७१ अंकले घट्यो सेयर बजार, १५ अर्बको कारोबार
काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७१ अंकले घटेर २८७९ बिन्दुमा झरेको हो । नेप्सेका अनुसार १० कम्पनीको सेयर मूल्य बढ्दा २५५ कम्पनीको सेयर मूल्य घटेको छ । १ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आइतबार ३३३ कम्पनीको ३ करोड कित्ता सेयर किनबेच हुँदा १५ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार रिडि पावर कम्पनीको भएको छ । रिडिको ७१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै न्यादी गुप्रको ५२ करोड, सोलु हाइड्रोको ४८ करोड, शिवम् सिमेन्टको ४७ करोड र नेसनल हाइड्रोको ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबारको कारोबारमा ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
विदेशमा रहेका नेपालीले आजसम्म कालंगा हाइड्रोको आईपीओमा आवेदन दिन सक्ने
काठमाडौं । कालंगा हाइड्रो लिमिटेडको आईपीओमा आवेदन दिने आज चैत १५ गते अन्तिम दिन रहेको छ । चैत १० गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ४९ करोड रुपैयाँको अंकित मूल्य १ सय दरका ४९ लाख कित्ता सेयर बिक्री गरेको हो । सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता सेयरमा श्रम स्वीकृती लिई विदेशमा रोजगार गरिरहेका नेपालीले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
बेनी हाइड्रोको आईपीओमा स्थानीयले लगानी गर्ने आज अन्तिम दिन
काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको आईपीओमा आवेदन दिने आज चैत १५ गते अन्तिम दिन रहेको छ । चैत १ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत अर्थात् २० करोड ८० लाख रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँ दरका २० लाख ८० हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् १० करोड ४० लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई छुट्याएको छ । आयोजना प्रभावितलाई छुट्याएको सेयरमध्ये ५० प्रतिशत अर्थात् ५ लाख २० हजार कित्ता अति प्रभावित क्षेत्र सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नं. २, ३ र ४ का स्थानीय, ३० प्रतिशत अर्थात् ३ लाख १२ हजार कित्ता सोलुदुधकुण्ड नगरपालिका वडा नं. ५, ६, ७ का स्थानीय र २० प्रतिशत अर्थात् २ लाख ८ हजार कित्ता सोलुखुम्बुका अन्य क्षेत्रका स्थानीयलाई बिक्री गरिने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले बिक्री प्रबन्धकका साथै एनएमबि बैंक र लक्ष्मी सनराइज बैंकको सल्लेरी, ग्लोबल आइएमई बैंकको सोलुखुम्बु र प्राइम बैंकको नेचा सल्यान शाखाबाट आवेदन दिन सक्नेछन् ।