सेयर बजारमा ४ अर्बको कारोबार, सबै समूहका सूचकमा हरियाली
काठमाडौं । साताको तेस्रो करोबारको दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५ अंकले बढेर २५६६ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार २०७ कम्पनीको सेयर मूल्य बढ्दा ४४ कम्पनीको मूल्य घटेको छ । ५ कम्पनीको मूल्यमा कुनै कारोबार भएको छैन । मंगलबार ३४५ कम्पनीको ९२ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार साहस ऊर्जाको २२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै बरुण हाइड्रोको १५ करोड, माउन्टेन इनर्जीको १३ करोड, सीइनर्जी पावर डेभलपमेन्टको ९ करोड ९३ लाख र निफ्रा इन्फ्राइस्ट्रक्चर बैंकको ९ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सागर डिस्टीलरी र माबिलुङ इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । बुंगल हाइड्रो, झापा इनर्जी र बन्दिपुर केबलकारको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । मंगलबारको करोबारमा सबै समूहका सूचकमा हरियाली छाएको छ । बैंकिङ ०.३१, विकास बैंक १.२५, फाइनान्स ०.८९, होटल तथा पर्यटन १.२८, जलविद्युत् ०.९३, लगानी १.०३, जीवन बीमा ०.४६, उत्पादन तथा प्रशोधन ०.२०, माइक्रोफाइनान्स ०.४७, निर्जीवन बीमा ०.८४, अन्य ०.५३ तथा व्यापार ०.०९ प्रतिशतले बढेका छन् ।
हिमालयन इनर्जीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
काठमाडौं । हिमालयन इनर्जी लिमिटेडले साधारण सेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्ने भएको छ । यसका लागि आईपीओ निष्काशन र बिक्री प्रबन्धकको जिम्मेवारी सिटिजन्स क्यापिटल लिमिटेडलाई दिइएको छ । मंसिर १ गते काठमाडौंमा आयोजित समारोहमा सिटिजन्स क्यापिटल लिमिटेड र हिमालयन इनर्जी लिमिटेडबीच आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको हो । सम्झौतामा हिमालयन इनर्जीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी भट्टराई र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे । सम्झौताअनुसार सिटिजन्स क्यापिटल लिमिटेडले हिमालयन इनर्जीको आईपीओ निष्काशन प्रक्रिया व्यवस्थापन गर्नेछ । कम्पनीले निर्माण गरिरहेको 'कालिन्चोक जलविद्युत आयोजना' दोलखा जिल्ला, कालिन्चोक–१ थामी गाउँमा अवस्थित छ र यसले ३ मेगावाट बिजुली उत्पादन गर्ने क्षमता राख्छ । २०८१ असोज ११ गते सम्पन्न साधारण सभाले कम्पनीको चुक्ता पूँजी ५० करोड रुपैयाँ (५ लाख कित्ता सेयर) पारित गर्दै, त्यसको २० प्रतिशत (१० लाख कित्ता) सेयर सर्वसाधारणमा जारी गर्ने निर्णय गरेको थियो । हिमालयन इनर्जी लिमिटेडले कालिन्चोक आयोजना बाहेक अन्य सम्भावित ऊर्जा र पूर्वाधार परियोजनामा लगानी प्रवद्र्धन गर्ने दीर्घकालीन रणनीति पनि बनाएको छ । कम्पनीले ऊर्जा उत्पादन र लगानी क्षेत्रमा दिगो विस्तार गर्दै राष्ट्रिय ऊर्जा विकासमा योगदान पुर्याउने लक्ष्य राखेको छ । यसले परियोजनालाई समयमै सम्पन्न गरी राष्ट्रिय विद्युत प्रणालीमा योगदान पु¥याउने योजना पनि बनाएको छ ।
भुलसुधार गर्दै निफ्राले भन्यो- लाभांश प्रस्ताव भुलवस छुट्यो
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले लाभांश गायब भएको विषयमा भुलसुधार गरेको छ । बैंकले साधारण सभामा ६.३१ प्रतिशत वितरण गर्ने प्रस्ताव छुटेको भन्दै भुलसुधार गरेको हो । सञ्चालक समितिको भदौ १९ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँको करसहित ६.३१ प्रतिशतका दरले १ अर्ब ३६ करोड ४२ लाख १२ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको थियो । तर, बैंकले प्रकाशित गरेको साधारण सभा सम्बन्धी सूचनामा लाभांश प्रस्ताव उल्लेख छैन । बैंक सञ्चालक समितिको मंसिर १ गते बसेको बैठकले सातौं वार्षिक साधारण सभा मंसिर २३ गते बिहान ९ बजे बत्तीसपुतली काठमाडौंमा बोलाएको छ । सातौं वार्षिक साधारण सभाको सार्वजनिक सूचनामा सामान्य प्रस्ताव अन्तर्गतको बुँदा नं.४ भुलवस छुटेको बैंकले जनाएको छ । बैंकको सभामा गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनमाथि छलफल गरी स्वीकृत गर्ने र चालु आर्थिक वर्ष २०८२/८३ को लागि बाह्य लेखापरिक्षक बीआरएस न्यौपानोलाई पुनः नियुक्त गर्ने र पारिश्रमिक तोक्ने प्रस्ताव छ । साथै, सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने २ जना संचालकहरूको लागि निर्वाचन गर्ने एजेण्डा छ ।