स्वाबलम्बन लघुवित्तको लाभांश हालसम्मकै कम, ७० प्रतिशतसम्म बाँडेको इतिहास

काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्त सञ्चालक समितिको असोज ३० गते बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको १२.३५९९ प्रतिशत बोनस सेयर ०.६५०५ प्रतिशत नगद गरी कूल १३.०१०४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तको हाल चुक्ता पूजी १ अर्ब २९ करोड ४ लाख ९५ हजार ५ सय रुपैयाँ रहेको छ । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुले प्राप्त गर्ने छन् । लघुवित्तले घोषणा गरेको उक्त लाभांश हालसम्म कै कम हो । यसअघि लघुवित्तले ७० प्रतिशतसम्म लाभांश वितरण गरेको ईतिहास छ ।  लघुवित्तले आर्थिक वर्ष २०६५/६६ र आर्थिक वर्ष २०६६/६७ मा समान १० प्रतिशत बोनस सेयर र ५.७९ प्रतिशत नगद गरी कूल १५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०६७/६८ मा ३१.५८ प्रतिशत, आर्थिक वर्ष २०६८/६९ मा ३१.५८ प्रतिशत, आर्थिक वर्ष २०६९/७० मा २७.३७ प्रतिशत, आर्थिक वर्ष २०७०/७१ मा ७० प्रतिशत, आर्थिक वर्ष २०७१/७२ मा ५२.६३ प्रतिशत र आर्थिक वर्ष २०७२/७३ मा ५३.६८ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७३/७४ मा ३१.५८ प्रतिशत, आर्थिक वर्ष २०७४/७५ मा ३६.८४ प्रतिशत, आर्थिक वर्ष २०७५/७६ मा ४० प्रतिशत, आर्थिक वर्ष २०७६/७७ मा २० प्रतिशत, आर्थिक वर्ष २०७७/७८ मा २५ प्रतिशत र आर्थिक वर्ष २०७८/७९ मा २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

एक वर्षअघिकै रेसियोमा जान थाल्यो सेयर कर्जा, नबिल एक्लैले दियो १० अर्ब ऋण

काठमाडौं । वाणिज्य बैंकहरुले सेयरधितो कर्जा बढाएका छन् । यसअघि केही सुस्ताएका बैंकहरु पछिल्लो समय सेयरधितो कर्जा बढाउन थालेका हुन् । वाणिज्य बैंकहरुले भदौमा प्रवाह गरेको सेयर धितो कर्जा एक वर्षअघिकै हाराहारीमा हो । यसअघि नेपाल राष्ट्र बैंकले सेयरधितो कर्जामा कडाइ गरेपछि केही हच्किएका बैंकहरुले पछिल्लो केही महिना यता भने सेयर धितो राखेर लगानीकर्तालाई सजिलै कर्जा प्रवाह गरिरहेका छन् । नेपाल राष्ट्र बैंकले सेयरधितो कर्जामा लगाइएको १२ करोडको सीमा हटाएर १५/२० करोड कायम गरेको छ । चालु आर्थिक वर्षको भदौमा बैंकहरुले लगानीकर्तालाई ६० अर्ब ७० करोड रुपैयाँ सेयरधितो कर्जा प्रवाह गरेका छन् । जुन गत आर्थिक वर्षको साउन महिनाको हारहारीमा हो । गत असारको तुलनामा बैंकहरुको सेयरधितो कर्जा ४ अर्बले बढेको छ । असारमा वाणिज्य बैंकहरुले ५४ अर्ब ६९ करोड ८० लाख रुपैयाँ सेयरधितो कर्जा प्रवाह गरेका थिए भने ६ साउनमा ५८ अर्ब ९० करोड रुपैयाँ लगानी गरेका थिए । भदौमा सबैभन्दा बढी नबिल बैंकले सेयरधितो कर्जा लगानी गरेको छ । नबिल एक्लैले १० अर्ब बढी सेयरधितो कर्जा लगानी गरेको छ भने दोस्रोमा ग्लोबल आइएमई बैंकले ६ अर्ब १३ करोड, नेपाल बैंकले ४ अर्ब २७ करोड र राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब रुपैयाँ लगानी गरेको छ । यस्तै, सिद्धार्थले ३ अर्ब ९१ करोड, कुमारीले ३ अर्ब ८३ करोड, सिटिजन्सले ३ अर्ब ७५ करोड, प्रभुले ३ अर्ब ७३ करोड, प्राइम कमर्सियलले ३ अर्ब ५८ करोड र लक्ष्मी सनराइजले ३ अर्ब ४१ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ । यस्तै, एनआइसी एसिया बैंकले ३ अर्ब, नेपाल इन्भेष्टमेन्ट मेगाले २ अर्ब ८३ करोड, हिमालयन बैंकले २ अर्ब ६३ करोड, सानिमाले १ अर्ब ८३ करोड, एभरेष्टले १ अर्ब १९ करोड, कृषि विकासले १ अर्ब १४ करोड, एनएमबिले १ अर्ब १० करोड, माछापुच्छ्रेले ५२ करोड र नेपाल एसबिआईले २ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

नेप्सले २१ प्रतिशत लाभांश बाँड्ने, प्रिमियममा आईपीओ जारी गर्न साधारण सभा आह्वान

काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स् (नेप्स)ले १० औँ वार्षिक साधारणसभा बोलाएको छ । सञ्चालक समितिको बैठकले कात्तिक २३ गते काठमाण्डौको हात्तीसारस्थित आरण्य बुटिक होटेलमा अपराह्न ४ बजे साधारण सभा आह्वान गरेको हो । कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८० को नाफाबाट २० प्रतिशत बोनस सेयर र १.०५३ प्रतिशत नगद गरी कूल २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभाले प्रिमियममा आईपीओ निष्काशन गर्ने प्रस्ताव समेत पारित गर्नेछ । आईपीओ निकाष्शन प्रक्रिया अघि बढाउन सभाले सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने छ ।