राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब बराबरको डिबेञ्चर जारी गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ‘६ प्रतिशत आरबीबीएल डिबेञ्चर २०८९’ को निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बैंकले एक हजारका दरले ३० लाख कित्ता बरारबर हुन आउने रकम ३ अर्ब बराबरको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मा कुमारी क्यापिटललाई दिएको हो । बिहीबार (आज) बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रममा उक्त सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्ररमण खनाल र कुमारी क्यापिटलका सीईओ पुष्प शर्माले हस्ताक्षर गरे । जारी गर्न लागिएको ऋणपत्रमध्ये ६० प्रतिशत (१८ लाख कित्ता) अर्थात् १ अर्ब ८० करोड बराबरको भाग संस्थागत तथा व्यक्तिगत तवरबाट निष्काशन गरिनेछ भने बाँकी ४० प्रतिशत (१२ लाख कित्ता) अर्थात् १ अर्ब २० करोड बराबरको भाग सर्वसाधारणका लागि खुला हुनेछ । उक्त ‘६ प्रतिशत आरबीबीएल डिबेञ्चर २०८९’ को वार्षिक ब्याजदर ६ प्रतिशत रहनेछ र यसको अवधि सात वर्ष तोकिएको छ । राष्ट्रिय वाणिज्य बैंकले ३१० शाखा कार्यालयमार्फत देशभर आधुनिक बैंकिङ तथा वित्तीय सेवाहरू प्रदान गर्दै आएको छ ।

दरमखोला हाइड्रो इनर्जीमा सकारात्मक सर्किट, सम्पदा लघुवित्तमा नकारात्मक सर्किट

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२ अंकले घटेर २५९४ बिन्दुमा झरेको छ ।  नेप्सेका अनुसार ७१ कम्पनीको सेयर मूल्य बढ्दा १७१ कम्पनीको घटेको छ । ९ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बिहीबार ३२० कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार शिवम् सिमेन्टको भएको छ । शिवम् सिमेन्टको ३० करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, राधी विद्युत कम्पनीको ३० करोड ७६ लाख, हिमालयन डिस्टीलरीको २७ करोड ८५ लाख, एनआरएन इन्फ्राइस्ट्रक्चरको २७ करोड २६ लाख र युनियन हाइड्रोपावरको १९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज २ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । दरमखोला हाइड्रो इनर्जी र माबिलुङ इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यसैगरी सम्पदा लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रहेको छ । बैंकिङ ०.४३, विकास बैंक ०.५४, फाइनान्स ०.१७, होटल तथा पर्यटन ०.२५, जलविद्युत् ०.६८, लगानी ०.११, जीवन बीमा ०.५७, माइक्रोफाइनान्स ०.१३, निर्जीवन बीमा ०.९९, अन्य ०.६२ तथा व्यापार ०.२१ प्रतिशतले घटेका छन् । उत्पादन तथा प्रशोधन समूह ०.१२ प्रतिशतले बढेको छ ।

कृषि विकास बैंकको १३ प्रतिशत लाभांश घोषणा, बोनसभन्दा नगद धेरै

काठमाडौं । कृषि विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको कात्तिक १९ गते बसेको बैठकले १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १८ अर्ब ८८ करोड ४३ लाख ८६ हजार रुपैयाँको ३.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहितका लागि ९.७५ प्रतिशत नगद गरी कुल १३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूलाई वितरण गरिनेछ ।  यस्तो लाभांश इतिहास बैंकले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा सेयरधनीहरूलाई १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो ।  यस्तै, बैंकले आव २०७८/७९ मा १३ प्रतिशत, आव २०७७/७८ मा २१.०५ प्रतिशत, आव २०७६/७७ मा १५.७८ प्रतिशत, आव २०७५/७६ मा ३० प्रतिशत लाभांश वितरण गरेको थियो ।  यस्तै, आव २०७४/७५, आव २०७३/७४, आव २०७२/७३ मा २१.०५ प्रतिशत, आव २०७१/७२ मा १५.७९ प्रतिशत, आव २०७०/७१ मा १५ प्रतिशत र आव २०६९/७० मा ३१.५८ प्रतिशत लाभांश वितरण गरेको थियो ।