सुनसरीमा सार्वजनिक स्थानबाट धार्मिक झण्डा हटाइने, डिजे ध्वनि मापदण्ड पालना गराउने सहमति

काठमाडौं । गत साउन १० गते सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडपपछि उत्पन्न साम्प्रदायिक तनाव अन्त्य गर्दै धार्मिक सद्भाव कायम गर्न सार्वजनिक स्थानबाट धार्मिक तथा साम्प्रदायिक झण्डा हटाउने सहमति भएको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीमा प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालको अध्यक्षतामा आइतबार बसेको सर्वपक्षीय एवं धार्मिक अगुवाहरूको बैठकले मठ, मन्दिर, मस्जिद, चर्च, गुम्बा परिसर र निजी घरबाहेक सार्वजनिक स्थल तथा सडकमा राखिएका एकल जातीय, धार्मिक र साम्प्रदायिक पहिचान झल्काउने झण्डा हटाउने निर्णय गरेको हो । 

देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा डिजे बजाउने विषयमा सुरु भएको विवाद झडपमा परिणत हुँदा स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । घटनामा घाइते भएका देवानगञ्जका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रविन्द्रकुमार मेहताको उपचारका क्रममा मृत्यु भएपछि जिल्लामा साम्प्रदायिक मनमुटाव बढेको थियो । 

तनाव थप नबढोस् भन्नका लागि प्रशासन र धार्मिक गुरुहरूबीच भएको बैठकले देउसी-भैलो, धार्मिक पूजा वा अन्य कार्यक्रमहरूमा स्वीकृति नलिई डिजे वा माइक बजाउन नपाइने र बजाउनुपरेमा सरकारले तोकेको ध्वनि मापदण्ड पालना गर्नुपर्ने निर्णय गरेको छ ।

सहमतिअनुसार सहरी क्षेत्रमा दिउँसो ५५ र राति ५० डेसिबल तथा ग्रामीण क्षेत्रमा दिउँसो ४५ र राति ४० डेसिबलभन्दा बढी ध्वनि निकाल्न पाइने छैन । 

यसैबीच घटनाका मृतक परिवारलाई सहिद घोषणा गर्ने, सरकारका तर्फबाट १० लाख र कोशी प्रदेश सरकारका तर्फबाट थप २ लाख रुपैयाँ राहत दिने, मृतक परिवारका एक सदस्यलाई रोजगारी दिने तथा घाइते एवं प्रभावितलाई राहत उपलब्ध गराउने सहमति भइसकेको छ । 

धार्मिक अगुवाहरूले आफ्ना समुदायका सदस्यहरूलाई शान्ति र संयम कायम राख्न अपिल गर्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन आपसी संवाद, सम्मान र सहकार्यलाई बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । 

Share News