नबिल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौं । नबिल बैंकको ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ नामक ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईंले सूचीकरण सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए ।  आठ वर्षे अवधिको ऋणपत्रमा वार्षिक ७ प्रतिशत ब्याजदर पाइनेछ । १ हजार अंकित मूल्यका दरले ३० लाख कित्ताले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको यस ऋणपत्र दोस्रो बजारमा बिहीबारदेखि कारोबार सुरु भएको  बैंकले जानकारी दिएको छ ।  ऋणपत्र रजिष्ट्रार सेवासम्बन्धी काम नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले गर्नेछ ।   नबिल बैंकले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिका २६८ शाखा र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । 

गरिमा विकास बैंकको १९औं वार्षिक साधारणसभा सम्पन्न, १०.५३ प्रतिशत लाभांश पारित

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको १९औं वार्षिक साधारणसभा बिहीबार कास्कीको पोखरा महानगरपालिका–१४ स्थित होटल पोखरा ग्राण्डमा सम्पन्न भएको छ । सभाले सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र ४.५३ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको बैंकले जनाएको छ । साधारणसभाले आव २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन विवरण तथा सम्बन्धित अनुसूचीहरू पारित गरेको छ । साथै, आव २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका अन्य सामान्य प्रस्तावहरू पनि सभाले स्वीकृत गरेको छ । सभाले विशेष प्रस्तावहरू पनि पारित गरेको छ । ती अन्तर्गत बैंकको अधिकृत पूँजी ६ अर्ब १० करोड पुर्‍याउने, केन्द्रीय कार्यालयलाई काठमाडौं महानगरपालिका–३, बालुवाटारस्थित आफ्नै भवनमा स्थानान्तरण गर्ने, छाप र लोगो परिवर्तन गर्ने, तथा प्रबन्धपत्र र नियमावली संशोधन गर्ने निर्णय गरिएका छन् । हाल बैंकको चुक्ता पूँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३२७ रुपैयाँ ५७ पैसा रहेकोमा, यस साधारणसभाबाट पारित ६ प्रतिशत बोनस सेयर वितरणपछि बैंकको जारी तथा चुक्ता पूँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँ २२ पैसा पुग्नेछ । देशभर १२६ शाखा कार्यालय र ५१ एटिएम मार्फत सेवा विस्तार गरिरहेको गरिमा विकास बैंकले डिजिटल बैंकिङ प्रणालीमार्फत ग्राहकहरूलाई सरल, सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्दै आएको जनाएको छ।

६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.९५ अंकले घटेर २५४३ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार १०५ कम्पनीको सेयर मूल्य बढ्दा १४० कम्पनीको मूल्य घटेको छ । १० कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बिहीबार ३२९ कम्पनीको ७४ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन पावर पार्टनरको भएको छ । हिमालयनको १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै हिमालयन डिस्टीलरीको १३ करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको १२ करोड ७० लाख, युनियन हाइड्रोको १२ करोड ४२ लाख  र साहस ऊर्जाको १२ करोड ३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । माबिलुङ इनर्जी र श्वेत गंगा हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सागर डिस्टीलरी र बुंगल हाइड्रोको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । यसैगरी बन्दिपुर केबलकार र  रुरु जलविद्युत् परियोजनाको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ । बिहीबारको कारोबारमा समूहगत सूचकमा बैंकिङ ०.१२, फाइनान्स ०.०९, होटल तथा पर्यटन ०.७२, हाइड्रोपावर ०.२२ तथा व्यापार ०.७९ प्रतिशतले बढेका छन् । अन्य ०.२४, निर्जीवन बीमा ०.४६, उत्पादन तथा प्रशोधन ०.२९, जीवन बीमा ०.२३, लगानी ०.०७, विकास बैंक ०.०८ प्रतिशतले घटेका छन् ।