बदलिँदै बागमती किनार: फोहोरको डम्पिङ साइटबाट लोभलाग्दो पर्यटकीय गन्तव्यसम्म
काठमाडौं । कुनै समय दुर्गन्ध र फोहोरको पर्याय मानिने बागमती नदी किनारका कोरिडोरहरू आजभोलि निकै लोभलाग्दा देखिन थालेका छन् । नदी किनारमा ढकमक्क फुलेका फूल र बाक्लो हरियालीले काठमाडौंको शहरी सौन्दर्यलाई नयाँ उचाई दिएको छ । विशेषगरी बागमती कोरिडोरका विभिन्न खण्डहरूमा फुलेका गुलाबी, सेतो र पहेंलो रङ्गका ‘बगनबेली’ फूलहरूले पदमार्गलाई एउटा व्यवस्थित उद्यानको स्वरूप दिएका छन् । नदी किनारमा बनाइएका रातो रेलिङ र इँट्टाका पर्खालहरूमा लत्रिएका यी फूलहरूले बाटो हिँड्ने यात्रु र बटुवाहरूको मन लोभ्याउने गरेको छ । केही वर्ष अघिसम्म झाडी र फोहोरले भरिएका यी किनारहरू अहिले सुरक्षित र आकर्षक बनेका छन् । ढुङ्गाको कलात्मक पर्खाल, व्यवस्थित फुटपाथ र नदीको शान्त बहावले क्षेत्रलाई शान्त बनाएको छ । यद्यपि, नदीको पानीमा भने अझै दुर्गन्ध कायम छ । यसले गर्दा नदीको पूर्ण शुद्धीकरणका लागि थप काम गर्न बाँकी रहेको सन्देश दिन्छ । शहरको व्यस्तताका बीच शान्तिको अनुभूति गर्न र तस्बिर खिच्नका लागि बागमती किनार अहिले एक आकर्षक गन्तव्य बनेको छ । कोरिडोरमा हिँडडुल गर्ने सर्वसाधारणको उपस्थिति बाक्लिँदै गएको छ भने युवायुवतीहरूका लागि यो क्षेत्र फोटो र भिडियो खिच्ने 'हब' नै बनेको देखिन्छ । तस्बिरमा देखिने आधुनिक भवनहरू र अगाडिको सघन हरियालीले काठमाडौंले आधुनिकता र प्रकृति बीच सन्तुलन मिलाउन खोजिरहेको झल्को दिन्छ । व्यवस्थित सडक, बिजुलीका पोलहरू र कोरिडोर निर्माणले शहरी विकासको सकारात्मक पाटोलाई उजागर गरेको छ । बागमती सफाई महाअभियान र सरकारको कोरिडोर निर्माण योजनाले अहिले सार्थक रूप लिँदै गएको स्थानीयहरू बताउँछन् । यदि इच्छाशक्ति भएमा शहरका फोहोर कुनाहरूलाई पनि आकर्षक बनाउन सकिन्छ भन्ने उदाहरण वाग्मती किनारले पेस गरेको छ । नदीको स्वच्छतालाई पनि पूर्ण रूपमा कायम गर्न सके वाग्मतीले आफ्नो पुरानो साख र सभ्यता पुनः प्राप्त गर्ने विश्वास गरिएको छ ।
शंकर ग्रुपका सञ्चालक शंकर अग्रवाल पक्राउ
काठमाडौं । शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ परेका छन् । उनलाई शुक्रबार सीआइबीले पक्राउ गरेको हो । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण विभागको आग्रहमा प्रहरीले पक्राउ गरेको जनाएइको छ । अहिले उनलाई जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको प्रहरीले बताएको छ ।
गौतमश्री सहकारीका व्यवस्थापक विष्ट पक्राउ
काठमाडौं । कुलेश्वरमा रहेको गौतमश्री बहुउदेश्यी सकारी संस्था लिमिटेडका व्यवस्थापक पक्राउ परेका छन् । पाँचथरको फिदिम नगरपालिका–४ घर भएका ४१ वर्षीय व्यवस्थापक रवीन विष्टलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाटै पक्राउ गरेको हो । प्रहरीका अनुसार गौतमश्रीमा ४ हजार ७९१ जनाले रकम बचत गरेका थिए । विष्टलाई थप अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसरमा पठाइएको छ ।