जेठ २० गतेदेखि शेयर निष्काशन गर्दै बिन्ध्यवासिनी हाइड्रोपावर

काठमाडौं । बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही जेठ २० गतेदेखि प्रतिकित्ता १०० अङ्कित १५ करोड मूल्य बराबरका १५ लाख कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आइपिओ)को निष्काशन तथा बिक्री खुला गर्ने लागेको हो । सर्वसाधारणका लागि कम्पनीले प्रतिकित्ता १०० अङ्कित दरमा १३ लाख ६५ हजार कित्ता शेयर बिक्री गर्ने प्रायोजनका लागि दस्खास्त आह्वान गरेको छ । कम्पनीका अनुसार कूल १५ लाख कित्ता शेयरमध्ये चार प्रतिशत अर्थात् ६० हजार कित्ता कम्पनीका कर्मचारी र पाँच प्रतिशत अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइ बाँकी रहेको १३ लाख ६५ हजार कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । निष्काशित शेयरमा इच्छुक लगानीकर्ताले छिटोमा यही जेठ २५ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्म आवेदन दिन पाउनेछन् । यो समयमा मागबमोजिम आवेदन नआए आगामी असार ३ गतेसम्म निष्काशन खुला रहने कम्पनीले जनाएको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सी आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरो शेयर’ प्रयोग गरेर सेयर खरिदका लागि आवेदन दिन सकिने सार्वनजिक सूचनामा उल्लेख छ । कम्पनीले लमजुङको क्व्होलासोथार गाउँपालिका तथा कास्कीको मादी गाउँपालिका भएर बहने रुदी खोलामा रुदी ‘ए’ आठ दशमलव आठ मेगावाट र रुदी ‘बी’ छ दशमलव छ मेगावाट क्षमताका आयोजना निर्माण गरिरहेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयरनपी–आइआर बीबी प्लस इस्युअर’ ग्रेडिङ प्रदान गरेको छ ।

आयोजना प्रभावितका लागि जेठ २४ गतेदेखि राप्ती हाइड्रोको आइपीओ आउँदै

काठमाडौं ।  राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही जेठ २४ गतेदेखि प्रतिकित्ता १०० अङ्कित दरमा छ करोड १२ लाख ७९ हजार ३०० मूल्य बराबरको छ लाख १२ हजार ७९३ कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आइपीओ) बिक्री खुला गर्ने भएको हो । आयोजनाबाट असर पर्ने रुकुमपूर्वी जिल्ला र रुकुमपश्चिम जिल्लाका बासिन्दाले आगामी असार ७ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे असार २२ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम छ लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले सार्वजनिक गरेको आह्वानपत्रमा उल्लेख छ । कम्पनीले रुकुम पूर्वी जिल्लाको सिस्ने र भूमे गाउँपालिका हुँदै बहने रुकुमगाड खोलामा पाँच मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । साथै ग्लोबल आइएमई बैंकको छिप्रीदह र मुसिकोट शाखा, सिद्धार्थ बैंकको पुथा उत्तरगङ्गा र मुसिकोट शाखा र प्रभु बैंकको मुसिकोट शाखा कार्यालयबाट आवेदन दिनसकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीलाई इक्रा नेपालले ‘इक्रनपी–आइआर बीबी प्लस’ ग्रेडिङ प्रदान गरेको छ ।

प्रभु बैंकको सेयर १४५ रुपैयाँमा किनबेच

काठमाडौं । प्रभु बैंकको संस्थापक सेयर प्रतिकित्ता १४५ रुपैयाँमा किनबेच भएको छ । शुक्रबारको बजारमा बैंकको कूल ८ हजारभन्दा बढी कित्ता संस्थापक सेयर सो रुपैयाँमा खरिद बिक्री भएको हो । २२३ कम्पनीको कारोबार भएको बजारमा सबैभन्दा बढी प्रभु बैंकको संस्थापक सेयर किनबेच भएको छ । रकमको आधारमा मात्र नभई कित्ताको आधारमा पनि बैंकको सबैभन्दा बढी खरिदबिक्री भएका छन् । बैंकको एकैदिन कूल १९ करोड १८ लाख ९७ हजार ९५६ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसमध्ये १ करोड ५८ लाख २२ हजार ९५६ रुपैयाँ बराबरको साधारण सेयर र बाँकी रहेको १७ करोड ६० लाख ७५ हजार रुपैयाँ बराबरको संस्थापक सेयर किनबेच भएको छ । त्यस्तै, बैंकको कूल ९ लाख ४२ हजार ७७ कित्ता सेयर खरिदबिक्री भएका छन् । जसमध्ये ८ लाख ८० हजार ३७५ कित्ता संस्थापक सेयर रहेको छ भने ६१ हजार ७०२ कित्ता साधारण सेयर रहेको छ । नेप्सेको फ्लोरसिटअनुसार ब्रोकर नं. ५८ (नासा सेक्युरिटिज) र ब्रोकर नं. ४ (ओपल सेक्युरिटज) मार्फत बैंकको संस्थापक सेयर खरिद बिक्री भएको देखिन्छ । संस्थापक सेयरको मूल्य १४५ रुपैयाँ रहेको बैंकको साधारण सेयरको मूल्य प्रतिकित्ता २१९ रुपैयाँमा अन्तिम कारोबार भएको छ । जुन बिहीबारको तुलनामा प्रतिकित्ता २ रुपैयाँले घटी हो । यसकारण कारोबार हुन्छ संस्थापक सेयर ? सामान्यतः सेयर बजारमा निरन्तर गिरावट आएको बेलामा संस्थापक सेयर बढी कारोबार हुने गरेको पाइन्छ । त्यस्तै, कुनै कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार पनि सो कम्पनीको संस्थापक सेयर किनबेच हुने ब्रोकर एशोसिएसनका पूर्वअध्यक्ष भरत रानाभाट बताउँछन् । ‘प्रमोटर सेयर सँधै कारोबार हुँदैन,आकलझुकल हुन्छ, र संस्थापक सेयर किनबेच गर्ने प्रकृया लामो हुन्छ,’ पूर्वअध्यक्ष रानाभाटले विकासन्युजसँग भने । त्यस्तै, प्रभुको केशमा पनि सञ्चालक समितिको निर्णय अनुसार नै एउटाले ग्रुपले बेचेर अर्को ग्रुपले संस्थापक सेयर किनेको हुन सक्ने उनी बताउँछन् । समग्रमा शुक्रबारको सेयर बजार दोहोरो अंकले घटेको छ । पछिल्लो तीन दिन लगातार बढेको नेप्से परिसूचक १५.८२ अंकले घटेर २२२३.७८ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.७१ प्रतिशतले घटेको छ । बजारमा कूल १ अर्ब २९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन २२३ कम्पनीको ४१ लाख ४० हजार कित्ता सेयर किनबेच भएका छन् । त्यस्तै, कारोबारमा आएकामध्ये होटल्स एण्ड टुरिजम बाहेक सबै समूह राताम्मे देखिएका छन् ।