आदर्श लघुवित्त र मन्दाकिनी हाइड्रो दुबैले असार १ गतेदेखि आईपीओ जारी गर्ने
काठमाडौं । दुई कम्पनीले एकैपटक प्राथमिक साधारण सेयर (आईपीओ) जारी गर्ने भएका छन् । आदर्श लघुवित्त वित्तीय संस्था र मन्दाकिनी हाइड्रोपावर कम्पनी दुबैले आगामी असार १ गतेदेखि सेयर निष्काशन तथा बिक्री खुला गर्न लागेका हुन् । जसमध्ये आदर्श लघुवित्त ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो । जसमध्ये ०.५ प्रतिशत अर्थात १ हजार ३५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरेको छ भने बाँकी रहेको ६२ हजार ६१५ कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्ने छ । उक्त आईपीओमा आवेदन दिन इच्छुकले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । उनीहरुले छिटोमा असार ६ गते र ढिलोमा असार १५ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था रहेको सेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केटले जानकारी गराएको छ । त्यस्तै, उनीहरुले सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरको एप मार्फत आवेदन दिन सक्नेछन् । हाल लघुवित्तको चुक्ता पुँजी १ करोड ४० लाख रुपैयाँ छ । आईपीओ बाँडफाँड पछि संस्थाको चुक्ता पुँजी २ करोड नाघ्ने छ । त्यस्तै, लघुवित्तले सेयर निष्काशनको लागि केयर रेटिङ्गस नेपालबाट केयर एनपी सिंगल बि प्लस इस्यूअर रेटिङ्ग पाएको छ । मन्दाकिनीको आईपीओ स्थानियलाई मन्दाकिनी हाइड्रोले असार १ गतेदेखि ५ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर जारी गर्दै छ । हाइड्रोले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि सो मात्राको आईपीओ जारी लागेको हो । कम्पनीले जारी पुँजी ५८ करोड ८० लाखको १० प्रतिशत अर्थात ५ लाख ८८ हजार ०३७ कित्ता सेयर निष्काशन गर्न लागेको हो । जसमा आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. २, ३, ४ र ६ (साविककको सार्दिखोला गा.वि.स, घाचोक गा.वि.स, गाहाचोक गा.वि.स र धिताल गा.वि.स.का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । यी क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्न छन् । उनीहरुले छिटोमा असार १५ गतेभित्रमा आवेदन दिइसक्नु पर्ने छ । यदि माग बमोजिमको आवेदन नपरेको खण्डमा भने इच्छुकले ढिलोमा असार ३० गतेसम्म आवेदन दिन पाउने सेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केटले जानकारी गराएको छ । मन्दाकिनीको आईपीओमा सोही हाइड्रोको रजिष्ट्रार कार्यालय, सिनामंगल, काठमाडौं, पोखरा फाइनान्सको लाहाचोक शाखा, एनएमबि बैंकको हेम्जा शाखा र प्राइम कमर्सियल बैंकको लामाचौर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यस्तै, केयर रेटिङ्ग नेपालले हाइड्रोलाई सेयर निष्काशनको लागि केयरएनपी डबल बी प्लस आइएस रेटिङ्ग प्रदान गरेको छ ।
गभर्नरलाई प्रधानमन्त्रीको फोन : पुँजी बजारको समस्या तत्काल समाधान गर्नुस्
काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले गभर्नर महाप्रसाद अधिकारीलाई पुँजी बजारको समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन् । देउवाले आइतबार फोन मार्फत अधिकारीलाई सो निर्देशन दिएका हुन् । लगानीकर्ताले पुँजीबजारको पछिल्लो अवस्थाको बारेमा जानकारी गराए लगत्तै प्रधानमन्त्री देउवाले गर्भनर अधिकारीलाई फोन गरेका हुन् । लगानीकर्ताको अबस्था गम्भीर भैसकेको भन्दै प्रधानमन्त्री देउवाले लगानीकर्ताहरुको माग तुरुन्त