ठूलो संख्यामा भन्सार छलीको सामग्रीसहित जयसवाल पक्राउ

काठमाडौं । भन्सार छलेर काठमाडौं भित्र्याएका सामानसहित काठमाडौंबाट एक जना पक्राउ परेका छन् । शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले २३ वर्षीय अमितप्रसाद जयसवाललाई पक्राउ गरेको हो । भन्सार छली, चोरी पैठारी गरी विभिन्न किसिमका फेस क्रिम, चकलेट लगायतका सामानहरू काठमाण्डौंको विभिन्न स्थानहरूमा भण्डारण गरि राखेको भन्ने विशेष सूचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले जयसवाललाई काठमाडौंको आलोकनगरबाट पक्राउ गरेको हो । उनलाई पक्राउ गरेर आवश्यक कारबाही गर्नका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर, काठमाण्डौं पठाईएको अनुसन्धान कार्यालयले जनाएको छ । फिक्सड्रिमा स्याडो एसपीएफ ३० प्लस जेल लेखिएको क्रिम ७ हजार १ सय थान, सिजल्याण्ड फोरु कोजी चोखो ट्रुफल्स १४५ थान, लुसिरो चोखो ट्रुफिल्स लेखिएको ३ सय थान, अमुल चोक्लोट सिरप लेखिएको ५३ थान, स्मोकी पोप्पिङ क्यान्डी लेखिएको ९८ थान, अमित प्रसाद जयसवालको साथबाट फेला परेको आइएमआइ नम्बर ८६५८६५०६८५०८६७०र८६५६६५०६८५०८६६२, सीम कार्ड, ओप्पो मोबाइल १ थान, ७गोदामबाट बरामद भएको हाइटेक लेखिएको कम्प्युटर डेस्कटप १ थान र इनो लेमन फ्लेभर कार्टुन १४ थान लगायत अन्य सामग्री बरामद भएका छन् ।

अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित चौध जनालाई पक्राउ गरेको छ ।        केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बझाङको जयपृथ्वी नगरपालिका–९ चिउरीखानबाट लागुऔषध खैरो हेरोइनसहित दुई जना, रूपन्देहीको कञ्चन गाउँपालिका–५ गरगरेस्थित देउराली टोलबाट दुई जना र कैलालीको धनगढी उपमहानगरपालिका–९ ब्राङ्ग्रा कटानबाट एक जनालाई पक्राउ गरिएको हो ।        यसैगरी, मोरङको कानेपोखरी गाउँपालिका–६ बाट तीन जना, कञ्चनपुरको बेलौरी नगरपालिका–६ बाट दुई जना,   झापाको भद्रपुर नगरपालिका–४ डाँगीबारीबाट दुई जना,   नवलपरासीपूर्वको विनयी त्रिवेणी गाउँपालिका–२ दुम्कीबास बजारबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने स्पास्मो ८८ ट्याब्लेट र नगद रु आठ हजार ५०० सहित दुई जनालाई पक्राउ गरिएको छ ।       त्यसैगरी, बाँकेको कोहलपुर नगरपालिका–१५ चौधरिया गाउँबाट एक थान डिजिटल तराजुसहित एक जनालाई गएराति प्रहरीले पक्राउ गरिएको हो ।  

गंगासागर क्षेत्रमा डोजर, अतिक्रमित संरचना हटाइँदै

काठमाडौं । मधेस प्रदेश सरकारको सक्रियतासँगै जनकपुरधामस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको गंगासागर पोखरी क्षेत्रबाट अतिक्रमण हटाउने अभियान तीव्र पारिएको छ । गृह, सञ्चार तथा कानूनमन्त्री फकिरा महतोको पहलमा आइतबार पोखरी आसपासका अवैध संरचना हटाउन डोजर प्रयोग गरिएको हो । जनकपुरधाम उपमहानगरपालिका र जनकपुरधाम उद्योग वाणिज्य संघको सहकार्यमा सञ्चालन गरिएको उक्त अभियानले लामो समयदेखि विवादमा रहेको गंगासागर क्षेत्रलाई पुनः व्यवस्थित गर्ने लक्ष्य लिएको जनाइएको छ । स्थानीय प्रशासन, प्रहरी तथा नगरप्रहरीको उपस्थितिमा अतिक्रमित संरचना हटाइँदा केही स्थानमा सामान्य तनावसमेत देखिएको थियो । गृहमन्त्री महतोले गंगासागर पोखरीको संरक्षण धार्मिक आस्थासँग मात्र नभई ऐतिहासिक पहिचान र पर्यटन प्रवर्द्धनसँग समेत जोडिएको विषय भएको उल्लेख गरे । उनले प्रदेश सरकार सार्वजनिक सम्पत्तिको संरक्षणमा कठोर ढंगले प्रस्तुत हुने स्पष्ट पार्दै आवश्यक परे अन्य क्षेत्रमा पनि यस्तै अभियान सञ्चालन गरिने बताए । स्थानीयवासीले वर्षौंदेखि अतिक्रमणका कारण पोखरी क्षेत्र साँघुरिँदै गएको गुनासो गर्दै आएका थिए । पछिल्लो कदमलाई धेरैले सकारात्मक रूपमा लिएका छन् भने केही व्यवसायीले वैकल्पिक व्यवस्थाविनै हटाइएको भन्दै असन्तुष्टि जनाएका छन् ।