४२ प्रतिशत लाभांश बाँड्ने एनआरएन इन्फ्रान्स्ट्रक्चरको घोषणा

काठमाडौं । एनआरएन इन्फ्रान्स्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक २५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले ४२ प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत बोनस सेयर र २.१०५ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरणको निर्णय गरेको हो । साथै बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको शतप्रतिशत अर्थात् १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय पनि बैठकले गरेको छ। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २८ करोड ४३ लाख ७२ हजार २८५ रुपैयाँ रहेको छ । जस अनुसार कम्पनीले कर प्रयोजनका लागि २ करोड ७० लाख ३९ हजार ४१६.५३ रुपैयाँ बराबरको नगद लाभांश र ५१ करोड ३७ लाख ४८ हजार ९१४ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ । साथै सोही बैठकले आगामी पुस ४ गते काठमाडौंको आम्रपाली ब्यान्क्वेटमा बिहान ९ बजे तेह्रौं वार्षिक साधारणसभा पनि डाकेको छ ।

साना किसान विकास लघुवित्तले १५ प्रतिशत लाभांश दिने

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । कात्तिक २६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले १५ प्रतिशतका दरले लाभांश घोषणा गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश घोषणा गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।

फोनपेको साधारण सभा सम्पन्न, १९ प्रतिशत नगद लाभांश पारित

काठमाडौं । फोनपे पेमेण्ट सर्भिस लिमिटेडको छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तिय विवरण, लेखापरिक्षक प्रतिवेदन तथा विभिन्न प्रस्तावहरु पारित गर्ने निर्णय गरेको छ । सभामा फोनपेका सेयरधनीहरुलाई चुक्ता पुँजीको १९ प्रतिशत नगद लाभांश वितरण गर्ने र स्वतन्त्र सञ्चालकमा पुनः सशीन जोशीलाई नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ । यस्तै आव २०८२/८३ का लागि एनबिएसएम एसोसिएटस चार्ट्ड एकाउन्टेन्सलाई पुनः लेखापरिक्षकमा नियुक्त गर्ने निर्णय भएको छ । साथै, विशेष प्रस्ताव अनुरुप फोनपेको प्रबन्धपत्र तथा नियमावलीलाई संशोधन गर्ने तथा सर्वसाधारणहरुलाई सेयर निष्कासन गर्ने समेत निर्णय भएको छ ।