दोहोरो अंकले बढ्यो सेयर बजार, तीन शीर्षकमा अपर तामाकोशीको अग्रता

काठमाडौं । बुधबारको सेयर बजार दोहोरो अंकले बढेको छ । मंगलबार पनि दोहोरो अंकले बढेको नेप्से परिसूचक बुधबार १४.३७ अंकले बढेर २२३१.५७ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.६५ प्रतिशतले बढी हो । परिसूचक बढेको बजारमा कारोबार रकम भने घटेको छ । मंगलबार १ अर्ब ८ करोडको सेयर कारोबार भएको बजारमा बुधबार १ अर्ब ४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बुधबार २२६ कम्पनीको २६ लाख ९४ हजार ४२९ कित्ता सेयर खरिदबिक्री भएको छ । बुधबारको बजारमा अपर तामाकोशी हाइड्रोपावर विभिन्न ३ शीर्षकमा अग्रस्थानमा रहेको छ । कम्पनी कारोबार रकम, कारोबार कित्ता र कारोबार संख्याको आधारमा अग्रस्थानमा रहेको छ । बजारमा अपरको ८ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । संस्थाको १ हजार २२५ पटकको कारोबारमा १ लाख ५७ हजार १६७ कित्ता सेयर किनबेच भएको हो । बुधबार कम्पनीको अन्तिम कारोबार भने प्रतिकित्ता ५२९.९० रुपैयाँमा भएको छ । जुन अघिल्लो दिनको तुलनामा २१ रुपैयाँ अर्थात ४.१३ प्रतिशतले बढी हो । बजारमा बलेफी हाइड्रोपावर कम्पनीको सबैभन्दा बढी प्रतिशतले सेयर मूल्य बढेको छ । पहिलो कारोबारमा कम्पनीको सेयर मूल्य ५.९२ प्रतिशतले बढेर प्रतिकित्ता ११०.९० रुपैयाँ पुगेको छ । सबैभन्दा बढी प्रतिशतले सेयर मूल्य घट्नेमा कर्पोरेट डेभलपमेन्ट बैंक रहेको छ । बैंकको सेयर मूल्य ७.१३ प्रतिशतले घटेर प्रतिकित्ता ३९२ रुपैयाँमा अन्तिम कारोबार भएको छ । बुधबार कारोबारमा आएका सबै समूहमा हरियाली छाएको छ । जसमध्ये सबैभन्दा बढी अंकले बढ्नेमा निर्जीवन बीमा कम्पनी र कम अंकले बढ्नेमा म्यूचुअल फण्ड र होटलस् एण्ड टुरिजम रहेका छन् । निर्जीवन बीमा समूह १३४ अंकले बढेको छ भने म्यूचुअल फण्ड र होटलस् एण्ड टुरिजम दुबै ०.०७ अंकले बढेका छन् । सरकारले आगामी आर्थिक वर्षमा पुँजीबजारका नियामकको क्षमता अभिवृद्धि गर्ने, उत्पादनशिल क्षेत्रमा लगानीकर्ताको आकर्षण वृद्धि गर्ने तथा पुँजी बजार र बीमालाई उत्पादनसँग जोड्ने नीति लिएसँगै त्यसको सकारात्मक प्रभाव बजारमा परेको देखिन्छ ।

सभामा जान किसान लघुवित्तले तोक्यो बुक क्लोजको मिति

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले आगामी जेठ २० गते बुक क्लोज गर्ने भएको छ । संस्थाले साधारण सभामा जाने प्रयोजनको लागि उक्त एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो । संस्थाले आगामी जेठ २८ गते वार्षिक साधारण सभा डाकेको छ । उक्त सभाले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने प्रस्तावलाई पारित गर्दै छ । सो प्रस्तावलाई सभाले पारित गरेपछि मात्रै संस्थाका सेयरधनीले उक्त लाभांश पाउने छन् । जेठ २० गते बुक क्लोज भएकाले जेठ १९ गतेसम्म कायम सेयरधनीले मात्रै गत वर्षको लाभांश पाउने छन् । त्यस्तै, सभाले संस्थालाई अन्य लघुवित्तहरुसँग गाभ्ने तथा गाभिने वा प्राप्ति (एक्विजिसन) सम्बन्धी प्रकृया बढाई सम्पूर्ण काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्दै छ ।

एक सातापछि बढ्यो नेप्से परिसूचक, दुई बाहेक सबै समूहमा छायो हरियाली

काठमाडौं । एक सातादेखि निरन्तर घटेको बजार मंगलबार बढेको छ । मंगलबारको कारोबारमा नेप्से परिसूचक १६.३२ बिन्दुले बढेर २२१७.१९ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.७४ प्रतिशतले बढी हो । त्यस्तै, क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि बढेर ४३२.६७ बिन्दुमा पुगेको छ । बजारमा परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिन एक अर्ब ३६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा मंगलबार १ अर्ब ८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । नेप्सेका अनुसार सो दिन २२४ कम्पनीको ३१ लाख ७३० कित्ता सेयर खरिद बिक्री भएका छन् । कूल कारोबारमध्ये एनआईसी एशिया लघुवित्तको संस्थापक सेयर सबैभन्दा बढी किनबेच भएको छ । संस्थाको एकैदिन ४ करोड ८४ लाख रुपैयाँ बराबरको संस्थापक (प्रमोटर) सेयर कारोबार भएको छ । त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो स्थानमा अप्पर तामाकोशी हाइड्रोपावर रहेको छ । कम्पनीको ४ करोड ६३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा दुई समूहबाहेक कारोबारमा आएका सबै समूहमा हरियाली छाएको छ । मंगलबार म्युचुअल फण्ड र ट्रेडिङ समूह सामान्य अंकले घटेका छन् भने बाँकी समूह बढेका छन् । जीवन बीमा समूहको सूचक सबैभन्दा बढी अर्थात ७६.७४ अंकले बढेका छन् । कारोबारमा आएकामध्ये सबैभन्दा बढी प्रतिशतले सेयर मूल्य बढ्नेमा लक्ष्मी लघुवित्त रहेको छ । लघुवित्तको सेयर मूल्य ५.९५ प्रतिशतले बढेर प्रतिकित्ता १३१६ रुपैयाँ पुगेको छ । बढेको बजारमा पनि कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले घटेको छ । संस्थाको सेयर मूल्य ४६.९० रुपैयाँले घटेर प्रतिकित्ता ४२२.१० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।