सुनसरीमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु
इनरुवा । सुनसरीको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुहबी नगरपालिका–५ का ३२ वर्षीय बिजय ऋषिदेव र सप्तरी छिन्नमस्ता गाउँपालिका–६ का ४७ वर्षीय गिरिजानन्द साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । बिहीबार बिहान बराहक्षेत्र नगरपालिका–११ गुप्ताटोलस्थित भित्रि सडकमा को २५ प १४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा ऋषिदेव गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सोही दुर्घटनमा दुहबी–५ का दिपेन ऋषिदेव घाइते भएका छन् । उनको उपचार भइरहेको प्रनाउ खड्काले बताए । त्यसैगरी इटहरी उपमहानगरपालिका–१३ स्थित कोशी लोकमार्गमा गएराति कारले ठक्कर दिँदा पैदलयात्री सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ का ४७ वर्षीय पैदलयात्री गिरिजानन्द साहको मृत्यु भएको छ । विराटनगरबाट इटहरी तर्फ आउँदै गरेको प्रदेश १–००१–००१ च ७५०५ नम्बरको कारले बाटो काट्दै गरेका पैदलयात्री साहलाई ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । कार अनियन्त्रित भई सोही दिशातर्फ गइरहेको प्र १–०२–००३ ह ४८९८ नम्बरको टेम्पोलाई समेत ठक्कर दिएको थियो । सो ठक्करबाट इटहरी–२० का ४४ वर्षीय टेम्पो चालक वसन्त घिसिङ, टेम्पोमा सवार ५९ वर्षीय प्रेमकुमार गुरुङ र इटहरी–१२ का २२ वर्षीय कार चालक विकी विश्वकर्मा सामान्य घाइते भएका छन् । सो घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
फेक रेस्क्युमा संलग्न विमानसेवा सञ्चालक पूर्वअध्यक्षसहित दुई जना पक्राउ
काठमाडौं । पर्वतारोहण क्षेत्रमा भएको ‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ठमेलस्थित रोयल होलिडेज एडभेञ्चर एण्ड ट्राभल कम्पनीका प्रतिनिधि २८ वर्षीय सन्दीप तिवारी र विमान सेवा सञ्चालक संघका पूर्वउपाध्यक्ष ५६ वर्षीय राजेन्द्रबहादुर सिंहलाई पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका वडा नं ३१ का सिंह बुधबार पक्राउ परेका हुन् भने धादिङको ज्वालामुखी गाउँपालिका वडा नं २ का तिवारी मंगलबार पक्राउ परेका हुन् । हालसम्म उक्त कसूरमा संलग्न ट्रेकिङ कम्पनी, रेस्क्यू कम्पनी, अस्पताल, विदेशी बीमाका नेपालस्थित कर्मचारी तथा हेलिकोप्टर कम्पनीका सेयरधनी सञ्चालकसहित नौ जनालाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए । अभियुक्तहरूले उच्च हिमाली क्षेत्रमा पदयात्राका क्रममा स्वास्थ्य समस्यामा परेका विदेशी पर्यटकको उद्धार गरेको देखाइ बीमा रकम दाबी गरी गैरकानुनी रुपमा आर्थिक लाभ लिएको अनुसन्धानबाट खुलेको सीआईबीले जनाएको छ । यसअघि सीआईबीले ४४ वर्षीय डा. गीर्वाणराज तिमिल्सिनालाई पक्राउ गरेको थियो । त्यस्तै, माघ ११ गते सीआईबीले पर्वतीय क्षेत्रबाट नक्कली उद्धार कागजात तयार गरी ठगी गरेको आरोपमा विभिन्न ट्राभल एजेन्सीका ६ जनालाई पक्राउ गरिएको जानकारी दिएको थियो । फेक रेस्क्युको असर : बीमा प्रिमियम दोब्बर, नेपाल ‘नो-गो डेस्टिनेसन’ बन्ने खतरा पौने ३ अर्बको बीमा रकम पचाउने षडयन्त्र, सीआईबीले गर्यो भण्डाफोर
युनाइटेड सिमेन्ट्सले साम्बाको उपचारमा ५ लाख रुपैयाँ सहयोग गर्ने
काठमाडौं । केएल दुगड समूहअन्तर्गतको युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) को उपचारका लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । घुँडामा गम्भीर चोट लागेपछि उपचारका लागि आर्थिक सहयोग आवश्यक परेको भन्दै सार्वजनिक रूपमा अपिल गरिएपछि कम्पनीले उक्त सहयोग गर्ने निर्णय गरेको जनाएको छ । लामो समयदेखि राष्ट्रिय टोलीको अग्रपंक्तिमा रहेर देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउँदै आएकी भण्डारी हाल चोटका कारण मैदान बाहिर छिन् । पछिल्लो सात हप्तादेखि उनी पुनःस्थापनाको प्रक्रियामा रहेको बताइएको छ । 'कप्तान सावित्रा भण्डारी हाम्रो देशको गौरव हुन् । उनले नेपाली फुटबललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन महत्वपूर्ण योगदान दिएकी छन् । उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आवश्यक उपचारपछि छिट्टै मैदानमा फर्किनेछन् भन्ने हाम्रो विश्वास छ', कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । युनाइटेड सिमेन्ट्सले खेलाडीहरू देशको पहिचान र गौरवका वाहक भएकाले उनीहरूको कठिन समयमा साथ दिनु सामाजिक दायित्व पनि भएको उल्लेख गरेको छ । खेल क्षेत्रको विकास र खेलाडीहरूको मनोबल उच्च राख्न निजी क्षेत्रको सहभागिता अपरिहार्य रहेको कम्पनीको धारणा छ ।