पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा
काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई नेपाल प्रहरीले पक्राउ गरी २ नं गण महाराजगञ्जमा राखेको छ । उनलाई आज बिहान भक्तपुरको कटुञ्जेस्थित उनकै निवासबाट पक्राउ गरिएको थियो । उनलाई २ नं गण महाराजगञ्जमा राखिएको पारिवारिक स्रोतले जनाएको छ । जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की संयोजकत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनका सिलसिलामा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । जेनजी आन्दोलनका क्रममा निजी निवास आगजनीबाट क्षतिग्रस्त भएपछि उनी सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित भाडाको घरमा बस्दै आएका थिए ।
कानुन कार्यान्वयनमा लाग्न गृहमन्त्रीको निर्देशन
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीहरुलाई निर्देशन दिएका छन् । जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उनले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न निर्देशन दिएका हुन् । मन्त्री गुरुङले ललितपुरको सातदोबाटोस्थित प्रहरी वृत्तको पनि निरीक्षण गरेको जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए । गृहमन्त्री गुरुङले आजै रामशाहपथस्थित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको पनि निरीक्षण गरेका छन् ।
चिनियाँ प्रधानमन्त्रीद्वारा बालेन्द्र शाहलाई बधाई, द्विपक्षीय सहकार्य सुदृढ गर्ने प्रतिबद्धता
काठमाडौं । चीनका प्रधानमन्त्री ली छ्याङले नेपालको प्रधानमन्त्रीमा बालेन्द्र शाह नियुक्त भएकोमा हार्दिक बधाई ज्ञापन गर्दै द्विपक्षीय सहकार्य र साझेदारीलाई सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री शाहलाई शनिबार एक बधाई सन्देश पठाउँदै चिनियाँ प्रधानमन्त्रीले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । चीन र नेपाल पहाड र नदीले जोडिएका परम्परागत छिमेकी राष्ट्र भएका उल्लेख गर्दै प्रधानमन्त्री लीले सन्देशमा कूटनीतिक सम्बन्ध स्थापना भएको ७१ वर्षमा ‘शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त’मा आधारित द्विपक्षीय सम्बन्ध विकास हुँदै आएको बताएका छन् । यहाँस्थित चिनियाँ राजदूतावासका अनुसार प्रधानमन्त्री लीले नेपाल सरकारको सुशासन प्रयासमा चीनको समर्थन रहने जनाउँदै नेपालको स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डताप्रति निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् । सन्देशमा प्रधानमन्त्री लीले प्रधानमन्त्री शाहसँग मिलेर ‘बेल्ट एण्ड रोड इनिसिएटभ्’ लाई अघि बढाउने तथा विभिन्न क्षेत्रमा उच्चस्तरीय सहकार्य विस्तार गर्ने बताएका छन् । साथै प्रधानमन्त्री लीले विकास र समृद्धिका लागि चीन–नेपाल मैत्रीपूर्ण रणनीतिक सहकार्य साझेदारीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता दोहोर्याएका छन् ।