३० वर्ष पुरानो टाइम फर्मास्युटिकल्सले सर्वसाधारणका लागि सेयर जारी गर्ने
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र टाइम फर्मास्युटिकल्सबीच बुक बिल्डिङ विधिमार्फत सेयर निष्कासनका लागि शिलबन्दी बोलपत्रसम्बन्धी कार्य सञ्चालन गर्ने सम्झौता सम्पन्न भएको छ । नवलपरासीको गैंडाकोटमा केन्द्रीय कार्यालय रहेको कम्पनीले धितोपत्र दर्ता तथा निष्कासन नियमावली र बुक बिल्डिङ निर्देशिका, २०७७ को प्रावधानअनुसार बोलपत्र दर्ता, खोल्ने र निर्णय गर्ने प्रक्रियामा नेप्सेको सहजीकरण प्राप्त गर्ने गरी यो सम्झौता गरेको हो । सम्झौता पत्रमा नेप्सेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईं र टाइम फर्मास्युटिकल्सका तर्फबाट प्रबन्ध सञ्चालक सुदर्शनलाल श्रेष्ठले हस्ताक्षर गरे । उक्त अवसरमा कम्पनी सचिव अधिवक्ता सुदिप घिमिरे र बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टको तर्फबाट मनोहर कडेलको समेत उपस्थिति रहेको थियो । कम्पनीले १० करोड ८६ लाख ५० हजार रुपैयाँ बराबरको कुल १० लाख ८६ हजार ५०० कित्ता साधारण सेयर निष्कासन गर्ने तयारी गरेको छ । जसमध्ये ४० प्रतिशत अर्थात् ४ लाख ३४ हजार ६०० कित्ता सेयर योग्य संस्थागत लगानीकर्ताका लागि बुक बिल्डिङ विधिमार्फत बोलकबोल गरिनेछ भने बाँकी ६० प्रतिशत सेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरिनेछ । यस सेयर निष्कासनपश्चात कम्पनीको चुक्ता पुँजी ५३ करोड रुपैयाँ पुग्नेछ । ३० वर्षदेखि औषधि उत्पादनमा सक्रिय यो कम्पनी डब्ल्यूएचओ(जीएमपी प्रमाणित उद्योग हो, जसले हाल २०० भन्दा बढी प्रकारका औषधि उत्पादन गर्दै ३०० जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेको छ । नवलपरासीको उत्पादन प्लान्ट र ललितपुरको सातदोबाटोस्थित मार्केटिङ कार्यालय मार्फत कम्पनीले आफ्नो व्यवसाय विस्तार गर्दै आएको छ।
घाम उर्जा सेवाले आईपीओ ल्याउने, एनएमबि क्यापिटलसँग सम्झौता
काठमाडौं । घाम उर्जा सेवा लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्काशनको तयारी स्वरूप एनएमबि क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ । कम्पनीले नेपालभर नवीकरणीय ऊर्जाको विस्तार गर्ने लक्ष्यसहित उक्त साझेदारी गरेको जनाएको छ । घाम उर्जा सेवाले व्यवसायिक तथा औद्योगिक ग्राहकहरूलाई रूफटप सौर्य ऊर्जा प्रविधि उपलब्ध गराउँदै आएको छ । १५ देखि २० वर्षसम्मको विद्युत खरिद सम्झौता मोडेलमा सञ्चालन भइरहेको कम्पनीले व्यवसायहरूलाई प्रारम्भिक लगानीबिनै ऊर्जामा आत्मनिर्भर बन्ने अवसर प्रदान गर्दै आएको छ । कम्पनीका अनुसार यस प्रविधिले कार्बन उत्सर्जन घटाउनुका साथै सञ्चालन लागत कम गर्न सहयोग पुर्याउँछ । घाम उर्जा सेवाले नवीकरणीय ऊर्जा प्रवर्द्धनमार्फत सामाजिक तथा आर्थिक प्रभाव सिर्जना गर्नुका साथै जलवायु परिवर्तनविरुद्ध सक्रिय भूमिका निर्वाह गरिरहेको छ । आईपीओ निष्काशनसम्बन्धी सम्झौतापत्रमा घाम उर्जा सेवाका अध्यक्ष अन्जल निरौला र एनएमबि क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले हस्ताक्षर गरेका छन् । दुवै पक्षले उक्त साझेदारीप्रति उत्साह व्यक्त गर्दै आईपीओलाई सफल बनाउन तथा सरोकारवालाहरूका लागि उत्कृष्ट प्रतिफल सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका छन् ।
६ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढे
काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २ अंकले घटेर २७५७ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ८२ कम्पनीको सेयर मूल्य बढ्दा १७५ कम्पनीको सेयर मूल्य घटेको छ । १२ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । मंगलबार ३४५ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ७३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार न्यादी गुप्र पावरको भएको छ । न्यादीको २४ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । साथै रिलाइन्स स्पिीनिङ मिल्सको २४ करोड २१ लाख, आँखु खोला जलविद्युतको २३ करोड ५७ लाख, एसवाई प्यानलको २३ करोड ४८ लाख र नेसनल हाइड्रोको २३ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबारको कारोबारमा ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । भुजुङ हाइड्रो, सुपर खुदि, स्वेत गंगा हाइड्रो, रिडिज लाइन इनर्जी र सूर्यकुन्ड हाइड्रोको सेयर मूल्य बढेर सकारात्मक सर्किट लागेको छ ।