शुक्रबारको पहिलो कारोबारमा परिसूचकसँगै घट्यो कारोबार रकम
काठमाडौं । नेपालको इतिहासमै पहिलो पटक शुक्रबार खुलेको सेयर बजारमा नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । परिसूचक दोहोरो अंकले घट्दा कारोबार रकम एक अर्ब पनि पुगेको छैन । सेयर मूल्य मापक नेप्से परिसूचक १५.८२ अंकले घटेर २२३५.०९ बिन्दुमा झरेको छ । जुन धेरै लामो समय पछिको न्यून बिन्दु हो । त्यस्तै, अघिल्ला दिनहरुमा एक अर्बमाथिको सेयर कारोबार हुने बजारमा शुक्रबार एक अर्बको कारोबार हुन पनि धौंधौं भएको छ । दिनभरको कारोबारमा २२३ कम्पनीको ९३ करोड २२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सम्भवतः पहिलो पटक शुक्रबार कारोबार भएको र धेरैलाई दुविधा भएर पनि कारोबार घटेको हुनसक्ने बुझिन्छ छ । सो दिन अरुण काबेली पावरको ३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, सबैभन्दा बढी कमाउने अथवा टप गेनको शीर्ष स्थानमा सामुदायिक लघुवित्त वित्तीय संस्था रहेको छ । जसको सेयर मूल्य २.७३ प्रतिशतले बढेर प्रतिकित्ता १४६९ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, सबैभन्दा बढी प्रतिशतले गुमाउनेमा तेह्रथुम पावर कम्पनीका लगानीकर्ता रहेका छन् । उक्त कम्पनीका लगानीकर्ताले ४.९४ प्रतिशतले सेयर मूल्य गुमाएका छन् । जसको अन्तिम कारोबार प्रतिकित्ता ४६० रुपैयाँमा भएको छ । बजारमा कारोबारमा आएका समूहमध्ये म्युचुअल फण्ड बाहेक सबै समूह राताम्मे देखिएका छन् । सो दिन म्युचुअल फण्ड समूह सामान्य अर्थात ०.४६ प्रतिशतले बढेको छ ।
पहिलो पटक शुक्रबार पनि सेयर कारोबार हुँदै
काठमाडौं । आज (जेठ ६ गते) देखि शुक्रबार पनि सेयर कारोबार हुने भएको छ । यसअघि शुक्रबारको दिन बन्द हुने सेयर कारोबार अबदेखि उक्त दिन खुल्ने भएको हो । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले यसअघि आइतबारदेखि बिहीबारसम्म मात्रै सेयर बजार खुल्ने गरेको थियो । तर अब आइतबार बन्द भएर त्यसको सट्टा शुक्रबार खुल्ने भएको हो । सरकारले यहि जेठदेखि शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय छ । सोहि अनुसार सेयर बजार सञ्चालक नेप्सेले पनि नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार अब आइतबार बजार बन्द गरेर शुक्रबार खुलाउने निर्णय गरेको छ । यससँगै सातामा ५ दिन सेयर कारोबार खुल्ने छ । कारोबार समय भने उहि नै अर्थात बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म खुल्ने छ । हरेक साता दुई दिन बिदा दिने निर्णय गरेको सरकारले कार्यालय समयमा पनि केही परिमार्जन गरेको छ । नयाँ निर्णय अनुसार सरकारले कार्यालय समय बिहान ९ः३० देखि बेलुका ५ः३० बजेसम्म तोकेको छ । हालसम्म बिहान १० बजेदेखि साँझ ६ बजेसम्म कार्यालय समय तोकिएको थियो ।
बिहीबार ‘टप गेनर’ र ‘टप लुजर’को शीर्ष स्थानमा दुबै बीमा कम्पनी
काठमाडौं । बिहीबारको बजारमा बढी कमाउने ‘टप गेनर’ र बढी गुमाउने ‘टप लुजर’ दुबैको शीर्ष स्थानमा बीमा कम्पनी रहेका छन् । सामान्य प्रतिशतले घटेको सो दिनको बजारमा बढी कमाउने र बढी गुमाउनेमा दुबैं निर्जीवन बीमा कम्पनी रहेका हुन् । जसमा बढी कमाउनेमा जनरल इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको सेयर मूल्य एकैदिन ७.४५ प्रतिशतले बढेर प्रतिकित्ता ५१९ रुपैयाँ पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ३६ रुपैयाँले बढी हो । त्यस्तै, सेयर मूल्य बढेको कम्पनीमध्ये अन्यको ३ प्रतिशतभन्दा कमले सेयर मूल्य बढेको छ । लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर मूल्य भने सबैभन्दा बढी प्रतिशतले घटेको छ । कम्पनीको सेयर मूल्य ७.०८ अर्थात ४० रुपैयाँले घटेर प्रतिकित्ता ५२५ रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, सेयर मूल्य घटेका अन्य कम्पनीको ६ प्रतिशतभन्दा कमले घटेको छ । समग्रमा बिहीबारको नेप्से परिसूचक २३.५१ अंकले घटेको छ । जुन अघिल्लो दिनको तुलनामा १.०३ प्रतिशतले घटेर २२५०.९१ बिन्दुमा झरेको हो । बजारमा परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । बुधबार १ अर्ब ३२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा बिहीबार १ अर्ब ३० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।