सम्बोधन गरिदिन गर्भनरलाई फोनबाटै निर्देशन दिएका हुन् । साथै, लगानीकर्ताहरु फलोअपको लागी जेठ २३ गते नेपाल राष्ट्र बैंक जाने समेत गर्भनरलाई जानकारी गराए । नेपाल पुँजीबजार लगानीकर्ता संघका पदाधिकारी र सदस्यहरुले प्रधानमन्त्री देउवालाई भेटी पछिल्लो सेयर बजारको अवस्था, सेयर बजारमा परेको दवाव, ४ करोड र १२ करोडको क्याप, सीडी र सीसीडी लगायतको बारेमा अवगत गराएका थिए । संघको अध्यक्ष राधा पोखरेलको नेतृत्वमा गएको टोलीले बजार सुधारका लागि ४ बुँदे माग सहितको ज्ञापनपत्र बुझाएका छन् । जसमा सेयर धितोमा लगाइएको ४ करोड र १२ करोडको क्यापलाई पूर्ण रुपले खारेज गरिनुपर्ने माग छ । त्यस्तै, सीसीडीलाई सीडीमा कायम गरिएकोमा यसलाई खारेज गरी पुनः सीसीडीमा नै कायम गर्न माग गरेका छन् । त्यसैगरी, भारित औषत दर १५० लागू गर्ने निर्णय भएकोमा सो निर्णय खारेज गरी पुरानै भारित औषत १०० कायम गर्न लगानीकर्ताको माग छ । र, पुँजी बजारलाई सात प्रदेश र ७७ जिल्लामा विकास र विस्तार गर्न बैंकलाई ब्रोकर लाइसेन्स दिन समेत लगानीकर्ताको माग छ ।
जेठभर आन्दोलन गर्ने तयारीमा सेयर बजारका लगानीकर्ता, सबैभन्दा पहिला धितोपत्र बोर्ड जाने
काठमाडौं । पुँजी बजारका लगानीकर्ताहरुले यो महिनाभर आन्दोलन गर्ने भएका छन् । उनीहरुले पुँजी बजार सुधारका लागि भन्दै जेठ २३ गतेदेखि जेठ २९ गतेसम्म विभिन्न दवावमूलक कार्यक्रम गर्न लागेका हुन् । लगानीकर्ता तिलक कोइरालाको संयोजकत्वमा गठन भएको २५ सदस्यीय संघर्ष समितिले उक्त कार्यक्रम घोषणा गरेका हुन् । उनीहरुले जेठ २३ गते नेपाल धितोपत्र बोर्डमा कालोपट्टीसहित प्रदर्शन गर्ने भएका छन् । उक्त प्रदर्शन सोमबार बिहान १०ः३० बजेदेखि हुने लगानीकर्ता कोइरालाले बताए । त्यसपछि जेठ २४ गते अर्थमन्त्रालय जाने, २५ गते प्रधानमन्त्रीलाई भेट्ने, २६ गते राजनीतिक पार्टीहरुसँग छलफल गर्ने, २७ गते माईतीघर मण्डलादेखि बानेश्वरसम्म कालो ब्यानरसहित जुलुस गर्ने र २९ गते पुँजी बजारका बिज्ञहरुसहित बृहत छलफल गर्ने कार्यक्रम सार्वजनिक गरेका छन् । त्यस्तै, सरकारले साढे तीन वर्षअघि नै गरिसक्छु भनेका कामहरु नहुँदा पुँजी बजारमा गम्भीर संकट आएको भन्दै लगानीकर्ता कोइरालाले आमरण अनसन बस्ने घोषणा गरेका छन् । १९ बुँदे मागसहित कोइराला असार १ गतेदेखि आमरण अनशन बस्न लागेका हुन् । त्यसैले सो अनशनअघि लगानीकर्ताहरुले शान्तिपूर्ण कार्यक्रम घोषणा गरेका हुन् । गत जेठ २१ गते काठमाडौंको भृकुटीमण्डपमा भएको एक सय जनाभन्दा बढी लगानीकर्ताहरुको भेलाले तिलक कोइरालाको संयोजकत्वमा संघर्ष समिति गठन गरेको हो । जसमा पवित्रा ज्ञवाली, रमेश ढकाल, गोपाल स्वामी, एसपी चौलागाँई, नानीबाबु खरेल, पूरुषोत्तम कडेल, एलपी साह, संजय थापा, देवबहादुर कार्की, लक्ष्मण बञ्जारा, सुमन भण्डारी, विनोद कार्की, पिताम्बर फूलेल, राजु ओझा, माधवप्रसाद गौतम, सुन्दर श्रेष्ठ, पुरुषोत्तम सापकोटा, गणेश उप्रेति, सुकदेव भण्डारी, कमल पंथी, सुदर्शन पाठक, पासाड. शेर्पा, मुरारी सिटौला, विदुर थापा र प्रल्हाद वस्ति सदस्य छन् । भेलाले पवित्रा ज्ञवालीलाई आर्थिक संंकलन संयोजकको जिम्मेवारी दिँदै २७ हजार रुपैयाँ कार्यक्रमका लागि सहयोग संकलन गरेको छ । यस्ता छन् लगानीकर्ता कोइरालाका १९ बुँदे माग : विगतको एमाले सरकारले साढे तीन बर्ष अघि नै र वर्तमान अर्थमन्त्रीले दुई महिना अघि नै गरिसक्छु भनेका ५८ बुँदेका बाँकी काम तत्काल पुरा हुनैपर्ने । बाणिज्य बैंकका