रास्वपाको केन्द्रीय समिति बैठक सुरु
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय बनस्थलीमा बैठक सुरु भएको हो । बैठकले वरिष्ठ नेता बालेन साहलाई संसदीय दलको नेता बन्न सक्ने व्यवस्था मिलाउन सर्वसम्मत रूपमा विधान संशोधन प्रस्ताव पारित गर्ने तयारी रहेको नेताहरूले बताएका छन् । नेताहरूका अनुसार केन्द्रीय समिति बैठक सम्पन्न भएलगत्तै संसदीय दलको बैठक पनि बस्नेछ। उक्त बैठकले संसदीय नेतृत्वसम्बन्धी थप निर्णय गर्ने अपेक्षा गरिएको छ ।
सञ्चयकर्ता प्रमाणीकरण अब राष्ट्रिय परिचय प्रणालीमार्फत
काठमाडौं । कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच राष्ट्रिय परिचय व्यवस्थापन प्रणालीको विद्युतीय सेवा प्रयोग गर्ने सम्बन्धी सम्झौता भएको छ । कर्मचारी सञ्चय कोषको सेवा प्रवाहलाई थप सहज, प्रभावकारी र प्रविधिमैत्री बनाउने उद्देश्यले कोष र विभागबीच बिहीबार सम्झौता भएको हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक नवराज घिमिरे र कर्मचारी सञ्चय कोषका प्रशासक जितेन्द्र धितालले बिहीबार काठमाडौंमा सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताबाट कोषमा आवद्ध हुने र आवद्ध भइसकेका सञ्चयकर्ताहरूलाई नयाँ परिचयपत्र जारी गर्दा पहिचानको प्रमाणीकरण राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली मार्फत हुने सुनिश्चित भएको छ । यसबाट प्रमाणीकरण पहिचानका लागि सञ्चयकर्ताहरू कोषमा भौतिकरूपमा उपस्थित हुनुपर्ने झन्झट समेत अन्त्य भएको छ । यसैगरी, कोषको सेवा प्रणालीलाई पूर्णरूपमा डिजिटल माध्यममा रूपान्तरण गर्न र सञ्चयकर्ता प्रमाणीकरण सम्वन्धी सेवालाई थप छिटो, सहज, भरपर्दो तथा विश्वसनीय बनाउन सम्झौताबाट महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । साथै, सञ्चयकर्तालाई सेवा प्राप्त गर्दा लाग्ने समयको बचत हुनुका साथै प्रमाणीकरण सेवा प्रक्रियालाई थप पारदर्शी तथा विश्वनीय बनाई सञ्चयकर्ताको कोषसँगको कारोबार थप सुरक्षित हुने विश्वास गरिएको छ । यसैगरी, सम्झौता बमोजिम सञ्चयकर्ताको जनसाङ्खिक विवरण सम्बन्धी डाटा एनआईडीएमआइएस प्रणालीसँग कोषको प्रणाली एकीकरण गरी प्राप्त गर्न सक्ने व्यवस्था गरिनेछ । सोको लागि एनआईडीएमआइएस सँग सुरक्षित र व्यवस्थितरूपमा डाटा आदान–प्रदान गर्न सक्ने प्राविधिक संरचना निर्माण गरिनेछ । यसले सेवाग्राहीको पहिचान प्रमाणीकरणलाई थप सहज, छिटो र विश्वसनीय बनाउनेछ । सम्झौता कार्यक्रममा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक नवराज घिमिरेले कर्मचारी सञ्चय कोषसँगको सम्झौताबाट आधुनिक प्रविधिको उपयोग मार्फत सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउन, नागरिकमैत्री शासन प्रणाली निर्माणमा योगदान पुर्याउन र डिजिटल नेपाल