सेयर बजारमा ६ अर्बको कारोबार, ३ कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३९.९२ अंकले बढेर २६०० बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार २३७ कम्पनीको सेयर मूल्य बढ्दा १८ कम्पनीको मूल्य घटेको छ । २ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आइतबार ३३४ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २८ करोड रुपैयाँ बराबरको करोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्राइस्ट्रक्चर एन्ड डेभलपमेन्टको भएको छ । एनआरएनको ६५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै पिपुल्स हाइड्रोपावरको ३४ करोड, राधी विद्युत कम्पनीको २१ करोड, नेपाल रिइन्स्योरेन्सको १७ करोड र शिवम् सिमेन्टको १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज ३ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । सागर डिस्टीलरी, बन्दिपुर केबलकार र झापा इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आइतबारको कारोबारमा लगानी र जीवन बीमा समूह २ प्रतिशतले बढेका छन् । बैंकिङ १.३६, विकास बैंक १.८४, फाइनान्स १.६१, होटल तथा पर्यटन १.५७, जलविद्युत् १.३३, लगानी २.०३, जीवन बीमा २.५५, उत्पादन तथा प्रशोधन १.५६, माइक्रोफाइनान्स १.८३, निर्जीवन बीमा १.९९, अन्य १.१८ तथा व्यापार ०.२५ प्रतिशतले बढेका छन् ।

एनएमबि बैंकले १० प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । मंसिर ५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।  घोषित लाभांशमध्ये ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश रहनेछ । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारण सभाबाट पारित भई कार्यान्वयनमा आउने बैंकले जनाएको छ ।    

सोलु हाइड्रोपावरको आईपीओ बिक्री खुला, क-कसले आवेदन दिन पाउँछन् ?

काठमाडौं । सोलु हाइड्रोपावरले आज मंसिर ७ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सेयर निष्काशन गरेको हो । कम्पनीले जारी पुँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँको २ करोड कित्ता सेयर जारी गरेको हो । जसमध्ये १ अर्ब रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँका दरले १ करोड कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई बिक्री गरेको हो ।  स्थानीयलाई छुट्याएको सेयरमध्ये आयोजना अति प्रभावित क्षेत्र सोलु दूधकुण्ड नगरपालिका-७, ११ र थुलुङ दूधकोसी गाउँपालिका-१ का बासिन्दालाई ४० लाख कित्ता र ६० लाख कित्ता आयोजना अति प्रभावित वडा बाहेक अन्य वडामा बस्ने स्थानीयलाई बिक्री गरिने कम्पनीले जनाएको छ । साथै, सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १० करोड रुपैयाँको १० लाख कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरूलाई बिक्री गरिने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतामा १ लाख कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा स्थानीयले मंसिर २१ गतेसम्म आवेदन दिनुपर्नेछ । यदि सो अवधिमा पूर्ण आवेदन नपरेमा पुस ७ गतेसम्म आवेदन दिने सम लम्बिने कम्पनीले जनाएको छ । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीले भने छिटोमा मंसिर १० गते र ढिलोमा मंसिर २१ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । स्थानीयले ग्लोबल आइएमई बैंकको सल्लेरी, सोलुखुम्बु शाखा, लक्ष्मी सनराइज बैंकको नेले, सोलुखुम्बु शाखा र आयोजनास्थल तिङ्गला, सोलुखुम्बुबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आइआरएन डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।