उच्चतम् बिन्दुबाट ३५ प्रतिशतले झर्यो नेप्से परिसूचक, लगानीकर्ताले गुमाए खर्बौंको सम्पत्ति

काठमाडौं । पछिल्लो समय घट्दो सेयर बजारले निरन्तरता पाएको छ । आगामी आर्थिक वर्षको बजेटले पनि घट्दो बजारलाई सम्बोधन गर्न नसकेको कारणले घट्दो बजारलाई थप टेवा पुगेको देखिन्छ । र, बजेटपछिको बजार दैनिक दोहोरो अंकले घटिरहेको छ । शुक्रबारको बजार पनि कारोबार शुरु भएको आधा घण्टामै घटेर २१ सय बिन्दुभन्दा तल झरेको छ । कारोबार शुरु भएदेखि ओरालो लागेको बजार बन्द हुँदा ३३.७६ अंकले घटेर २०७८.७० बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा १.६० प्रतिशत घटी हो भने यसअघिको उच्चतम बिन्दुको तुलनामा ३५.०२ प्रतिशतले घटी हो । नेपाली पुँजीबजारको इतिहासमा सेयर मूल्य मापक नेप्से परिसूचक बढेर करिब ३२ सय बिन्दुसम्म पुगेको छ । २०७८ भदौ २ गतेको बजारमा परिसूचक ३१९९.०३ बिन्दुमा थियो । जुन हालसम्मकै उच्चतम बिन्दु हो । त्यसको तुलनामा आजको परिसूचक ११२०.३३ अंकले घटेको हो । त्यस्तै, कारोबार रकम पनि सर्वाधिक कारोबारको तुलनामा ९४ प्रतिशतले घटी सकेको छ । २०७८ साउन ३१ गतेको बजारमा २१ अर्ब ६४ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा आज १ अर्ब ३० करोड ७३ लाख रुपैयाँमा सीमित भएको छ । जुन रकमको आधारमा २० अर्ब ३४ करोड ३ लाख रुपैयाँले घटी हो । यो अवधिसम्म आइपुग्दा लगानीकर्ताले खर्बौंको सम्पत्ति गुमाइसकेका छन् । शुक्रबारको बजारमा सबैभन्दा बढी कारोबार एनआईसी एशिया बैंकको छ । बैंकको एकैदिन ६ करोड २३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर ५.५० रुपैयाँले घटेर प्रतिकित्ता ७३९ रुपेयाँमा अन्तिम कारोबार भएको छ । त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो स्थानमा नागरिक लगानी कोष छ । कोषको एकैदिन ४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने सेयर मूल्य प्रतिकित्ता २ हजार ४६० रुपैयाँ छ । घट्दो बजारमा पनि दुई कम्पनीको सेयर मूल्य सर्किट लेभलमा सेयर कारोबार भएको छ । उपकार लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १७५७ रुपैयाँ पुगेको छ भने बलेफी हाइड्रोको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता १६८.६० रुपैयाँ पुगेको छ । त्यस्तै, गुमाउनेको अग्रस्थानमा पनि लघुवित्त नै रहेको छ । किसान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८.९५ प्रतिशतले घटेर प्रतिकित्ता ९१८ रुपैयाँमा झरेको छ । र, कारोबारमा आएका सबै समूहहरु राताम्मे देखिएका छन् । डा. कार्की भन्छन् : बजारमैत्री कार्यक्रम नल्याएसम्म सुधार दैखिँदैन विभिन्न फ्क्याक्टर्सले असर पारिरहेको बजारलाई प्रोत्साहित गर्ने कार्यक्रम नल्याएसम्म बजार सुधारतर्फ नजाने धितोपत्र बोर्डका पूर्वअध्यक्ष डा. रेवत बहादुर कार्की बताउँछन् । उनका अनुसार पहिलो त तरलताको अभाव समाधान हुनुपर्छ । पोलिसीमा रेसन्यालीटी हुनुपर्छ, सरकार पनि बढी सम्बेधनशील हुनुपर्छ । र, अनलाईन शुल्कहरुमा परिमार्जन गर्न आवश्यक देखिन्छ । घट्दो बजारमा लगानीकर्तालाई सन्देश अर्थविद् समेत रहेका पूर्व अध्यक्ष डा. कार्कींले घटेको बजारमा लगानीकर्ताहरुलाई विभिन्न सन्देश दिएका छन् । यो अवस्थामा लगानीकर्ताहरुले संयमित भएर लगानी गर्नुपर्छ । विवेकशील लगानीकर्ताले प्रायः गुमाउँदैनन् । घट्दो बजारमा पनि उनीहरुले कमाउँछन् । त्यसैले बजारको अवस्था अनुसार स्टक होल्ड गर्ने हो की बेच्ने हो त्यो लगानीकर्ता आफैले निर्णय लिनुपर्छ । बजारलाई चलायमान बनाउन बजारको ट्रेण्ड हेरेर, पोलिसीअनुसार बजारको उतारचढावलाई मूल्यांकन गर्दै आफ्नो विवेक पुर्याउनुपर्छ । अहिलेको बजार तल्लो लेभलमा नै छ । लगानीकर्ताहरु अझै पनि आशावादी देखिन्छन् । पुँजीबजारलाई सम्बोधन गर्न नसकेको बजेटले अब मौद्रिक नीतिले केही गर्छ की भन्ने लगानीकर्तामा अझै छ ।

