सिद्धार्थ बैंकको १०.५३ प्रतिशत लाभांश पारित

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको चौबिसौं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष राहुल अग्रवालको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।   सभाले बैंकको हाल कायम रहेको चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १९० रुपैँयाको ५ प्रतिशत बराबरको ७० करोड ४४ लाख ९९ हजार १० रुपैंया बोनस सेयर तथा ५.५३ प्रतिशत बराबरको ७७ करोड ९१ लाख ७५ हजार ९०५ रुपैँया नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।   साथै आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तको वित्तीय अवस्थाको विवरण, नाफा नोक्सान विवरण, सोही अवधीको नगद प्रवाह विवरण, स्वपूँजी (इक्विटी) मा भएको परिवर्तनको विवरण पारित गर्ने एवं बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।

सिटी होटलको प्रतिसेयर नेटवर्थ ८४.९३ रुपैयाँ पुग्यो

काठमाडौं । सिटी होटलको प्रतिसेयर नेटवर्थमा वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार अघिल्लो त्रैमासको तुलनामा प्रतिसेयर नेटवर्थ ४.१० रुपैयाँले बढेको हो । सिटी होटल नेपालको पहिलो हायात सेन्ट्रिक ब्रान्डको होटल सञ्चालक हो । अघिल्लो त्रैमास अर्थात् आव २०८१/८२ को अन्तिम त्रैमासमा प्रतिसेयर नेटवर्थ ८०.८३ रुपैयाँ रहेको थियो । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा मा नेटवर्थ वृद्धि हुँदै ८४.९३ रुपैयाँ पुगेको हो । सिटी होटल लिमिटेडले हकप्रद सेयर जारी गरेसँगै प्रतिसेयर नेटवर्थ बढेको हो । हकप्रदबाट संकलित रकममार्फत बैंक ऋण तिर्ने कम्पनीको घोषणाले दोस्रो त्रैमासदेखि ब्याज खर्चमा उल्लेखनीय कमी आउने सञ्चालकहरुको विश्वास छ । कम्पनीले गत आर्थिक वर्षमा २६ करोड ४३ लाख रुपैयाँ ब्याज तिरेको थियो । हकप्रद सेयरबाट संकलित रकममार्फत ब्याजमा ३० देखि ३५ प्रतिशत कमी आउनेछ । कम्पनीले पछिल्लो समय सञ्चालनमा सुधार गर्नुका साथै नयाँ व्यावसायिक पहलकदमी र वित्तीय भार न्यूनीकरणमा ठोस कदम चालेको छ । यसले कम्पनीको आम्दानी र नगद प्रवाहमा सकारात्मक प्रभाव पारेको छ । कम्पनीले लाभको यात्रालाई थप सुदृढ बनाउन सुधारात्मक पहल र नयाँ आम्दानीका स्रोतहरुको विस्तार गर्ने रणनीति तय गरेको देखिन्छ । पहिलो त्रैमासिक अवधिको प्रतिवेदनमा विभिन्न ११ वटा रणनीति उल्लेख गरिएका छन् । अधिक कर्पोरेट कार्यक्रमहरू र निजी समारोहहरू आकर्षित गर्न ब्यांक्वेट तथा खानपानका सुविधाहरूलाई सुधार गर्ने, गैरसरकारी संस्था, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था तथा दुतावाससँग सम्बन्धित इभेन्ट तथा कार्यक्रमहरु बढाई आम्दानीमा वृद्धि गर्ने, स्थानीय बजारबाट व्यापार बढाउनका लागि ध्यान केन्द्रित गर्ने, कम्पनीको व्यवसायलाई समय–समयमा समिक्षा गरी सेयरधनीहरुलाई उच्च प्रतिफल प्रदान गर्ने, नेपालमा भविष्यमा अयोजना हुने भनिएका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलका महासंघ तथा क्लबहरुसँग सहकार्य गर्ने लगायत रणनीति बनाइएको छ । कम्पनीले रणनीतिहरु कार्यान्वयन गर्ने क्रममा क्यासिनो सञ्चालनको तयारी गरेको छ । करिब २ महिनाभित्र सञ्चालनमा आउने क्यासिनोबाट उच्च मार्जिन भएको राजश्व स्रोत थपिने भएकाले कम्पनीलाई निरन्तर लाभदायी बनाउने विश्वास गरिन्छ । होटल परिसरमा नयाँ जिम तथा स्पा सञ्चालनको तयारी पनि गरिएको छ । यसले होटलको सेवा दायरा बढाउनुका साथै उच्च श्रेणीका ग्राहकर्लाइ आकर्षित गर्नेछ । कम्पनीले आयस्रोत बढाउन प्रयोगमा नआएका होटलका विभिन्न स्थान भाडामा उपलब्ध गराउने तयारी गरेको छ । यसबाट दीर्घकालीन भाडा आम्दानी सुनिश्चित भई सञ्चालन खर्च बहन गर्न थप सहयोग पुग्ने देखिन्छ ।

सेयर बजारमा सामान्य गिरावट, नेप्से २५४० बिन्दुमा

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५ अंकले घटेर २५४० बिन्दुमा झरेको हो । नेप्सेका अनुसार ७४ कम्पनीको सेयर मूल्य बढ्दा १६८ कम्पनीको मूल्य घटेको छ । १४ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आइतबार ३३७ कम्पनीको ७९ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार १०.७५ प्रतिशत एसबीएल डिभेन्चर २०८९ को २८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  साथै नेपाल रिइन्स्योरेन्सको २१ करोड, माउन्टेन इनर्जीको २० करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको १८ करोड र युनियन हाइड्रोको १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सागर डिस्टीलरी, बुंगल हाइड्रो र बन्दीपुर केबलकारको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।  आइतबारको कारोबारका समूहगत सूचकमा  होटल तथा पर्यटन ०.१८, उत्पादन तथा प्रशोधन ०.०२ र अन्य समूह ०.७२ प्रतिशतले बढेको छ । बैंकिङ ०.३०, विकास बैंक ०.५२, फाइनान्स ०.८७, हाइड्रोपावर ०.४९, लगानी ०.३४, जीवन बीमा ०.१२, माइक्रोफाइनान्स ०.३८, निर्जीवन बीमा ०.४९ तथा व्यापार ०.१० प्रतिशतले घटेको छ ।