सहायक कम्पनी र अन्य संंस्थागत पब्लिक कम्पनीहरुलाई एक अर्ब चुक्ता पूँजी कायम गरी तत्काल बोकर लाईसेन्स वितरण गर्नुपर्ने। कमिशन ब्रोकर र फुल ब्रोकरहरुको बर्गीकरण गरी बर्तमान ब्रोकरहरुको चुक्ता पुँजी बृद्धि गर्न लगाई दुई बर्षभित्र कमिशन ब्रोकरको ५० करोड र फूल ब्रोकरको एक अर्ब पुर्याउनुपर्ने । ब्रोकरहरुको शाखा बिस्तार र उनीहरुले निर्माण गरेको टीएमएस् संचालनका लागि तत्काल स्वीकृति दिनुुपर्ने । गैर आवासीय नेपालीहरुलाई तत्काल पूँजी बजारमा लगानी गर्न स्वीकृति दिनुपर्ने । सरकारका मन्त्री, राजनीतिक दलका नेता र सार्वजनिक ओहदामा रहेकाहरुले सेयर बजारबारे सकारात्मक वा नकारात्मक अभिब्यक्ति दिनमा बन्देज लगाउनुपर्ने । नेप्सेमा रहेको सरकारी स्वामित्व तत्काल विनिबेश गरी रणनीतिक साझेदार ल्याउने र संस्थागत सुदृढीकरण गर्नुपर्ने । सूचीकृत साना कम्पनीहरुका लागि एसएमई प्लेटफर्म तत्काल ब्यवस्था गरी साना र नयाँ कम्पनीहरुको हकमा सर्किट ब्रेकर प्रणालीमा परिवर्तन गर्नुपर्ने, निफ्रा, बाणिज्य बैंकहरुलाई खुला छाड्नुपर्ने । ब्रोकर कमिशनको माथिल्लो विन्दु यथावत राखी तल्लोविन्दु खुला छाडेर प्रतिस्पर्धात्मक कमिशन दर तय गर्नुपर्ने र सेयर कारोबारमा लाग्दै आएका अन्य शुल्कहरु घटाउनुपर्ने । दीर्घकालीन लगानीकर्ताका लागि ३ प्रतिशत मात्र पूँजीगत लाभकर लाग्ने गरी घटाउनुपर्ने । बैंक खाता, हितग्राही खाता र कारोबार खाता पूर्ण रुपमा अन्तर आबद्ध गरी लगानीकर्ता स्वयंले पासवर्ड र युजरआईडी प्रयोग गरी बिक्री गरेको सेयरको स्वतस् इडिआईएस हुनुपर्ने ब्यवस्था गर्नुपर्ने । सेयर खरिद गर्दा बैंक खाता र ब्रोकर मार्जिनको विकल्प खडा गरी बैंकको विकल्प प्रयोग गरी खरिद गरेको अबस्थामा स्वतस् रकम रोक्का भई राफसाफको बेलामा स्वचालित रुपमा ब्रोकरको खातामा रकम तानिने हुनुपर्ने । सीडीएससीमार्फत सेयर खरिद बिक्रीको राफसाफ भएकै दिन लगानीकर्ताको खातामा पैसा र सेयर जानुपर्ने र करकट्टीको हिसाब पनि प्यान नम्बर लिएका लगानीकर्ताकै नामबाट कर कार्यालयको खातामा सिधै जम्मा हुनुपर्ने । सेयर बजारमा डेरिभेटिभ्स, फ्युचर, अप्सन, इृन्ट्रा डे जस्ता अत्याधुनिक उपकरणहरु प्रयोगमा ल्याउनुपर्ने । बीमा कम्पनी, निफ्रा, बिकास बैंक र फाईनान्स, कर्मचारी संचय कोष, सामाजिक सुरक्षा कोष लगायतलाई आफ्नो ७० प्रतिशत लगानीमा सहायक कम्पनीमार्फत म्युचुअल फण्ड संचालन गर्न बाध्यात्मक ब्यवस्था गर्नुपर्ने र गैरआवासीय नेपालीहरुले पहिलो बर्ष म्युचुअल फण्डमा मात्र लगानी गर्न पाउने ब्यवस्था गर्ने । राष्ट्र बैंकले तत्काल १० अर्बको कोष खडा गरी ब्रोकरहरुमार्फत मार्जिन ट्रेडिङ्ग ब्यवस्था प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बिज्ञले मात्र सेयर बजारको अबस्था, कम्पनीको अबस्था, सेयर मूल्य र नेप्से सूचक जस्ता संबेदनशील बिषयमा बिश्लेषणहरु सार्वजनिक गर्न पाउने ब्यवस्था कडाईका साथ लागु गर्ने । मर्जरमा जाने कम्पनीहरुको मर्जर सम्झौता हुँदा नै स्वाप रेसियो तय गरी बढीमा एक सातामा समायोजनसहित सेयर कारोबार खोल्नुपर्ने । १२ करोडभन्दा बढी सेयर धितो कर्जा लिएर म्याद सकिन लागेका वा सकिएका ऋणीहरुको सवालमा असार मसान्तसम्ममा कर्जाको साँवा ब्याज असुलीको समय दिनुपर्ने । पूँजी बजार र सेयरको मूल्यलाई प्रभाव पार्ने सम्बन्धी नीति नियम लागु गर्दा लगानीकर्ताले पूर्व तयारी गर्न सक्ने गरी कम्तिमा ६ महिनाको अवधि दिने गरी मात्र ल्याउनुपर्ने ।