झिनो अंकले घट्यो सेयर बजार, ४ अर्बको कारोबार

काठमाडौं । साताको अन्तिम सेयर बजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज बिहीबार ०.९३ अंकले घटेर परिसूचक २५६०.१५ बिन्दु कायम भएको छ ।  बजारमा दिनभर उतारचढाव जस्तो देखिन्दा कारोबार रकममा भने वृद्धि भएको छ । आज दिनभरमा ४ अर्ब ६८ करोड ८८ लाख ६८ हजार रुपैयाँ बराबरको १ करोड ४ लाख ४९ हजार २९६ कित्ता सेयर कारोबार भएको छ ।  बजार बन्द हुँदा ११२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १३८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । दिनभरमा ३२८ वटा कम्पनी कारोबारमा आउँदा ६६ हजार ७९ पटक सेयर किनबेच भएको छ । बजार घट्दा पनि ५ वटा कम्पनीको सेयर मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । १३ समूहमध्ये ६ समूह बढेको छ भने बाँकी ७ समूह घटेको छ । आज लगानीकर्ताले बढी होटल तथा पर्यटन समूहमा कमाएका छन् भने सबैभन्दा बढी फाइनान्स समूहमा गुमाएका छन् ।   

स्वावलम्बन लघुवित्तले सेयरधनीलाई १० प्रतिशत लाभांश दिने

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरूलाई वितरण हुने लाभांश घोषणा गरेको छ । मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम १ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पुँजीकाे कुल १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांशमध्ये ५.६३६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४.३६३५ प्रतिशत नगद लाभांश रहेका छन् । लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गर्नुपर्छ । आवश्यक स्वीकृति प्राप्त भएपछि सेयरधनीहरूले बोनस सेयर र नगद लाभांश दुवै प्राप्त गर्नेछन् ।

बरूण हाइड्रोको ५ प्रतिशत लाभांश घोषणा, मंसिर २६ गते डाक्यो सेयरधनी भेला

काठमाडौं । बरूण हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको मंसिर ३ गते बसेको बैठकले ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँको ४.७५ प्रतिशतका दरले ५ करोड ९ लाख २ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशतका दरले २६ लाख ७९ हजार रुपैयाँ नगद गरी कुल ५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  लाभांश प्रस्ताव पारित गर्न कम्पनीले २२औँ वार्षिक साधारण सभा मंसिर २६ गते स्मार्ट दरबार शंखपार्क काठमाडौंमा बिहान साढे बजे बोलाएको छ । कम्पनीको सभाले बोनस सेयर वितरणपश्चात् पुँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्नेछ ।  यस्तै, गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, चालु आव २०८२/८३ को लागि लेखापरीक्षण कार्य गर्न लेखापरीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक तोक्ने, संस्थागत सुशासन सम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने, सञ्चालकको नियुक्ति अनुमोदन गर्नेछ ।  लाभांश तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।