बुधबार तीन शीर्षकमा इन्भेष्टमेन्ट बैंक अगाडि
काठमाडौं । सेयर बजारमा नेपाल इन्भेष्टमेन्ट बैंक विभिन्न शीर्षकमा अग्रस्थानमा रहेको छ । बुधबारको बजारमा बैंक कारोबार रकम, संख्या र कारोबार कित्ताको आधारमा अग्रस्थानमा छ । बजारमा बैंकको १२ करोड १३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अन्य कम्पनीको तुलनामा सबैभन्दा बढी हो । त्यस्तै, बैंकको ३ लाख ९९ हजार ५५६ कित्ता सेयर कूल २ हजार ५३ पटकमा खरिद बिक्री भएका छन् । जुन अन्य कम्पनीको तुलनामा बढी हो । सर्वाधिक कारोबार भएको बैंकको सेयर मूल्य भने घटेर प्रतिकित्ता ३०७ रुपैयाँमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ७.२५ प्रतिशत अर्थात २४ रुपैयाँले कम हो । । समग्रमा बुधबारको बजारमा नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । परिसूचक ७.१९ अंकले घटेर २१३०.७३ बिन्दुमा झरेको छ । त्यस्तै, कारोबार रकम पनि मंगलबारको तुलनामा २४ करोडले घटेर १ अर्ब ७ करोड रुपैयाँमा सीमित भएको छ । मंगलबारको बजारमा कूल १ अर्ब ३१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । घटेको बजारमा पनि दुई कम्पनीको सेयर सर्किट लेभलमा किनबेच भएको छ । मैलुङ खोला जलविद्युत कम्पनी र बलेफी हाइड्रोपावरको सेयर मूल्य क्रमशः १० र ९.९४ प्रतिशतले बढेर प्रतिकित्ता क्रमशः ५२८ र १३९.४८ रुपैयाँमा कारोबार भएको छ । बजारमा सबैभन्दा बढी सेयर मूल्य घट्नेमा शिखर इन्स्योरेन्स कम्पनी छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट लाभांश नदिने घोषणा गरेसँगै त्यसको प्रभाव इन्स्योरेन्सको सेयर मूल्यमा परेको हो । अघिल्लो दिनको तुलनामा इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशत अर्थात १०२.७० रुपैयाँले घटेर प्रतिकित्ता ९२४.३० रुपैयाँमा झरेको छ । बजारमा विकास बैंक, फाइनान्स र हाइड्रो पावर समूह हरिया देखिएका छन् भने बाँकी समूह राताम्मे देखिएका छन् ।
विन नेपाल लघुवित्तको सेयर मूल्य समायोजन, कतिमा हुन्छ कारोबार ?
काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ९.३३ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजनसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता ९८७.८३ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता १०८० रुपैयाँ थियो । यससँगै अबको बजारमा संस्थाको पहिलो कारोबार प्रतिकित्ता ९८७.८३ रुपैयाँलाई आधार मानेर हुने छ ।
दुई दिनमा १४ अर्ब गुमाए इन्भेष्टमेन्ट बैंकका सेयरधनीले, मेगाका लगानीकर्ता पनि त्रासमा
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकका सेयरधनीले दुई दिनमा १४ अर्ब १६ करोड रुपैयाँ नोक्सानी व्यहोरेका छन् । हिमालयन बैंकसँगको मर्जर प्रक्रिया टुटेपछि सोमबारबाट यस बैंकको सेयर किनबेच हुन थालेको हो । मर्जको प्रक्रियामा जानु पूर्व यस बैंकको सेयर प्रतिकित्ता ४०८ रुपैयाँमा कारोबार भएको थियो । मंगलबारको अन्तिम कारोबार प्रतिकित्ता ३३१ रुपैयाँमा खरिदबिक्री भएको छ । दुई दिनमा प्रतिकित्ता ७७ रुपैयाँ ४० पैसाले मूल्य घटेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । नेप्सेमा बैंकको १८ करोड ३० लाख कित्ता सेयर सूचिकृत छ । त्यस आधारमा यस बैंकका लगानीकर्ताले दुई दिनमा १४ अर्ब १६ करोड रुपैयाँ गुमाएका हुन् । इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य घट्दा मेगा बैंक नेपालका लगानीकर्ता पनि डराएका छन् । जेठ १३ गते मेघा बैंकको सेयर प्रतिकित्ता २६२ रुपैयाँका किनबेच भएको थियो । मंगलबार यस बैंकको सेयर प्रतिकित्ता २३३ रुपैयाँमा किनबेच भएको छ । कारोबार खुला भएको दुई दिनमा नै मेगा बैंकका सेयरधनीले प्रतिकित्ता २९ रुपैयाँ गुमाएका छन् । पछिल्लो समय बजारमा दुई बैंकबीच मर्जको तयारी भईरहेको समाचारहरु प्रकाशनमा आएका छन् । बैंकका उच्च अधिकारीहरुले पनि मर्जरमा विषयमा आपसी छलफल भइरहेको तर अन्तिम निर्णयको लागि अझै केही दिनु कुर्नुपर्ने बताएका छन् । इन्भेष्टमेन्ट बैंकमा मर्ज हुने समाचारसँगै मेगा बैंकको सेयर मूल्यमा उच्च वृद्धि थियो । तर इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार खुलेसँगै मूल्यमा दैनिक १० प्रतिशतको गिरावट आएपछि मेगाको पनि सेयर मूल्यमा गिरावट आएको छ ।