जलशक्ति हाइड्रोले १ करोड कित्ता आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

काठमाडौं । जलशक्ति हाइड्रो कम्पनीले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ ।  कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड कित्ता सेयरले हुन आउने कुल १ अर्ब रुपैयाँ बराबरको प्राथमिक सेयर सर्वसाधारणमा जारी गर्न लागेको हो ।  यो सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक, कम्पनीका कर्मचारी, सामूहिक लगानी कोष तथा सर्वसाधारणका लागि छुट्ट्याइएको छ । सेयर निष्कासन प्रक्रियाका लागि कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ ।  सो सम्बन्धी सम्झौता पत्रमा जलशक्ति हाइड्रोका अध्यक्ष डा. भोगेन्द्र कुमार गुरागाईं र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विकास खनालले हस्ताक्षर गरे । २ अर्ब ५० करोड रुपैयाँ जारी पुँजी रहेको यस कम्पनीमा संस्थापकको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत सेयर स्वामित्व रहने सुनिश्चित गरिएको छ । जलशक्ति हाइड्रोले धादिङ जिल्लाको ईल्लेप ९तातोपानी० खोलामा २३।६७५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

ईङवा हाइड्रोको साढे ४३ लाख कित्ता सेयरको लकइन वैशाख २६ गते सकिने

काठमाडौं । ईङवा हाइड्रोपावर कम्पनीको सेयर ‘लकइन’ अवधि २०८३ वैशाख २६ गते सकिने भएको छ । संस्थापक सेयरधनी, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा कर्मचारीको गरी कुल ४५ लाख ३६ हजार ७०३ कित्ता सेयरको लकइन अवधि समाप्त हुन लागेको कम्पनीले जनाएको छ ।  कम्पनीका अनुसार संस्थापक सेयरधनीको ४२ लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको ३ लाख ६ हजार ८४० कित्ता र कर्मचारीको २९ हजार ८६३ कित्ता सेयरको लकइन अवधि सकिन लागेको हो ।  यद्यपि, सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहमा कार्यरत कर्मचारीहरूले भने सेयर खरिद–बिक्री गर्न नपाउने कम्पनीले जनाएको छ । नेपाल धितोपत्र बोर्डको व्यवस्था अनुसार आईपीओ बाँडफाँडपछि तीन वर्षसम्म संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीलाई छुट्याइएको सेयर लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ ।

नेप्सेमा साढे ७० अर्बको सेयर सूचीकृत, बोनस मात्रै साढे १२ अर्ब रुपैयाँ

काठमाडौं । ८ महिनामा साढे १२ अर्ब रुपैयाँ बराबरको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । नेप्सेमा चालु आर्थिक वर्ष २०८२/८३ को फागुनसम्ममा १२ अर्ब ५९ करोड रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको हो ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आवको ८ महिनामा ३६ अर्ब ३८ करोड रुपैयाँ बराबरको साधारण सेयर, ९ अर्ब ६४ करोड बराबरको रुपैयाँ हकप्रद सेयर, ७ अर्ब ५० करोड रुपैयाँ बराबरको म्युचुअल फन्ड, ३ अर्ब ४० करोड रुपैयाँ बराबरको डिबेन्चर, ९२ करोड ५० लाख रुपैयाँ बराबरको एफपीओ र २ करोड २९ लाख रुपैयाँ बराबरको अन्य गरी कुल ७० अर्ब ४६ करोड रुपैयाँ बराबरको थप सेयर नेप्सेमा सूचीकृत भएको छन् । समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले २३ अर्ब १३ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, ८ अर्ब ७० करोड रुपैयाँ बराबरको साधारण सेयर, ४ अर्ब ९४ करोड रुपैयाँ बराबरको हकप्रद सेयर, २० करोड रुपैयाँको डिबेन्चर र ५ करोड रुपैयाँको एफपीओ गरी कुल ३७ अर्ब १ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।  फागुन मसान्तमा नेप्सेमा सूचीकृत ९ अर्ब २६ करोड सेयरको चुक्ता मूल्य ९ खर्ब ११ अर्ब ९९ करोड रुपैयाँ रहेको छ । फागुनसम्म नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २८६ रहेको छ । जसमध्ये १३३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९७ जलविद्युत् कम्पनी, २७ उत्पादन तथा प्रशोधन उद्योग, ८ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र १० अन्य समूहका रहेका छन् । गत वर्षको फागुनमा सूचीकृत कम्पनीहरूको संख्या २६८ रहेको थियो । राष्ट्र बैंकका अनुसार सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५२.२ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १५.९ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.४ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ७.२ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ४.४ प्रतिशत, होटेलको हिस्सा ३.१ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा ९.८ प्रतिशत रहेको छ ।