५६ हजार र भारतीय २ हजार ८ सय रुपैयाँ बरामत गरिएको प्रहरीले जनाएको छ।  त्यसैगरी, जेन्जी आन्दोलनको क्रममा लुटिएको प्रहरी हेल्मेट १ थान र मोबाइल ३ थान बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय बर्दिवास महोत्तरीबाट हतियार देखाई डाँका गरेकोले कार्कीमा मुद्दा चलेको थियो। त्यसैगरी, २०७७ भदौ ४ गते जिल्ला प्रहरी परिसरबाट हातहतियार तथा खरखजाना सम्बन्धि कसुरमा कार्कीलाई मुद्दा चलेको थियो ।   

युगाण्डाबाट ठमेलमा आएर यौनधन्दा गराउने २० जना महिला पक्राउ

काठमाडौं । ठमेलमा अनैतिक क्रियाकलाप गर्ने युगाण्डाका २० जना विदेशी महिला पक्राउ परेका छन् । घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरूलाई सार्वजनिक स्थानमै अवैध रूपमा पैसामा बार्गेनिङ गरी यौन धन्दामा संलग्न गराउने विदेशी महिलालाई प्रहरीले पक्राउ गरेको हो ।  प्रहरीका अनुसार उनीहरूले व्यवसाय सञ्चालन गरी बाटो हिँड्ने सर्वसाधारण मानिसहरूलाई समेत दुःख हैरानी दिने गरेका थिए । ठमेल स्थित विभिन्न स्थानहरूमा चेकजाँच गर्ने क्रममा काठमाडौं महानगरपालिका २६ ठमेल फायरचोकबाट यौन धन्दामा संलग्न विदेशी महिलाई पक्राउ गरेको हो । युगाण्डाका महिला नागरिकहरूले बाटो हिँड्ने विदेशी तथा स्वदेशी पर्यटक, सर्वसाधारण पुरुषहरूलाई अनावश्यक रूपमा बाटो छेकी अश्लील क्रियाकलाप सम्बन्धी मोलमोलाई गरी दुःख हैरानी दिने गरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट १२ दिनको म्याद थप गरेर प्रहरी वृत लैनचौरबाट अनुसन्धान भइरहेको छ ।