अभियानमा टेवा पुर्याउन योगदान पुग्ने विश्वास व्यक्त गरे । कर्मचारी सञ्चय कोषका प्रशासक जितेन्द्र धितालले सूचना प्रणालीको एकीकरणबाट सरकारी तथा सार्वजनिक क्षेत्रका निकायहरूबीच समन्वय तथा साझेदारी बढाउन, सेवा प्रवाहमा दोहोरोपना हटाउन र दीर्घकालीनरूपमा कोषको लागत घटाउन तथा कार्यक्षमता बढाउन सहयोग पुग्ने बताए । कर्मचारी सञ्चय कोष आधुनिक प्रविधि र पारदर्शी व्यवस्थापनको माध्यमबाट आगामी दिनमा आफ्ना सेवाग्राहीलाई अझ गुणस्तरीय र झन्झटमुक्त सेवा प्रदान गर्न प्रतिवद्ध रहँदै आएको छ ।
कर्मचारी सञ्चय कोषको ५ अर्ब ३० करोड मुनाफा वितरण
काठमाडौं । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा आर्जन गरेको कूल मुनाफाबाट सञ्चयकर्ता तथा योगदानकर्ताहरूलाई करिब ५ अर्ब ३० करोड रुपैयाँ मुनाफा वितरण गरेको छ । जसअनुसार कोषका सञ्चयकर्ताहरूको खातामा करिब ५ अर्ब १९ करोड रुपैयाँ र योगदानमा आधारित निवृत्तभरण कोषका योगदानकर्ताहरूको खातामा करिब १० करोड ५५ लाख रुपैयाँ जम्मा गरिएको छ । कर्मचारी सञ्चय कोष सञ्चालक समितिको फागुन २७ गते बसेको बैठकले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण स्वीकृत गर्दै, सञ्चयकर्ता र योगदानकर्ताको व्यक्तिगत खातामा रहेको मौज्दात रकममा १ प्रतिशत दरले मुनाफा वितरण गर्ने निर्णय गरेको थियो । कोषले आर्जन गरेको कूल मुनाफाको करिब ९० प्रतिशत रकम सञ्चयकर्तालाई वितरण गर्ने र बाँकी रकम विभिन्न कल्याणकारी तथा जगेडा कोषमा राख्ने गरेको छ । सञ्चयकर्ताले चालू आर्थिक वर्षमा ४.२५ प्रतिशत ब्याज प्राप्त गर्ने व्यवस्था रहेको छ भने सञ्चित रकमको सुरक्षणमा सञ्चयकर्ताले ९५ प्रतिशतसम्म विशेष सापटी ५.७५ प्रतिशत ब्याजदरमा पाउने छन् । यसरी मुनाफा र ब्याज जोड्दा कुल प्रतिफल ५.२५ प्रतिशत पुगेको छ । कोषले सञ्चयकर्ताको सेवाकालका आवश्यकता अनुसार विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी, सरल सापटी र जग्गा खरिद सापटी पनि उपलब्ध गराउँदै आएको छ । साथै, सञ्चयकर्ता दम्पत्तीलाई स्वास्थ्य उपचार सोधभर्ना सुविधा, काजकिरिया अनुदान, सुत्केरी तथा शिशु स्याहार सुविधा, दुर्घटना क्षतिपूर्ति अनुदान जस्ता सामाजिक सुविधा पनि प्रदान गर्दै आएको छ । गत आर्थिक वर्षमा सुत्केरी तथा शिशु स्याहार सुविधामा १९ हजार १११ जना सञ्चयकर्तालाई करिब १४ करोड ३४ लाख, काजकिरिया अनुदानमा ६०५ जनालाई करिब २ करोड ४२ लाख, दुर्घटना क्षतिपूर्ति १७० जनालाई करिब ३ करोड ३९ लाख, स्वास्थ्य उपचार सोधभर्नामा ५ हजार ३५५ जनालाई करिब ३४ करोड र विशेष आर्थिक सुविधामा १७२ जना सञ्चयकर्तालाई करिब १ करोड ७३ लाख रुपैयाँ वितरण गरिएको छ । हाल कर्मचारी सञ्चय कोषमा ५ लाख ७८ हजार सञ्चयकर्ता र ९६ हजार निवृत्तभरण कोष योगदानकर्ता रहेका छन् ।