२१ सय बिन्दुबाट तल झर्यो नेप्से परिसूचक

काठमाडौं । सेयर बजार परिसूचक २१ सय बिन्दुबाट तल झरेको छ । शुक्रबार कारोबार खुलेको आधा घण्टामै परिसूचक १३.४१ अंकले घटेर २०९९.०६ बिन्दुमा झरेको हो । जुन अघिल्लो दिनको तुलनामा ०.६३ प्रतिशतले घटी हो । यो अवधिसम्म बजारमा १० करोड ४० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । १६६ कम्पनीको २ लाख ६३ हजार ८९३ कित्ता सेयर खरिद बिक्री भएको हो । यो समाचार तयार पार्दासम्म सर्वाधिक कारोबार गर्नेको शीर्ष स्थानमा एनआईसी एशिया बैंक छ । एक घण्टा नबित्दै बैंकको १ करोड ८६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

नेप्सेमा २४ वटा वाणिज्य बैंक मात्र सूचिकृत, ३ वटा बैंकको सेयर कारोबार बन्द

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुको संख्या घटाउने प्रयास गरिरहेको छ । तर यस प्रयासमा राष्ट्र बैंक भन्दा नेपाल स्टक एक्स्चेञ्ज अगाडि रहेको छ । हाल राष्ट्र बैंकबाट अनुमति लिएर बैकिङ कारोबार गरिरहेका २७ वटा वाणिज्य बैंकहरु छन् । तरस्टक एक्स्चेञ्जमा २४ वटा वाणिज्य बैंक मात्र सूचिकृत रहेका छन् । तीन वटा बैंक नेप्सेको सूचिकरणबाट वाहिरिन पुगेका छन् । उनीहरुको सेयर कारोबार बन्द रहेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्ज प्रक्रिया भाडिएको महिनौ वितेपनि हिमालयन बैंकको सेयर कारोबार खुला भएको छैन । सेयर कारोबार खुलाउन हिमालयन बैंकले पूरा गर्नु पर्ने प्रक्रियाहरु पूरा नगरेकाले बैंकको सेयर नेप्सेको सूचिकरणमा नभएको नेपाल स्टक एक्स्चेञ्जले जनाएको छ । त्यस्तै, नविल बैंकले प्राप्ति गर्न लागेको नेपाल बंगलादेश बैंकको सेयर पनि नेप्सेको सूचिकरणबाट हटेको छ । दुबै बैंकको विशेष साधारणसभाबाट एक्विजिशन प्रस्ताव पारित भैसकेको र नियामकबाट अन्तिम स्वीकृतिको प्रक्रियामा रहेकोले नेपाल बंगलादेश बैंकको सूचिकरण सदाको लागि खारेज हुने सम्भावना छ । ९९ प्रतिशत भन्दा बढी सरकारी सेयर भएको राष्ट्रिय वाणिज्य बैंकले सर्वसाधारणमा सेयर निष्काशन नै नगरेकोले यो बैंक नेप्सेमा सूचिकृत छैन । ती तीन बैंक नेप्सेमा सूचिकृत नभएकाले २७ मध्ये २४ वटा बैंकको सेयर नियमित कारोबार भइरहेको छ ।