नेप्सेमा ७४ अंकको गिरावट, १२ अर्ब १० करोडको कारोबार

काठमाडौं । बुधबार सेयर बजारमा पहिरो गएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज नेप्से ७४.७३ अंकले घटेर २७७६.३६ विन्दुमा कायम भएको छ ।  बुधबार कारोबारमा आएकामध्ये १३ कम्पनीको मूल्य बढेको छ भने २५५ कम्पनीको मूल्य  घटेको छ । बुधबार ३४७ स्टकको कुल १ लाख २३ हजार ७ सय ३० पटकको सेयर किनबेचमा ३ करोड २ लाख ९२ हजार ४ सय ५२ कित्ता सेयर खरिदबिक्री हुँदा १२ अर्ब १० करोड ९५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।  मंगलबार ११ अर्ब ११ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । आज दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । रिलायन्स स्पिनिङ मिल्स र सुपर खुदी हाइड्रोपावरको सेयर १० प्रतिशतले घटेको छ । त्यस्तै, नेपाल रि इन्स्यारेन्स कम्पनीको सेयर ९.८४ प्रतिशतले घटेको छ । कारोबार रकमको आधारमा आज हिमालयन रिइन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै ७१ करोड ७१ लाख २६ हजार रुपैयाँको कारोबार भएको छ ।  दोस्रो धेरै कारोबार भएको कम्पनी अपि पावर कम्पनीको ४५ करोड ७२ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै न्यादी ग्रुपको ४३ करोड २३ लाख रुपैयाँको कारोबार भएको छ । आज १३ वटै उपसमूह घटेका छन् ।

वैशाख २ गतेदेखि मार्जिन कारोबार सुरु गर्ने ब्रोकर कम्पनीहरूको घोषणा

काठमाडौं । धितोपत्र दलाल व्यवसायी (ब्रोकर कम्पनी)हरूले वैशाख २ गतेदेखि मार्जिन कारोबार सुविधा कार्यान्वयन गर्ने भएका छन् । चैत १७ गते बसेको स्टक ब्रोकर एशोसिएसन अफ नेपालको ( एसब्यान) कार्यसमिति बैठकले वि.सं २०८३ वैशाख २ गतेदेखि मार्जिन कारोबार सेवा लगानीकर्तालाई उपलब्ध गराउने निर्णय गरेको हो । नेपाल धितोपत्र बोर्डद्वारा जारी ‘मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशिका, २०८२’ र नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जारी गरेको कार्यप्रक्रिया अनुसार धितोपत्र दलाल व्यवसायीहरूले पनि आफ्नै कार्यप्रक्रिया तयार गर्नुपर्ने व्यवस्था गरेको छ । सोही बमोजिम ब्रोकर कम्पनीहरूले कार्यप्रक्रिया तयार गरेर एसब्यान कार्यसमितिको बैठकले अनुमोदन गरेको हो । एसब्यानका अनुसार मार्जिन कारोबारसँग सम्बन्धित अधिकांश प्रक्रिया पूरा भइसकेको छ । यद्यपि, केही प्राविधिक विषय मिलाउन बाँकी रहेकाले नयाँ वर्षदेखि सेवा सुरु गर्ने तयारी गरिएको कार्यालय व्यवस्थापक मित्र बहादुर क्षेत्रीले बताए । यो सुविधा लागू भएसँगै लगानीकर्ताले धितोपत्र खरिदका लागि दलालमार्फत ऋण (मार्जिन) प्रयोग गर्न सक्नेछन्, जसले बजारमा कारोबार विस्तार हुने अपेक्षा गरिएको छ ।

विदेशमा रहेका ४२ हजार ९ सय नेपालीले पाए सोपानको सेयर, सर्वसाधारणलाई वैशाख २ गतेदेखि बिक्री गर्ने

काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले २०८३ वैशाख २ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री गर्न लागेको हो । कम्पनीले जारी पुँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत अर्थात् ४२ करोड ९० लाख रुपैयाँको १ सय रुपैयाँ अंकित मूल्य दरका ४२ लाख ४९ हजार कित्ता सेयर जारी गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् ४ लाख २९ हजार कित्ता विदेशमा रोजगार गरिरहेका नेपाली, ४ प्रतिशत अर्थात् १ लाख ७१ हजार ६ सय कित्ता कर्मचारी, ५ प्रतिशत अर्थात् २ लाख १४ हजार ५ सय कित्ता सामूहिक लगानी कोषलाई बिक्री गरेर बाँडफाँट गरिसकेको छ ।  अब दोस्रो चरणमा कम्पनीले ३४ लाख ७४ हजार ९ सय कित्ता सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री गर्ने भएको हो । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ११ हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले छिटोमा वैशाख ६ गते र ढिलोमा वैशाख १६ गतेसम्म आवेदन दिन सक्नेछन् ।  कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरूले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् । विदेशमा रहेका नेपालीलाई बिक्री गरिएको सेयर बाँडफाँट साथै कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिएको सेयर बाँडफाँट गरेको जनाएको छ । कम्पनीले पहिलो चरणमा चैत ९ गतेदेखि चैत १२ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ४ लाख २९ हजार कित्ता सेयर जारी गरेको थियो ।  कम्पनीले उक्त सेयर चैत १७ गतेका दिन बाँडफाँट गरेको जनाएको छ । रितपूर्वक आवेदन दिने ४२ हजार ९ सय जनालाई १० कित्ताका दरले सेयर वितरण गरेको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । कम्पनीको आईपीओ रिजल्ट बिक्री प्रबन्धक एनएमबि क्यापिटल र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट सञ्चालित आईपीओ रिजल्ट वा मेरो सेयरबाट हेर्न सकिने जनाएको छ ।